पूर्वी चितवनमा लामो समयदेखि धान मिल सञ्चालन गर्दै आएका रामचन्द्र डल्लाकोटीले गतवर्ष एक हजार आठ सय रुपैयाँ प्रति क्विन्टलसम्ममा धान खरिद गरेका थिए।
किसानहरूले रोपेको पिआर-१०१ जातको चैते धान राम्रो फलेको थियो।
दैनिक सय टनसम्म धान कुट्ने क्षमताको मेसिन राखेका डल्लाकोटीले किसानबाट पर्याप्त धान खरिद गरेर स्टकमा राखे। त्यो धान कुटेर चामल तयार पारे।
धान खरिद गरेको ८ महिना भइसक्दा पनि उनले सबै चामल बिक्री गर्न सकेनन्। बरू बिक्री भएका चामल पनि अहिले धमाधम फिर्ता आइरहेको छ।
‘२१ टनका ५ गाडी चामल विभिन्न ठाउँबाट फिर्ता आयो। नराम्रो चामल बेच्ने रहेछ भनेर ग्राहकले मेरो मिलबाट चामल किन्नै छाड्लान् कि भन्ने डर पो भयो,’ डल्लाकोटीले भने, ‘ग्राहकले अबदेखि यो चामल नल्याऊ है भनेका छन्।’
डल्लाकोटीले यस वर्ष पिआर-१०१ जातको चैते धान बाटमात्रै १२ लाख रुपैयाँभन्दा बढी घाटा लागेको दाबी गरे। फिर्ता आएको केही चामल मान्छेको खानाका लागि बिक्री नभएपछि कुखुराको दाना बनाउने उद्योगमा बल्ल-बल्ल बिक्री गरेको उनी बताउँछन्।
‘अझै १ गाडी चामल बिक्री गर्न सकेको छैन। सित्तैमा लैजाऊ भन्दा पनि कसैले लैजाँदैनन्,’ उनले भने।
अर्का मिल व्यवसायी चन्द्रप्रसाद सापकोटाले पनि पिआर जातको धान बिक्री नहुँदा अधिकांश गोदाममै थन्किएको बताए।
‘मैले यो धान लिएर आउनेलाई भुसको प्रतिकिलो ३५ रुपैयाँमा दिने गरेको छु तर चामलको ३० रुपैयाँ दिन पनि सक्दिनँ,’ सापकोटाले भने, ‘हामीले किनेर राखेरमात्रै के गर्नु बाहिर लगेर बिक्री गर्नै सकिँदैन। भुस बरू पशुलाई खुवाउन जत्ति पनि बिक्री हुन्छ।'
चितवन र नवलपुर जिल्लाका मिल व्यवसायीहरूको संस्था चितवन-नवलपुर राइस मिल समितिका अध्यक्ष माधवप्रसाद पौडेलले पनि ८ महिना अघि प्रतिकिलो २० रुपैयाँमा खरिद गरेको धान अहिले उही मूल्यमा दिन्छु भन्दा पनि कसैले नकिनेको बताए।
‘बल्ल-बल्ल अलिअलि बिक्री गर्यो केही दिनमा फिर्ता आइहाल्छ,’ उनले भने,‘धेरै फल्ने र हेर्दा राम्रो देखिने भए पनि यो जातको धान नेपाली उपभोक्ताले मन पराएनन्।’
चितवनको पूर्वी क्षेत्रमा चैते धानको व्यावसायिक खेती हुने गर्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा धान जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यो कार्यक्रम सञ्चालन भएको क्षेत्रमा मात्रै यस वर्ष एक हजार टन भन्दा बढी पिआर-१०१ चैते धान उत्पादन भएको थियो।
किसानले प्रतिक्विन्टल एक हजार तीन सयदेखि दुई हजार रुपैयाँसम्म मूल्य पाएका थिए। यो धान बिउ राखेको १०५ दिनमा तयार हुन्छ।
चितवनमा सात हजार पाँच सय हेक्टर जमिनमा चैते धानको खेती हुने गरेको छ। यसको ७० प्रतिशत हिस्सा पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा छ। बाँकी माडी नगरपालिका र भरतपुर महानगरपालिकामा छ। वर्षे धान भने यहाँ करिब १९ हजार हेक्टर जमिनमा उत्पादन हुन्छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चितवनस्थित परियोजना कार्यान्वयन इकाइका कृषि अधिकृत माधव पौडेलकाअनुसार पिआर-१०१ जातको धान छिटो फल्ने र रोग, किराको असर कम भएका कारण किसानले मन पराएका थिए।
