च्याउ उत्पादक किसान संघले भारतलगायत विभिन्न मुलुकबाट नेपाल भित्र्याइने च्याउको आयात रोक्न माग गरेको छ।
बाहिरबाट आयात भएका च्याउमा नसड्ने विषादीयुक्त रसायन प्रयोग गरिएको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने संघका अध्यक्ष सन्तोष कार्कीले बताए। ‘हामीले उत्पादन गरेको च्याउ एक दिन पनि टिक्दैन। बाहिरबाट ल्याएको च्याउ कसरी चार-पाँच दिनसम्म फ्रेस देखिन्छ त?,’ उनले प्रश्न गरे।
च्याउ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्य रहे पनि सरकारले ध्यान नदिँदा नेपाली किसानहरू मारमा परिरहेको उनको भनाइ छ।
‘आफ्नै किसानलाई प्रोत्साहन गर्नुपर्ने सरकारले बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘च्याउ खेतीका लागि आवश्यक उपकरण र बिउ खरिदमा पनि सरकारले सहुलियत दिएको छैन। कतिपय सामानहरू त हामी ६० प्रतिशतसम्म भन्सार तिरेर ल्याइरहेका छौं।’
भारत सरकारले किसानहरूलाई अनुदान दिएको र प्रविधिको प्रयोगमार्फत न्यून लागतमा च्याउ उत्पादन गरिरहेको भए पनि नेपालमा सरकारले च्याउ उत्पादक किसानलाई सहुलियत नदिएको उनले गुनासो गरे। परम्परागत शैलीमा च्याउ खेती गरिरहेका नेपाली किसानहरूले भारतीय किसानसँग प्रतिस्पर्धा गर्न नसक्ने समेत उनले औंल्याए। सरकारले च्याउ उत्पादनलाई अन्य कृषिजन्य उत्पादन जसरी नै प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
‘च्याउका आइटमलाई सरकारले छुट दिएको छैन। ६० प्रतिशतसम्म भन्सार तिर्नु परेको छ। कि च्याउलाई कृषि होइन भन्न पर्यो, होइन भने सहज बनाइनु पर्यो,’ उनले सेतोपाटीसँग भने।
५० हजार किसानले व्यवसायिक रूपमा च्याउ खेती गरिरहेको संघले जनाएको छ। यसमा ५० हजारकै हाराहारिमा श्रमिकहरू प्रत्यक्ष रोजगारीमा जोडिएको संघको भनाइ छ। संघका अनुसार नेपालमा वार्षिक तीन अर्ब बढीको च्याउको कारोबार हुने गरेको छ।