रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ४ सोलाबाङका मेघराज खड्का सानैदेखि बुवाले गरेको खेती हेर्दै हुर्किए। मेघराजका अनुसार हाल ६० वर्ष पुगेका उनका बुवा वीरबहादुर सोलाबाङमा व्यवसायिक तरकारी खेती भित्र्याउने पहिलो व्यक्तिहरूमध्येका एक हुन्।
वीरबहादुरले बिक्रम सम्वत् २०३० कै दशकमा एसएलसी पास गरेका थिए। त्यो बेला यति शिक्षा हुँदा उच्च पदमा जागिर पाउने सम्भावना धेरै थियो। तर वीरबहादुरले जागिरको पछि नलागी कृषि पेसा अँगाले।
'बुवाले तरकारी खेती गरेर थुप्रै पुरस्कार पाउनुभएको छ,' मेघराज भन्छन्, 'उहाँले सोलाबाङमा कृषि क्रान्ति नै ल्याउनुभएको थियो भन्ने मलाई लाग्छ।'
वीरबहादुर अझै पनि सोलाबाङमा तरकारी खेती गरिरहेका छन्। अहिले २३ वर्ष पुगेका मेघराज र उनका २८ वर्षे दाजु नरेन्द्रले पनि सानै उमेरमा कृषिका व्यवहारिक ज्ञान पाए।
तर मेघराजलाई आफू बुवाजस्तै कृषि पेसामै रमाउँला भन्ने थाहा थिएन। सात वर्षअघि उनी रुकुममा स्कुले अध्ययन सकेर थप पढ्न दाङ आए। उनी भेटिरिनरी पढ्न चाहन्थे। बुवा वीरबहादुरले भने पढाइसँगै आफ्नो काममा सहयोग हुने भन्दै कृषि पढ्न सुझाए।
'बुवाको सुझाव मानेर मैले चितवनमा कृषि, तुलसीपुरमा जेटिए र कमर्स पनि लिएर सँगसँगै पढेँ,' मेघराजले भने, 'आइएससी र आइकम सकेँ।'
त्यही समयमा उनले प्रेम विवाह पनि गरे। तर विस्तारै सहरको बसाइ महँगो पर्न थाल्यो।
उनले सोचे- पैसा कमाउन विदेश जान्छु।
'अस्ट्रेलियाको भिसा लागेको थियो। जाने तयारी हुँदै गर्दा कोरोना महामारी सुरू भयो। भिसाको म्याद गुज्रियो,' मेघराजले सुनाए। उनलाई केही समय तनाव पनि भयो।
तर जे हुन्छ राम्रैका लागि हुन्छ, समस्यासँगै अवसर पनि सिर्जना हुन्छ भन्ने सोचेर उनी गृहजिल्ला रुकुम फर्किए। त्यहाँ उनले सिमरुत भन्ने ठाउँमा एग्रोभेट र कुखुरा पालन सुरू गरे। केही समयपछि तुलसीपुरमा पनि एग्रोभेट चलाए।
'कामले काम सिकाउँछ, अब केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो,' उनले भने।
मेघराज नयाँ कामको सम्भावना खोज्न थाले। सामाजिक सञ्जाल चहार्दा कृषि काममा सफल भएकाहरूका कथा भेटे। ती समाचार पछ्याउँदै मेघराज ती व्यक्तिका फार्महरूमा पुगे।
विभिन्न ठाउँ डुलेपछि उनले दुइटा सम्भावना देखे- कालिज वा बँदेल पाल्ने।
उनको परिस्थितिले तत्काल बँदेल पाल्न सक्ने संकेत दिएन। त्यसैले कालिज पाल्ने योजना बुनेर बुवा र दाजुलाई सुनाए। अर्थशास्त्रबाट स्नातक गरेका दाजु नरेन्द्रले कालिज पालन, यसको माग र बजार केलाए। राम्रै सम्भावना देखे।
