इलामको रोङ गाउँपालिका–६ सलकपुरका छत्रबहादुर खड्का आफ्नो नामले भन्दा बढी 'घोडावाल दाइ' भनेर चिनिन्छन्। यो पहिचानका पछि उनको लामो कर्मशील दिनहरूको योगदान छ।
उनले लामो समय घोडा खेपे। परिवारको गुजाराको माध्यम नै त्यही थियो। गाउँमा फल्ने सुन्तला, अदुवा, कुचो लगायत सामान आफ्नो घोडामा बोकाएर झापाका धुलाबारी, काँकडभिट्टा बजार पुर्याइदिन्थे। जसको सामान ढुवानी गरेको हो, उसैसँग 'रोज' लिन्थे। २० वर्षभन्दा बढी समय घोडा खेपेका उनले २०६३ सालपछि त्यो काम बिट मारे।
२०६३ सालदेखि सलकपुरमै रहेको चार रोपनी बारीमा उनले सुन्तला लगाउन थाले। छत्रबहादुर त्यस्तो बेलामा सुन्तला लगाउँदै थिए, जति बेला उनका छिमेकीको सुन्तला बगान निरन्तर मासिँदै थियो।
त्यस बेला गाउँकै ठूलोमध्येको एक सुन्तला बगान थियो उनका छिमेकी घिमिरे परिवारको। त्यो बगान सात-आठ वर्षभित्रै सोत्तर भएको उनले देखेका थिए। तिनै कुरा सुनाउँदै गर्दा आँगनमा आइपुगे पुजन घिमिरे जो खड्काका छिमेकी हुन्।
कुराकानीका क्रममा पुजनले सुनाए, सलकपुरमा सुन्तला मासिएको कथा।
'त्यस बेला मामा (छत्रबहादुरलाई देखाउँदै) हरूले घोडा खेप्दा हाम्रो तीन सय बोट सुन्तला थियो,' घिमिरेले भने 'अहिले उहाँको बारीमा सुन्तलाको बगान छ। हामीले चाहिँ चाख्नुपर्दा पनि उहाँहरूको बारीमा पस्नुपर्ने अवस्था छ।'
सलकपुरका स्थानीयबासीका अनुसार पछिल्लो १२–१५ वर्षमा सलकपुरमा तीव्र गतिमा सुन्तला मासिएको छ। तर यो दुःखद पाटो पर्तिर अर्को सुखद संकेत पनि छ। त्यो के भने, नयाँ जमिनमा सुन्तला खेती फस्टाइरहेको छ।
'पहिले तल्लो गाउँतिर मात्रै सुन्तला हुन्थ्यो, हाम्रोतिर हुन्थेन,' अहिले गाउँका सफलमध्येका एक सुन्तला किसान बनेका तिनै घोडावाल दाइ खड्काले भने, 'तल्लो गाउँतिर सुन्तला सबै मासियो। हाम्रोबारीतिर मज्जाले फल्न थाल्यो।'
उनीसँग अहिले ८० बोट हाराहारी सुन्तला छन्। त्यसमध्ये ४०–५० बोटले उत्पादन दिइरहेका छन्।
'यसपालि राम्रै भाउ पाइयो। मेरो सुन्तला साढे ६ लाख रूपैयाँमा बगानै बिक्री भयो,' उनले भने, 'टिप्ने, बजार पुर्याउने सबै खर्च व्यापारीले गर्ने हो। मैले पैसा समातेर बगान जिम्मा लगाएको मात्रै हो।'
डेढ दशकयता सलकपुरमा आएको उल्लेख्य परिवर्तन हो नयाँ सुन्तला किसानको उपस्थिति। कुनै बेला कहलिएका सुन्तला किसानको बारीमा अहिले एकै बोट सुन्तला छैन। हिजो अरूका सुन्तला बजार पुर्याउने मजदुरका घरआँगन र बारीमा भने सुन्तला लटरम्मै छन्।
निरन्तर रोगाएको सुन्तला खेतीबाट विस्थापनमा परेका किसानसँग यसको कारणबारे एक लाइनको उत्तर मात्रै छ, 'हाम्रो सुन्तला रोगाएर मर्यो।'
