सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र रूपमा फालिएको छ।
गत वर्ष किसानहरूले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो। तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ।
सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकत्ता बन्दरगाहमा धेरै समय बसेको थियो। कोलकत्ता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो। कोलकत्ताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो।
कोलकत्ता भन्सारमा छाड्न नमिलेकाले वीरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र रूपमा छाडिएको छ।
ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ।
भिजेको मलले गोदाममात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ।
आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो। उक्त मल २०७७ असोज १८ गते बन्दरगाह २३ सय मेट्रिक टन डिएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो।
सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्र रूपमा कामै नलाग्ने गरी फालिएको छ भने यता किसानहरूले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन्।