चितवनमा तीन वर्षदेखि यो धानको उत्पादन भइरहेको छ। गहुँ थन्काएपछि रोपिने यो चैते धानको विशेषता राम्रो फल्ने, झार्न सजिलो हुने र झट्ट हेर्दा राम्रो चामल देखिने छन्।
‘तर यसको स्वाद उपभोक्ताले मन पराएनन्। बासना नआउने मोटो चामल, चाम्रो भात हुने भनेर उपभोक्ताले मन नपराएको बुझियो,’ पौडेलले भने, ‘किसानको धान होलसेलमा खरिद गर्नेले उपभोक्तालाई बिक्री गर्न सकिएन भनेपछि अब किसानलाई यो धानको विकल्प दिनुपर्यो भनेर हामी लागेका छौं।’
पौडेलले धानको बिउ छनोट, रोग, किरा व्यवस्थापन, बजार व्यवस्थापनको विषयमा कृषिका वैज्ञानिक, प्राविधिक, किसान र मिल सञ्चालकहरूबीच अन्तरक्रिया गर्दै आएको बताए।
खैरहनीका किसान सूर्यबहादुर बोगटीले सरकारले अनुसन्धान गरेर हावा, पानीलाई उपयुक्त हुने जातको सिफारिस गरिदिनु आवश्यक भएको बताए।
‘किसानले त जे जानेको छ त्यही गर्छ, तर त्यसरी काम गर्दा व्यावसायिक हुँदैन,’ उनले भने, ‘सरकारले यो ठाउँलाई कुन जात उपयुक्त हुन्छ भन्ने कुरा अनुसन्धानमार्फत् पत्ता लगाएर हामीलाई सिफारिस गरिदिनुपर्यो। यसो गरियो भनेमात्र कृषि व्यावसायिक हुनसक्छ नत्र त दुःखमात्रै हुनेभयो।’
उनले बीउ, प्रविधिदेखि रोग, किरा लाग्दा कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारी निकायको सहयोग किसानलाई आवश्यक पर्ने बताए।
पिआर-१०१ को विकल्प चैते-५
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका वैज्ञानिक डाक्टर रामवरण यादवले नेपाली उपभोक्तलाई मसिनो चामल खाने बानी परेका कारण पिआर-१०१ जातको धान मन नपराएको पाइएको बताए।
कार्यक्रमले हालसम्म सिफारिस गरेको ८७ जातका धानका जातमध्ये पिआर-१०१ राम्रो चैते धानमा पार्ने उनले बताए।
‘तर उपभोक्ताले मन नपराएर बिक्री भएन भन्ने गुनासो देखिएपछि यहाँका किसानलाई अर्को उपयुक्त जात सिफारिस गर्नुपर्ने भयो,’ उनले भने, ‘अहिलेका लागि हामीले चैते-५ जातको धान रोप्न भनेका छौं।’
उनले चैते-५ जातको धानले उत्पादन दिन पिआरले भन्दा केही समय बढी लाग्ने भए पनि स्वाद मीठो हुने बताए।
‘नेपाली उपभोक्ताले मसिनो, बासनादार र फरर परेको चामल रोज्ने भएकाले चैते-५ उपयुक्त हुन्छ भनेका छौं,’ उनले भने।
चैते धानलाई कार्यक्रमले सिफारिस गरेको सन् २०१७ मा हो।
चितवनका किसानहरूले पनि केही वर्षदेखि यो धान उत्पादन गर्दै आएका छन्। तर अब पिआर-१०१ को विकल्पकै रूपमा चैते-५ लाई अघि सार्नुपर्ने अवस्था देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख धनबहादुर थापाले बताए।
‘किसानले मेहनत गरेर उत्पादन गरिसकेपछि त्यो उत्पादनले बजार पाउनुपर्छ, किसानले त्यसबाट फाइदा पाउनुपर्छ,’ उनले भने, ‘चैते-५ जातको धान केही वर्षदेखि उत्पादन हुँदै आएको र त्यसको बजार राम्रो देखिएकाले हामीले विकल्पका रूपमा अघि सारेका छौं।’
नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक डाक्टर सुशील सुवेदीले कुनै एक समयमा राम्रो उत्पादकत्व भएको जात सधैं उस्तै नरहने बताए।
नेपालमा कुनै समयमा असाध्यै राम्रो मानिएको हर्दिनाथ-१ र सावित्री जातको धानको उत्पादकत्व घट्दै गएको र यी धानमा रोग किराको प्रकोप वर्षेनी बढ्दो क्रममा रहेको भन्दै उनले समयअनुसार जात परिवर्तन गर्दै जानुपर्ने बताए।
