भुइँतिर हेर्यो भने बारी बाँझो देखिन्छ। पाइप र फलाम गाडिएको छ। तर तिनै पाइप र फलामको आडमा जेलिएका छन् किवीका लहरा। अनि लहरामा लटरम्म किवी झुलेका।
जो कोहीको पनि मन लोभ्याउँछ जिरीका पासाङ तेन्जी शेर्पाले थालेको किवी खेतीले।
परदेशमा झन्डै डेढ दशक बिताएका शेर्पा अहिले स्वदेशमै कृषि गरिरहेका छन्। दोलखाको जिरीमा रहेको पुर्ख्यौली बारीमा उनले किवी फलाएका छन्।
उनले २०७१ सालबाट यो खेती सुरू गरेका हुन्। ८५ रोपनी जग्गामा गरेको खेतीले कम मेहनत र थोरै समयमै राम्रो फल दिएपछि उनी सन्तुष्ट छन्। किवी फलजस्तै उनको चेहरा पनि हँसिलो देखिन्छ।
'यी किवी फल मात्र होइनन्, वर्षभरिको मेहनत, लगाव र पसिना पनि हो,' उनी भन्छन्।
आठ वर्षअघि उनले आमा किवी नर्सरी चरिकोटबाट ८ सय ५० वटा बिरूवा लगेर रोपेका थिए। रोपेको तीन वर्षदेखि नै बिरूवाले राम्रो फल दिइरहेको छ। अहिले सातौं वर्ष भयो। केही बिरूवाले सय केजीसम्म फल दिएको उनी बताउँछन्।
यस वर्ष उनको बारीमा तीन हजार किलो किवी उत्पादन भएको छ। यसलाई शेर्पा भने व्यवसायको सुरूआत नै ठान्छन्। उनका अनुसार सामान्यतया किवी रोपेको तीन वर्षमा फल दिन्छ। तर राम्रो फलका लागि छ वर्ष कुर्नुपर्छ।
'छोटो समयमै राम्रो फल दिएपछि बिरूवा थपिरहेको छु,' उनले भने।
कुनै बिरूवामा फल लागिसकेको छ, कुनै हुर्किँदै छन्। हुर्किँदै गरेको बिरूवा ओजिलो हुँदै गर्दा उनको मन हलुका हुन्छ। यिनैमा आफ्नो भविष्य देख्छन्।
उसो त शेर्पाको किवी खेती गर्ने योजना थिएन। गाउँमै जन्मिए पनि उनी देशविदेश घुमेका थिए। रोजगारीका क्रममा झन्डै डेढ दशक कतार, युएई लगायत मुलुक बसे। परदेशमा कमाएको पैसाले स्वदेश फर्केर व्यवसाय गर्ने सोच थियो। के गर्ने भन्ने निश्चित थिएन।
युएई बसाइ क्रममा शेर्पाले किवीको जुसबारे बुझेका थिए। उनले त्यति बेला सोचे, 'किवी खेती गर्नुपर्छ कि के हो स्वदेश फर्केर?'
गाउँमा बाँझो रहेको जग्गामा केही न केही फलाउने पो हो कि! अन्न बाली लगाउन धेरै समय बारीमा झुम्मिनु पर्ने हुँदा त्यो शेर्पाको दैनिकीमा सम्भव थिएन।
त्यसैले किवीमै ध्यान दिए। तर खेती गर्ने आइडिया थिएन। एकदिन फेसबुकमा ताप्लेजुङका एक साथीसँग च्याट गरिरहेका थिए।
'उनले चितवनबाट कृषि विषय अध्ययन गरेका रहेछन्। उनकै सल्लाहअनुसार किवी नै खेती गर्ने सोचेँ,' शेर्पाले सुनाए।
त्यसपछि त उनलाई किवी खेती गर्ने हुटहुटी नै चल्यो। तर अर्को समस्या, जिरीमा भएको जमिनमा किवी फल्छ कि फल्दैन, उनलाई थाहा थिएन। अनुसन्धान गर्ने भन्दै उनी भौंतारिन थाले। सामाजिक सञ्जालमार्फत नै कृषि क्षेत्रका विज्ञहरूसँग बुझ्न थाले। विभिन्न जिल्ला पुगेर पनि हेरे। अनि अनुसन्धानका लागि कृषि जानकारलाई जिरीमै लगे।
उनको जमिन किवीका लागि पास भयो। अनि २०७१ सालमा ८ सय ५० वटा बिरुवा रोपेर व्यवसायिक खेती सुरू गरेका हुन् उनले।
सुरूआती दुई वर्ष त बिरुवाको रेखदेखमै बित्यो। तेस्रो वर्षबाट बल्ल फल्न थाल्यो। त्यसपछि उनी आफ्नो सम्पूर्ण समय तिनै बिरूवासँग बिताउन थाले।
आठ वर्षदेखि यिनै बिरूवासँग रमाइरहेका उनले मुस्कुराउँदै भने, 'आफ्नो पुर्ख्यौली बारी बाँझो रहेन, रोजगारी खोज्दै भौंतारिनु पनि परेन। यो भन्दा खुसी के हुन्छ र!'