यसपछि मेघराज कालिज पाल्न जग्गा खोजीमा लागे। घोराही उपमहानगरपालिका-१७ को कर्जाही क्षेत्र उनलाई उपयुक्त लाग्यो। घोराही बजारदेखि करिब ४ किलोमिटर दक्षिणमा रहेको यो ठाउँमा विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको छ। प्राचीन र धार्मिक मन्दिर धारापानी जाने बाटोमै पर्छ।
'त्यहाँ जग्गा पाए धार्मिक र पर्यटकीय स्थल जाने मानिसको नजरमा पर्छ, राम्रो प्रचारप्रसार पनि हुन्छ भन्ने लाग्यो,' उनले भने, 'बजार पनि नजिकै भएकाले सहज हुने देखियो।'
नभन्दै उनले सडक छेउमै दुई बिघा जमिन पाए र दस वर्षका लागि भाडामा लिए। आफ्नै नामबाट एम. के मल्टिपर्पोज प्रालि दर्ता गर्ने प्रक्रिया थाले। तर दर्ता प्रक्रिया केही झन्झटिलो र समय लाग्ने भयो।
यसैबीच उनले काठमाडौं, चितवन, दाङ लगायत ठाउँबाट दुई हजार दुई सय हाराहारी कालिजका चल्ला किनेर ल्याए।
'एकै ठाउँका बच्चा ल्याउँदा ब्रिडिङमा समस्या हुन्छ भनेर विभिन्न ठाउँबाट ल्याएँ,' त्यसमध्ये झन्डै दुई सय जति चल्ला मरेको उनले बताए।
काम थालेपछि दाजु नरेन्द्रलाई पनि रुकुमबाट दाङ बोलाए। मेघराज भने कम्पनी दर्ताका लागि कहिले घोराही उपमहानगरपालिका, कहिले काठमाडौंस्थित रजिस्ट्रार कार्यालय त कहिले प्यान नम्बर लिन कर कार्यालय धाए। दौडधूप गरेरै भए पनि उनले दर्ताको काम फच्चे गरे।
अनि आधिकारिक रूपमै सुरू भयो मेघराजको कृषि व्यवसाय। दाङ कृषिका लागि अथाह सम्भावना बोकेको क्षेत्र मान्छन् उनी। त्यसैले घोराही- १६ खिरेट्टेमा १५ कठ्ठा जमिन भाडा लिएर कालिजसँगै विभिन्न जातका 'प्यारेन्ट' कुखुरा र टर्की पनि पाल्न थाले। अहिले उनले ह्याचरी मेसिन पनि राखेका छन्। त्यसबाट चल्ला उत्पादन गर्छन्।
'कालिज पालेकै ठाउँको छुट्टै भागमा मासुका लागि लोकल, कडकनाथ, गिरिराज जातका कुखुरा पनि पालेको छु,' उनले भने, 'एक दर्जन जति बाख्रा, खसी, बोका पनि हुर्किँदै छन्।'
मेघराजका दाजु नरेन्द्रको भने पहिल्यैदेखि तरकारी खेतीमा रूचि थियो। त्यसैले उनीहरूले तुलसीपुर- १८ दूधरासमा छ बिघा जग्गा भाडा लिएर तरकारी खेती गरेका छन्। अनि कालिज फार्म भएकै ठाउँ, कर्जाहीमा एक बिघा जमिनमा आलु खेती पनि गर्छन्। कालिज पाल्ने जग्गाको वार्षिक एक लाख २० हजार, तरकारी खेतीको झन्डै दुई लाख र प्यारेन्ट कुखुरा पाल्ने ठाउँको वार्षिक ५० हजार भाडा तिर्छन्।