यद्यपि के कारणले यस्तो भयो, कसरी करिब डेढ दशकमा यस्तो भयो भन्ने ठोस उत्तर किसानसँग छैन। न उनीहरूको नजिकको सरकार रोङ गाउँपालिकासँग छ।
गाउँपालिकाका प्रवक्तासमेत रहेका वडानम्बर ६ का वडाध्यक्ष मणिकुमार स्याङबोका अनुसार सरकारी तहबाट यसबारे केही समयअघि अध्ययन भएको थियो। नतिजा भने अहिलेसम्म सार्वजनिक भएको छैन।
'मैले ६० सालमा एसएलसी दिएको हुँ,' सुन्तला किसान अभिभावकका सन्तानसमेत रहेका वडाध्यक्ष स्याङ्बोले थपे, 'त्यो बेला गाउँमा अढाइ सय परिवार बस्थे। सबैको सानो-ठूलो बगान थियो। अहिले परिवार संख्या बढेको छ। तर सुन्तला खेती गर्ने परिवार संख्या बीसभन्दा बढी छैन।'
कुनै बेला सिंगो गाउँले फलाउने सुन्तला अहिले औंलामा गन्न सकिने संख्याले मात्रै फलाउँछन्। वडाध्यक्षको भनाइ प्रमाणित गर्दै छत्रबहादुर खड्काले गाउँका सुन्तला किसानको नाम खरर सुनाए।
उनी भन्दै थिए, 'यता मेरो छ बगान, अलिपर्तिर कुशल थापा, पदम कार्की, टंक थापा, सुरेन मगर, चन्द्र गहतराज, विष्णु मगर, अम्बर मगरहरूको छ।'
उनले नाम सुनाएपछि वडाध्यक्ष स्याङ्बो हाँसे, 'मैले भनेँ नि, 'अहिले औंलामा गन्न सकिनेले मात्रै सुन्तला खेती गर्छन्। पहिले हाम्रो गाउँले सुन्तला बेच्थ्यो, अहिले त्यसको ब्रान्ड नाम बेच्दैछ।'
उनका अनुसार पछिल्लो डेढ दशकमा रोगका कारण धेरै सुन्तला बगान मासियो। पात झर्ने, बोट पहेँलो हुने, हाँगा मात्रै देखिने, जरा कुहिने समस्या उच्च भएर बगान मासिन थालेका हुन्। जराको बोक्रा कुहिएपछि बोटले आवश्यक खाद्यतत्व लिन नसक्ने, बिस्तारै हाँगा र पात मर्दै जाने अनि चौथो वर्षमा बोट पूरै मर्ने समस्याले किसानलाई सतायो।
सामान्यतयाः सुन्तलाको एउटा बोटले रोपेको चारदेखि पाँच वर्षभित्र उत्पादन दिन थाल्छ। बोट मर्न पनि लगभग त्यत्तिकै समय लागेको किसानको अनुभव छ। गाउँपालिकाका अनुसार विज्ञहरूले सुन्तला मासिनुको मुख्य दुइटा कारण बताएका छन्। पहिलो, जलवायु परिवर्तन, दोस्रो माटोको बिग्रेको स्वास्थ्य।
'विज्ञहरुले भनेको कुरामा हामी सहमत छौं,' गाउँपालिकाका प्रवक्ता स्याङ्बोले भने, 'सुन्तलालाई धेरै चिसो हुनु हुँदैन। पहिले माथ्लो बेल्टमा धेरै चिसो भएकै कारण कसैको सुन्तला सप्रेन। अहिले चिसो तल्लो बेल्टतिर सरेको छ। त्यता सुन्तला मासिँदा माथ्लो बेल्टमा सुन्तला मज्जाले फलेको छ।'
यसका एक प्रमाण हुन् तिनै घोडावाल दाइ भनिने खड्का जसले २०६३ अघि पनि सुन्तला हरेक वर्षजसो रोपे। तर कहिले बोट ज्यूँदो रहेन।
'तल्लो बेल्टमा खेती हुनेको सुन्तला सप्रिँदा हाम्रोमा बोट जोगाउनै मुश्किल पर्थ्यो,' उनले थपे, 'अहिले ठ्याक्कै अवस्था उल्टो छ। तल्लो बेल्टमा टिक्दैन, हाम्रोतिर राम्ररी फलिरहेको छ।'
