विपन्न वर्गका कृषक समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले उन्नत जातको बीऊ वितरण सुरू गरेको छ।
वडा नम्बर ४ र ५ को विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहलाई सोमबार नश्ल सुधारका लागि बीऊ बोका प्रदान गरिएको हो।
समूहमा आवद्ध ३० जना युवा तथा पौरखी किसानलाई शतप्रतिशत बोयर जातको बोका प्रदान गरिएको शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।
समूहकै सक्रियतामा किसानले चितवनको माडीबाट बोका खरिद गरेको विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहले जनाएको छ।
यी बोका ६ महिनाअघि मात्र अफ्रिकाबाट चितवन हुँदै शिवसताक्षी आएको समूहका अध्यक्ष भोला मैनालीले बताएका छन्।
यसका लागि नगरपालिकाले ६ लाख खर्च गरेको छ भने समूहले १ लाख ५० हजार खर्च गरेको छ।
८० प्रतिशत अनुदानमा दिइएको बोकाबाट समूहमा आवद्ध किसानले पालेका बाख्राको नश्ल सुधार हुने र उनीहरूको जीवनस्तर माथि उकास्न टेवा पुग्ने नगरपालिकाले विश्वास गरेको छ।
समूहले २० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालन गरेको हो। समूहका सदस्य भानु विमलीका अनुसार समूहले १ लाख ५० हजार लगानी गरेको छ।
बााख्रापालन व्यवसाय थोरै लागनी, सजिलो पेशा भएको र राम्रो आयआर्जन गर्न सकिने भएकाले किसानलाई हौसला दिन यो आयोजना सञ्चालन गरिएको नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए।
समूहका पदाधिकारीलाई बोका हस्तान्तरण गर्दै नगर प्रमुख शेर्माले भने, ‘८० प्रतिशत अनुदानमा पाएको बोकाको स्याहारसुसार गरी यसबाट वर्षेनी राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहलाई अनुदानमा नगरले बोका उपहार दिएकोमा खुसी व्यक्त गर्दै समूहका कोषाध्यक्ष केदार पौडेलले भने, ‘यो समूहलाई हामी झापामै नमूना समूह बनाउने गरी उदाहरण दिने छौं।’
साबिकको पाँचगाछी हालको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ र ५ पशु तथा कृषि क्षेत्रका लागि झापामै पकेट क्षेत्रको रूपमा मानिएको छ। गाई, भैंसी, बाख्रा पालनसहित तरकारी उत्पादनमा पाँचगाछी झापामै अब्बल क्षेत्र मानिएको नगरको कृषि शाखाले जनाएको छ।
विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहमा आवद्ध कृषकका कम्तीमा ५ सय विभिन्न जातका बाख्रा छन्। उन्नत जातको बीऊ बोकाको अभावमा किसानले वर्षौंदेखि परम्परागत शैलीमै बाख्रापालन गर्दै आएका थिए।
समूहभित्र उन्नत जातका बोका नहुँदा नश्ल सुधारका लागि बाख्रा अन्यत्रै बीऊ बोकामा लैजाने किसानले २ हजार ५ सयसम्म तिर्नु परेको स्थानीय किसानले बताएका छन्। नगर र समूहको साझेदारीमा उन्नत जातको बीऊ बोका समूहमै आएपछि समय र पैसाको बचत भएको सविन कृषि फर्मका सञ्चालक सविन अधिकारले बताए।
समूहमा आएको बोयर जातको बीऊ बाट नश्ल सुधार गर्ने किसानले १ हजार भुक्तानी गर्नुपर्ने नियम समूहले बनाएको छ।