विदेशको सपना लत्याएका २९ वर्षीय मिलन राना अहिले बंगुरपालनमा भविष्य खोज्दै छन्।
जैमिनी नगरपालिका-१ कुश्मीसेरामा उनको पशुपंक्षी फार्म छ। फार्ममा अहिले ४२ बंगुर छन्। गत साउनबाट सुरू गरेको बंगुरपालन व्यवसायमा उनले २१ लाख रुपैयाँ लगानी गरेका छन्।
फार्ममा एक सय ७० बंगुर पाल्ने क्षमता छ। बंगुर थप्दै जाने योजनामा राना छन्।
गत भदौयता बंगुर बेचेर चार लाख जति कमाइ भित्राएको उनले सुनाए। बंगुरपालक किसानले धेरैजसो पाठापाठीबाट आम्दानी गर्छन्। मासुका लागि बेच्दा प्रतिकिलो तीन सय ७० रुपैयाँसम्म पर्छ। महिनादिन पुगेका पाठापाठी ६ हजार रुपैयाँमा बिक्री हुने गरेको किसान बताउँछन्।
माउ बंगुरले एकै बेतमा १६/१७ वटासम्म पाठापाठी पाउँछ।
‘फार्मबाट धेरै पाठापाठी नै बिक्री हुन्छन्, हुर्केका बंगुर मासुका लागि बजार जान्छ’, व्यवसायी रानाले भने, ‘बजार माग बढ्दै गएकाले बंगुरमा गरेको लगानी खेर जाँदैन, व्यवसाय सन्तोषजनक नै छ।’
उनले पहिले सोही ठाउँका याम पुनले चलाएको फार्म किनेका हुन्।
बंगुर फार्मसँगै उनको ब्लक उद्योग पनि छ। दुवै व्यवसायमा उनको ३२ लाख रुपैयाँ जति लगानी छ। छ जनाले रोजगारी पाएका छन्। उनले ब्लक र फार्मका लागि वार्षिक ४२ हजार रुपैयाँ तिर्ने गरी ठेउले खोलाछेउ जग्गा भाडामा लिएका छन्।
उनकोसँगै त्यहाँ अरू पनि बंगुर फार्म लहरै छन्। जेनिसा बंगुर फार्ममा रहेका ३० बंगुरमध्ये छ ब्याउने छन्। ती सबै ब्याउँदा पाठापाठीले खोर भरिभराउ हुन्छ।
फार्मकी सञ्चालक कमला थापाले दुई वर्षदेखि बंगुरपालन व्यवसायमा लागेको बताइन्। कुश्मीसेरा बजारमा उनको मासु पसल पनि छ।
श्रीमान जंगबहादुरसँगै उनी बंगुरपालनमा रमाइरहेकी छन्।
‘आफ्नै मासु पसल पनि भएकाले बंगुर बेच्न सहज छ, पाठापाठीबाट पनि राम्रो कमाइ हुन्छ,’ उनले भने, ‘हामीसँगै कुश्मीसेरा बजार आसपासमा १५ बढी किसान बंगुरपालनमा लाग्नुभएको छ, व्यवसायबाट सबै खुसी हुनुहुन्छ।’
यही नजिकै विकास श्रीसको बंगुरपालन व्यवसाय छ। त्यहाँ अहिले १७ वटा बंगुर छन्। १२ लाख खर्चेर तीन वर्षअघिदेखि बंगुर फार्म चलाएको श्रीसले बताए। उनीसँग हाँस र माछापालन गर्ने योजना पनि छ।
वार्षिक २१ हजार रुपैयाँ तिर्नेगरी जग्गा भाडा लिएर श्रीसले फार्म खोलेका हुन्।
मासु र पाठापाठीको माग बढेपछि बंगुरपालनमा किसानको आकर्षण बढेको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए।
अहिले गाउँ-गाउँमा व्यवसायिक रूपमा बंगुर पाल्ने क्रम बढेको उनको अनुभव छ। पहिले थोरै पाल्ने किसानले पनि अहिले संख्या बढाउँदै लगेका छन्। लगानी थपेका छन्।
न्यून पुँजी भएका किसानले पनि बंगुरपालनबाट वर्षमा चार/पाँच लाख रुपैयाँ कमाउन थालेका छन्। थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बंगुरपालन रोजाइमा पर्न थालेको हो।
किसानलाई बंगुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ।
दर्ता भएका र मापदण्ड पूरा गर्ने बंगुरपालक किसानलाई नगरपालिकाबाट प्रोत्साहन अनुदानबापत २५ हजार रुपैयाँ सहयोग गरिएको पशु शाखा प्रमुख ढकालले जानकारी दिए।
उनका अनुसार जैमिनीभरिमा सयभन्दा बढी किसान बंगुरपालन व्यवसायमा छन्। व्यवसाय दर्ता गरेर चलाउनेको संख्या भने कम छ।
जैमिनी–१० को राङखानी बंगुरपालनका लागि बढी उपयुक्तस्थल मानिन्छ। त्यहाँ बंगुरको पकेट क्षेत्र विकास गर्न पशु सेवा विज्ञ केन्द्रले योजना सञ्चालन गरेको छ।
जैमिनीसहित बागलुङ, गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायतका क्षेत्रमा बंगुरपालन व्यवसाय फस्टाउँदो छ।