जलवायु परिवर्तनले ल्याएको यो परिवर्तनबारे गाउँपालिकाले किसानलाई सुनाएको छ। सुरूमा नपत्याएका किसानले अहिले भने बुझ्न थालेको अनुभव स्थानीय सरकारलाई छ।
विज्ञहरूले दिएको अर्को कारण हो, माटोको बिग्रिँदो स्वास्थ्य। उनीहरूका अनुसार उत्पादन बढाउने लोभमा किसानले अनेक रासायनिक मल लगाएर माटो बिगारे।
'यसरी वर्षौं लगाएर बिगारेको माटो एकै वर्षमा सुध्रिने सम्भावना नहुने विज्ञले हामीलाई भनेका छन्,' प्रवक्ता स्याङ्बोले भने, 'अब केही वर्ष रासायनिक मल प्रयोग नगर्ने, अनुशासित भएर प्रांगारिक मल मात्रै प्रयोग गर्ने र पहिलेकै फर्ममा माटोलाई ल्याउनुपर्छ भन्ने कुरा विज्ञहरूले भनेका छन्। यो कुरा पनि हामीले किसानलाई भनेका छौं।'
त्यति गरेपछि फेरि माटो सुध्रिने र सुन्तला हुनसक्ने सम्भावना रहने भनेका कारण गाउँपालिकाले हरेक गाउँबासीले कम्तीमा पाँच बोट सुन्तला लगाउनु पर्ने बहस थालेको छ।
'आज सलकपुर जे छ, त्यो सुन्तलाकै कारणले छ,' गाउँपालिकाको योजना प्रवक्ताले सुनाए, 'त्यसैले पुरानो वैभव जोगाउन र सुन्तला पर्यटन अझै माथि लैजान पनि त्यस्तो योजना बन्दैछ।'
प्रदेश १ कृषि तथा सहकारी मन्त्रालयका उपसचिव डा. राजेन्द्र उप्रेतीका अनुसार जलवायु परिवर्तनको असर स्वरुप सुन्तला, स्याउ जस्ता फल फल्ने ठाउँ क्रमशः अग्लोतिर सर्दैछन्।
'पहिलेभन्दा अझै उचाइतिर यी फल हुन थाले, जलवायु परिवर्तनको असरले यस्तो भयो,' मन्त्रालयका प्रवक्तासमेत रहेका उप्रेतीले भने, 'अर्कातिर केयर म्यानेजमेन्टमा पनि प्रशस्त कमजोरी भयो। यसले धेरै ठाउँमा सुन्तला मासियो।'
जापानी कृषि वैज्ञानिकहरू सहितको टोलीले सुन्तलाबारे नेपालमा अध्ययन गर्दा उक्त टिममा बसेर काम गरेका उप्रेतीले भने, 'सुन्तला अर्ग्यानिक मल रूचाउने फल हो। तर, धेरैतिर रासायनिक मलको जथाभावी प्रयोगले बिगार्यो। सलकपुरमा पनि भएको त्यही हो।'
सुन्तला खेतीको सुरूआतः
सलकपुरका गौरी लामाको अगुवाईमा २००४ सालमा मोतिराम स्कुल स्थापना भयो। गाउँपालिकाले तयार पार्दै गरेको स्थानीय पाठ्यक्रममा उल्लेख भएअनुसार त्यस बेला देशभर स्कुलको संख्या ज्यादै कम्ती थियो। सलकपुरका विद्यार्थीहरू दार्जिलिङका विभिन्न स्कुलमा मेची तरेर पढ्न जान्थे।
'दार्जिलिङमै पढेर फर्किएका गौरी लामाले सलकपुरको कात्तिकेमा सबभन्दा पहिला सुन्तला रोपेको (२००४ साल आसपास) पाइन्छ,' आउँदो बैशाखदेखि मात्रै विद्यार्थीले पढ्न पाउने स्थानीय पाठ्यक्रममा लामाको जीवनीमा भनिएको छ। त्यसैमा देवलाल घिमिरेको पनि जीवनी राखिँदैछ। घिमिरे चाहिँ सलकपुरमा सुन्तला खेती विस्तार गर्ने व्यक्ति हुन्।