चामलमा आत्मनिर्भर बन्न उत्पादकत्व
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका वैज्ञानिक डाक्टर रामवरण यादवका अनुसार नेपालमा गत वर्ष ५० अर्ब रुपैयाँको चामल आयात गरिएको छ। भारतबाट नेपालमा चामल भित्रिने क्रम वर्षेनी बढ्दो छ। उनका अनुसार वार्षिक ९ अर्ब रुपैयाँमा त धानको बिउ मात्रै आयात गरिन्छ। भारतबाट ५ अर्ब रुपैयाँको धानको भुस नेपाल भित्रिने गरेको छ।
नेपाल सरकारको लक्ष्य आगामी ५ वर्षमा देशलाई धानमा आत्मनिर्भर बनाउने छ।
बढ्दो सहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै जाँदा सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न धानको उत्पादकत्व बढाउनु पर्ने डाक्टर यादव बताउँछन्।
‘व्यावसायिक रूपमा धान उत्पादन हुने जमिन घट्दो क्रममा छ। यो अवस्थामा उत्पादन बढाउन किसानको लागत मूल्य घटाउने र उत्पादकत्व बढाउनेमा लाग्नु पर्नेछ,’ उनले भने, ‘राष्ट्रिय धान अनुसन्धान कार्यक्रमले किसानका लागि उपयुक्त हुने धानहरू सिफारिस गर्छ। प्रविधिको प्रयोग बढाउँदै उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ।’
उनले आत्मनिर्भर बन्ने लक्ष्य हासिल गर्न चैते धानको क्षेत्र विस्तार गर्नुपर्ने उनले बताए। उनका अनुसार हाल नेपालमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुन्छ। यसलाई बढाएर २ लाख ५० हजार हेक्टर पुर्याउनु पर्ने उनले बताए। करिब दुई तिहाइ जनता कृषिमा आश्रित रहेको मानिने नेपालमा खेतीयोग्य जमिनको ४७.५ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ। कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानको १५ प्रतिशत हिस्सा धानले ओगटेको छ।
कुल ग्राहस्थ उत्पादनमा धानको योगदान ५ प्रतिशत रहेको छ। तर धानको उत्पादकत्व भने दक्षिण एसियाका अन्य देशमा भन्दा नेपालमा कम रहेको यादवले बताए।
सरकारी तथ्यांकले नेपाललाई वार्षिक करिब १५ लाख मेट्रिक टन चामलको अभाव रहेको देखाउँछ।
‘नेपालमा चामलको खपतलाई हेर्दा एक जना नेपालीले एक वर्षमा १ सय ३७ केजी चामल खाने गरेको देखिन्छ, जबकी भारतमा ८० केजी र चीनमा ६५ केजीमात्रै प्रतिव्यक्ति खपत हुन्छ,’ डाक्टर यादवले भने, ‘नेपालमा चामलको प्रयोग बढी हुने भएका कारण उत्पादकत्व बढाउँदै देशलाई आत्मनिर्भर बनाउनुपर्छ।’
उनले खेतीयोग्य जमिन चक्लाबन्दी गरेर सिँचाइ, बीउ, मल, प्रविधिको प्रयोग बढाउँदै उत्पादकत्व वृद्धि गर्दै चामल प्रशोधनमा पनि ध्यान दिनुपर्ने बताए।
‘नेपालीको बानी टलक्क टल्किएको सेतो चामल प्रयोग गर्ने छ तर मानव स्वास्थ्यका लागि सेतो भन्दा खैरो चामलको महत्व बढी हुन्छ। यो कुरा उपभोक्तालाई बुझाउन सकियो भने पनि धानबाट चामल उत्पादन बढ्छ,’ उनले भने, ‘यी सबै कुरामा प्रगति गर्न सक्यौं भने पाँच वर्ष भित्रमा नेपालले विदेशबाट चामल किन्नुपर्दैन।’
पूर्वी चितवनमा कुमरोज, बछौली, कठारलगायतका ठाउँका किसानले जमिन चक्लाबन्दी गरेर खेती गर्न थालेका छन्।
कुमरोज साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष तेजप्रसाद बर्तौलाले किसान र सहकारी मिलेर कृषिलाई व्यावसायीकरण गर्न काम गरिरहेको भन्दै सरकारले अनुदान बढाएर प्रोत्साहन गर्नुपर्ने बताए।