कालिज, कुखुरा-टर्की फार्म, तरकारी खेती गरी तीन ठाउँको काममा एक करोड २५ लाख लगानी पुगिसकेको मेघराज बताउँछन्। भने, '८० लाख जति बैंकबाट ऋण लिएको छु।'
मेघराजले यी सबै काममा व्यवस्थापनको पाटो मात्रै हेर्छन्। तीन ठाउँमा दाजु र परिवारबाहेक छ जना कर्मचारीले सघाउँछन्। उनले भने, 'म सकभर दिनकै एकछिन भए पनि सबै ठाउँ पुग्छु। सबभन्दा बढी रमाउने चाहिँ कालिजसँगै हो।'
उनले कालिज पाल्न थालेको एक वर्ष मात्र भयो। सामान्यतया कालिज ६ महिनामा बिक्रीका लागि तयार हुन्छ। गत दसैं-तिहार र अन्य चाडपर्वमा उनको फार्मबाट धेरै कालिज बिके। यसबीच १५ लाख हाराहारीको कालिज बेचेको उनी बताउँछन्।
'चाडपर्वमा एउटा कालिज तीन हजार पाँच सयसम्ममा बिक्छ,' उनले भने, 'अहिले भने दुई हजार पाँच सयसम्म पर्छ। मासुका पारखीहरू खोज्दै फार्ममै आउँछन्। त्यस्तै सूदुरपश्चिमको टीकापुरदेखि बुटवल र काठमाडौंबाट पनि माग आउँछ।'
उनको फार्ममा अहिले एक हजार पाँच सय बढी कालिज छन्। तर मेघराज भाले मात्रै बेच्छन्। पोथी बच्चा उत्पादनका लागि राखिन्छन्।
कालिज कसरी पाल्ने?
मेघराजले पालेको कालिज रिङरेट जातको हो। यसको स्वाद मिठो हुने भएकैले बजार सम्भावना राम्रो देखिन्छ। त्यसैले पछिल्लो समय यसको व्यवसायिक पालन फस्टाएको उनी बताउँछन्।
'कालिज प्रकृतिमा रम्ने पंक्षी हो। यसले प्राकृतिक वातावरण नै खोज्छ। पारिलो घाम लाग्ने, एकान्त, शीतल छहारी दिने रूख-बिरूवा भए राम्रो। नभए पनि त्यस्तै प्राकृतिक संरचना भए रमाउँछ,' मेघराजले जानकारी दिँदै भने, 'फेरि कालिज उड्छ। त्यसैले यसलाई सहज हुने वातावरणमा पाल्न र हुर्काउन आवश्यक हुन्छ।'
मेघराजले कालिजका निम्ति खुला आकाशमा १७/१८ फिट माथिसम्म जाली लगाएका छन्। ठाउँठाउँमा माटोका ढिस्का बनाएका छन्। वर्खामा पानी जम्दा बस्न भनेर बाँसका खट पनि राखिदिएका छन्।
'यसका बच्चालाई चिसोबाट जोगाउन मुश्किल पर्छ, तर वयस्क भएपछि चिसो मन पराउँछ,' उनले भने, 'त्यसैले गर्मीमा शीतल दिन जालीभित्रै ठाउँठाउँमा त्रिपालका छाप्रा बनाएको छु।'
कालिजको आहारा हरियो घाँसपात र अन्न हो। दिउँसो मूलाको पात, भाजी त कहिले आफैंले रोपेको बर्सिम जातको घाँस दिइने उनले बताए। साँझ मकै, गहुँ जस्ता अन्न दिन्छन्। कालिज र कुखुरालाई दिने दाना पनि मेघराज आफैं उत्पादन गर्छन्।
कालिजका चल्ला सुरूका १५ दिनसम्म हुर्काउन सबभन्दा कठिन हुन्छ। त्यो अवधिमा ३५ डिग्री सेल्सियस तापक्रममा न्यानो राख्नुपर्छ। जब कालिज दुई महिनाका हुन्छन्, एकआपसमा ठुङाठुङ गर्न थाल्छन्। यसबाट उनीहरूको शरीरमा घाउ हुन्छ। तिनै घाउ बल्झिएर मर्ने सम्भावना एकदमै धेरै हुन्छ।