१०–१२ साल आसपासमा घिमिरे कृषिमा आइएससी सकेर कोलकाताबाट गाउँ आउँछन्। गाउँको हावापानी र माटो सुन्तला सुहाउँदो हुने भन्दै उनले ठूलो संख्यामा सुन्तला लगाउँछन्। त्यस बेला बिरूवा दार्जिलिङतिरबाटै ल्याइएको थियो।
देवलाल घिमिरेले बारीमा सुन्तला हुर्काएपछि गाउँका अरूले पनि सुन्तला लगाउन थालेका हुन्। ६५ वर्षीय छत्रबहादुर खड्काका अनुसार उनी १५–१६ वर्षको छँदा गाउँबाट भारतीय बजारतिर सुन्तला जाने गरेको थियो।
'त्यसबेला घोडाले ताँती लगाएर यहाँको सुन्तला लोहागढ, नक्सल, पानीघट्टासम्म पुर्याउँथे।'
उनले भनेका यी सबै भारतीय बजारहरू सीमा क्षेत्रका नेपालीका लागि आफ्ना उत्पादन बेच्ने र अन्य सामान खरिद गर्ने पुराना केन्द्र हुन्।
धेरै समयसम्म घोडामा बोकेर भारतीय बजार र घोडाकै भरमा पाँचथर ताप्लेजुङसम्म जाने यहाँको सुन्तला ३० को दशकको सुरूआतदेखि घोडाकै भरमा झापा झर्न थाल्यो।
'सलकपुरमा गाडी आइपुग्न २०५८ साल कुर्नुपर्यो,' कुनै बेलाका सुन्तला किसान मणिक राईले भने, 'बाटो बनेपछि हाम्रो सुन्तला गाडीमा लोड हुन थाल्यो। त्यसपछि टाढाको बजारसम्म पुग्न थाल्यो।'
जब सलकपुरको सुन्तला टाढाको बजारमा पुग्न थाल्यो, सुन्तला उत्पादन गर्ने यो गाउँले पनि काँचुली फेर्यो। सुन्तला पाक्ने सिजन सुरू हुँदा गाउँ नै पहेँलपुर देखिन्थ्यो। त्यो मनमोहक दृश्य हेर्न नेपाल र भारत मात्रै होइन, बंगलादेशसम्मका पर्यटक यहाँ धुइरिन्थे। त्यो क्रम अहिले पनि उस्तै छ।
'त्यही भएर भनेको, सलकपुर पहिले सुन्तला बेच्थ्यो, अहिले त्यसको ब्रान्ड बेच्दैछ,' वडाध्यक्ष स्याङ्बोले थपे 'हुलका हुल पर्यटक गाउँ भित्रिन थालेपछि गाउँका धेरै घरमा होमस्टे खुले। होटल खुले। त्यसरी आउने पयर्टकले बारीमा फलेका तरकारी किनेर लैजान थाले। यहाँका सबै कृषि वस्तु बोटबोटै बिक्ने अवस्था भयो। त्यसको सबै श्रेय सुन्तलालाई जान्छ।'
उनका अनुसार अहिले अलैंची र एभोकाडोमा किसान आकर्षण बढेको छ। वर्षदिनभित्र हजार बोट एभोकाडोले उत्पादन दिन थाल्ने उनले सुनाए।
गाउँपालिका जसरी सुन्तला गाउँको पुरानो वैभव फिर्ता गर्ने चिन्तामा छ, सर्वसाधारणलाई पनि त्यसले घच्घच्याएकै छ।
'यो ठाउँमा होमस्टे र होटल चल्छ होला भन्ने हामीलाई कल्पना पनि थिएन,' सलकपुरका होमस्टे तथा होटल व्यवसायी इन्द्र अधिकारी भन्छन्, 'यहाँ पर्यटक भित्र्याउने, यहाँ एक-दुई रात मान्छे टिकाउने सबै काम सुन्तलाले गरेको हो। त्यसैले सुन्तला खेती फेरि हामीले थालेका छौं। थोरैथोरै भए पनि सबैले लगाउने कुरा आएको छ। यसले पुरानो स्वरुपमा गाउँलाई सुन्तलामय बनाउने आशा छ।'