एक रोपनीमा १५ वटाका दरले ८५ रोपनीमा एक हजार २ सय ७५ वटा बिरूवा रोपेका छन् उनले। उनकाअनुसार किवी खेतीले लगानीअनुसार राम्रो प्रतिफल दिएको छ। शेर्पाको घरखर्च चलिरहेको छ।
वर्षमा एक सिजन फल्छ किवी। वैशाख र जेठमा फूल लाग्छ। पाँच महिनापछि, कात्तिक अन्तिमबाट फल टिप्न योग्य हुन्छ। टिपेको तीन महिनासम्म कोल्ड स्टोरमा राख्न सकिन्छ।
शेर्पाले प्रायः मंसिरसम्म किवी टिपिसक्छन्। पुसबाट चैतसम्म बिरूवा फिटिङ, कटिङदेखि गोडमेल लगायत काम गर्छन्।
शेर्पाको अनुभवअनुसार किवी खेतीका लागि सिँचाइको भरपर्दो सुविधा भएको, पानी नजम्ने पाखो जग्गा उपयुक्त हुन्छ। थोपा सिँचाइ प्रविधि धेरै सजिलो र राम्रो हुन्छ। यद्यपी अन्य सिँचाइबाट पनि राम्रो फल दिने उनी बताउँछन्।
उनले यसपालि किवी टिपेर काठमाडौं ल्याइसकेका छन्। अहिले जोरपाटीको अत्तरखेलमा रहेको 'सेकुवा बजार तथा खाजा घर' मा कोल्ड स्टोर बनाएर राखेका छन्। यो होटल उनकै हो। होटलमै किवी आधा र एक किलोको प्याकिङ गर्छन्। प्रतिकिलो तीन सय ५० रूपैयाँमा बेच्छन्। उनले प्रायः होटल तथा पसलहरूलाई नै सम्पर्क गरी बेच्ने गरेका छन्। तर माग आएअनुसार उनी झोलामा किवी बोकेर ठाउँ–ठाउँमा पुर्याउँछन् पनि।
भौगोलिक बनावटअनुसार किवीको स्वाद फरक हुन्छ। राम्रो हावापानीमा फलेको खाँदा मिठो र स्वास्थ्यलाई फाइदा हुने बताउँदै हिँड्छन् शेर्पा, 'यो सिजनको किवी टिपेर ल्याइसकेको छु। केही प्याकिङ गरेर बजार गइसकेको छ केही बाँकी छ। राम्रो हावापानीमा फलेको किवीको स्वाद ठूलो बजारमा पुर्याउने सोच छ।'
उनकाअनुसार काठमाडौंका केही ठूला स्टोर तथा मार्टहरूमा आयातित र सिजन सुरू हुनुअघि नै टिपिएको किवी आइपुग्छ। यसले गर्दा सिजन पुगेर टिपिएका स्वदेशी उत्पादनले बजारमा स्थान नपाएको उनको गुनासो छ।
'स्वदेशी किवी बजारमा आउनुअगावै भारतबाट आइसक्छ। स्वदेशी उत्पादनले बजारमा स्थान पाउँदैन,' उनले गुनासो पोखे, 'सरकारले किसानलाई प्रोत्साहन गर्न स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ।'
शेर्पाले एक लाख लगानीबाट खेती सुरू गरेका थिए। अहिले लगानी मात्र डेढ करोड पुगेको छ। योसँगै तीस लाख रूपैयाँको थोपा सिँचाइ योजना गरेका छन्। आवश्यकता अनुसार अझै लगानी बढाइरहने उनी बताउँछन्।
शेर्पा आफूलाई छोटो समयमै सफल कृषक भन्न रूचाउँछन्। भने, 'सफल यस कारण छु कि रोपेको पाँच वर्षमा एउटै बिरूवाले राम्रो फल दिइरहेको छ। कमाउने दिन त आउँदैछ।'
उनलाई किवी खेतीमा उच्च प्रविधि प्रयोग गर्दै दुई करोड लगानी पुर्याउने मन छ। अहिले झोलामा बोकेर पुर्याइरहेका उनले किवी बेच्न छुट्टै गाडी किन्ने योजना पनि बुनेका छन्।
'मैले देखेको छु, एउटा बिरूवाले ३५ वर्षसम्म राम्रो उत्पादन दिने रहेछ। त्यसैले यसमा गरेको लगानी फस्दैन,' उनी थप उत्साहित हुन्छन्।
शेर्पाको रहर फरक जातका किवी लगाउने पनि हो। रातो, पहेँलो र हरियो रङको किवीलाई ब्रान्ड बनाउने सपना देखेका उनी आफ्नो जमिनमा ती फल्छन् कि फल्दैनन् भनेर अध्ययन गरिरहेका छन् अहिले।
अहिले उनले फलाइरहेको हरियो (ग्रीन) किवी हो। यो हेर्दा बाहिर खैरो र भित्रको गुदी हरियो हुन्छ। ग्रीन किवीअन्तर्गत पर्ने हेवार्ड, अलिसन, एव्बोट, व्रुनो र मन्टी जातका उनले उत्पादन गरिरहेका हुन्।
किवी जाम, जुस, स्मुदी, वाइन, केक, तितौरा र सलाद लगायतमा प्रयोग गर्न सकिन्छ। यीमध्ये उनले अहिले वाइन र जुस बनाइरहेका छन्।
आफूले उत्पादन गरेको किवी चिनाउन प्याकिङबाहिर 'जिरी किवी' र 'सर्बाखास कृषि फार्म प्रालि' लेखेको स्टिकर राख्छन्। यसमा सम्पर्क नम्बर पनि हुन्छ।
'स्टिकर राखेपछि कहाँ फलेको भन्ने थाहा भयो नि,' शेर्पाले भने, 'ठाउँसँगै सम्पर्क हुँदा अर्डर पनि आउने भयो।'
किवी खेती पछिल्ला समय नेपालमा फस्टाउँदै गएको छ। बजारमा माग राम्रो रहेकाले युवा तथा किसानलाई यो खेतीमा लगानी गर्न उनी सुझाउँछन्।
'रोजगारी खोज्दै विदेशमा दुःख गर्नुभन्दा यहीँ कृषिमा लगानी गरे राम्रो आम्दानी गर्न सकिने रहेछ,' उनले भने।