बागलुङ नगरपालिका-८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैंचाका सुन्तला टिपेर पोखरा पुर्याए।
सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष चार लाख ५० हजार रुपैयाँ हात पर्यो। सुन्तला टिप्ने ज्याला र यातायात खर्च घटाउँदा उनले चार लाख रुपैयाँ बचत गरे।
सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबभन्दा ठूलो सुन्तला बगैंचा अनन्त खड्काको छ।
खड्काको बगैंचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ।
उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए।
'सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म पर्छ, पोखरा लगेपछि १२० रुपैयाँसम्ममा बिक्री गरेको छु', खड्काले भने, 'यसपटक गत वर्षभन्दा एक लाख रुपैयाँ बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा कीराले झारेका कारण केही समस्या भयो।'
खड्काले बगैंचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाए।
यस्तै, सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै दुई लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्।
उनले गत वर्षको तुलनामा औसा कीराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिए।
'गत वर्ष साढे दुई लाख रुपैयाँ हात परेको थियो, नयाँ उत्पादन दिने बिरूवासहित यस वर्ष तीन लाख रुपैयाँ हात पार्ने लक्ष्य हो, तर औसा कीरा र वर्षातको समयमा फूल झर्दा दुई लाख रुपैयाँको मात्रै सुन्तला उत्पादन भएको छ', खड्काले भने।
खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्।
उनीहरूले यस वर्ष झण्डै साढे दुई करोड रुपैयाँको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन्। सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिए।
'सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरूवा थप भएका छन्', वडाध्यक्ष जिसीले भने, 'बागलुङ नगरपालिकाले उब्जानी अनुदानवापत यो आर्थिक वर्षमा सिगानाका किसनाले ६ लाख रुपैयाँ अनुदानसमेत पाएका छन्, नयाँ बिरूवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक पाँच करोड रुपैयाँको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यस वर्ष साढे दुई करोड रुपैयाँ रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन्।'
खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ।
यस वर्ष तीन करोड रुपैयाँको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा कीराको समस्याले ५० लाख रुपैयाँको उत्पादन घटेको छ। सिगानाका सयभन्दा बढी किसनाको बगैंचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन्। उनीहरूले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन्।
यस वर्ष बागलुङ नगरपालिकाले दुई हजार सुन्तलाका बिरूवा र दुई हजार कागतीका बिरूवा अनुदानमा वितरणसमेत गरेको थियो।
सिगाना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समेत समावेश भएको छ।
सिगानामा कोरोनाअघि वार्षिकरूपमा सुन्तलाको प्रवर्द्धन र विकासका लागि सुन्तला उत्सवसमेत आयोजना हुँदै आएको थियो। कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुनसकेको छैन। सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यसको माग उच्च छ। रासस