'कालिजलाई आपसी झगडाबाट जोगाउन चुच्चोमा क्याप र आँखामा चश्मा समेत लगाइदिएँ,' उनले भने, 'तर चश्मा लगाउँदा राम्रोसँग आँखा नदेख्ने रहेछन्। जथाभावी उडेर जालीमा झुन्डिए। अनि चश्मा निकाल्नुपर्यो।'
यसरी अनेक उपाय लाउँदै दुःख गरेर कालिज हुर्काउन सफल मेघराज अहिले चल्ला पनि बेच्छन्।
'मैले किनेर ल्याउँदा एउटा चल्लाको पाँचदेखि आठ सयसम्म तिरेको थिएँ,' उनले भने, 'तर म एकदिनको एउटा चल्ला जम्मा दुई सयमा बेच्छु।'
उनले कालिजको बीमा भने गराएका छैनन्। बीमा नियमअनुसार कालिजलाई कुखुरा नै मानिन्छ। लोकल कुखुराको दरमा कालिजको बीमा गरेर फाइदा नहुने देखेर नगराएको उनले बताए। यसबाहेक अरू सबै चिजको बीमा गराएका छन्।
तीनतिरको कामबाट राम्रै कमाइ गर्न थालिसकेका मेघराजको अबको तयारी रेस्टुरेन्ट खोल्ने हो। घोराही बजारमा कालिजका परिकार मात्र पाउने रेस्टुरेन्ट खोल्ने योजना बनाएका छन्। त्यस्तै अब केही बँदेल पाल्ने सोच छ उनको। बाख्रा थप्ने सुरसार पनि छ।
योसँगै कालिज फार्ममै 'क्याम्प फायर' सञ्चालन गर्ने योजना बनाएका छन्, 'मान्छेहरूले यहाँ आएर, रमाइलो गर्दै, आफैंले रोजेर कालिज र कुखुरा खान पाऊन् भनेर क्याम्प फायर सञ्चालन गर्न लागेको हुँ।'
एकैसाथ यतिका धेरै काम कसरी भ्याउँछन् त उनले?
जवाफमा उनी भन्छन्, 'एउटा विधि बसाल्ने र प्रविधि उपयोग गर्न जान्ने हो भने सम्भव रहेछ। म त व्यवस्थापन गरिदिने तथा अनुगमन गर्ने मात्रै हो।'
सुरूमा लगानी धेरै पुग्दा, कमाइ सुरू नहुँदा मेघराजको मन नआत्तिएको होइन। तर हरेश नखाइ धैर्य गरे। आज कमाइ हुन थालेपछि दंग परेका छन्। अनि अस्ट्रेलिया जान नपाएकामा पनि कुनै खेद छैन।
भन्छन्, 'लकडाउन हुनु मेरा लागि एकदमै राम्रो भयो। यतिका सम्भावना देख्न सकेँ। त्यसैले अस्ट्रेलिया जान नपाएकामा कुनै दुःख र पछुतो छैन। त्यो सपना त्यागिसकेँ।'
उनलाई सबभन्दा बढी खुसी भने बुवा वीरबहादुरको मायाले दिएको छ। कृषि पेसामै रमाएको भन्दै बुवाले दिएको 'धन्यवाद' सम्झेर उनी सधैं गर्व महसुस गर्छन्।
'बुवा आज पनि रुकुममा तरकारी खेती गर्नुहुन्छ,' मेघराजले भने, 'अचेल मेरो काम हेर्न बेलाबेला दाङ आउनुहुन्छ। काम देखेर धन्यवाद भन्नुभयो। उहाँले सिकाएको काममै जोडिएर उहाँको सपना विस्तार गर्न सकेकामा गर्व लाग्छ।'
सबै तस्बिर र भिडिओः नारायण खड्का/सेतोपाटी