भक्तपुर, मध्यपुर ठिमीका सुनिल त्वायनाले म्यानपावर कम्पनीमा काम नगरेका भए सायद आज उनी कुनै खाडी मुलुकमा घोटिइरहेका हुन्थे। रोजगारीका लागि विदेश जाने सोच पनि बनाइसकेका थिए।
तर चार वर्षअघि म्यानपावरमा उनले जे देखे, त्यसले उनलाई विदेश जानबाट रोकिदियो।
'मेडिकल रिर्पोट झुटो बनाइदिने, दलालले पैसा खाइदिने, एउटा काम भनेर अर्को काममा लगाइदिने हुन्थ्यो,' उनले म्यानपावरमा काम गर्दाको अनुभव सुनाए।
यति देखेर मनमनै विदेश नजाने निर्णय गरिसकेका थिए उनले। त्यहीँ माथि झुटो काम गर्दा पुलिसको फन्दामा परिन्छ भन्ने डरले खान थाल्यो। अनि दुई महिनामै काम छोडिदिए।
'प्रायः म्यानपावर सञ्चालकलाई पक्राउ गरेको सुनिन्थ्यो। डरले छोडिदिएँ। त्यस्तो काम गर्न मनै लागेन,' उनले भने।
हुँदाखाँदाको जागिर छाडेपछि सुनिललाई के गरौं र कसो गरौं भयो। पहिले उनी होटलमा काम गर्थे। त्यसमा फर्किन मन थिएन। प्लम्बरको काम पनि गरेर अघाइसकेका थिए।
'बिरामी हुँदा पनि जान पर्ने, तलब पनि धेरै नहुने भएकाले प्लम्बरको काम गाह्रो थियो,' उनले भने, 'त्यो काम मात्रै गरेर घर परिवार पाल्न सकिने अवस्था पनि भएन।'
यता उनकी श्रीमती पूजाले पनि बच्चा भएपछि जागिर छाडेकी थिइन्। पहिले उनी निजी स्कुलमा पढाउँथिन्।
श्रीमतीको जागिर नभएपछि घरखर्च बेहोर्ने सबै भार सुनिलमा थियो। सन्तानको भविष्यका लागि पनि केही दिगो सोच्नुपर्ने भयो।
यहाँ भनेजस्तो जागिर नहुने, विदेशको दुःख बुझिसकेका थिए।
के गर्ने भनेर सरसल्लाह गर्दा पूजाका दिदीभिनाजुले उनीहरूलाई सुझाए- च्याउ खेती गर्ने कि!
पूजाका दिदीभिनाजु पहिल्यैदेखि च्याउ खेती गर्थे। उनीहरूको अनुभव र सल्लाहले च्याउ खेती गर्न नजाने पनि सुनिल र पूजालाई हौसला मिल्यो। सुनिलले आँट बटुले, पूजाले सक्दो सघाउने भरोसा दिलाइन्।
'बालबच्चा हेरेर पनि कृषि काममा दुवैले समय दिन सकिन्छ भनेर पनि च्याउ खेती गर्ने सोच्यौं,' ३२ वर्षीय सुनिलले भने।
च्याउ खेती गर्ने तरिका त दिदीभिनाजुले सिकाइदिन्थे। लगानी गर्ने पुँजी भने थिएन। त्यसैले नजिकैको सहकारीबाट १० लाख ऋण निकाले। च्याउ खेतीका लागि चाहिने सामान किने। मध्यपुर ठिमी–१३ मा साढे दुई रोपनी जग्गा भाडा लिएर ०७४ मंसिरबाट उनीहरूले कन्य च्याउ (पत्ते) लगाउन सुरू गरे।
लगाएको साढे दुईदेखि तीन महिनामा च्याउ बिक्री गर्न योग्य भयो। स्थानीय बजारमा च्याउ त्यति धेरै बिक्थेन। दिदीभिनाजुकै सल्लाहमा सुनिलले कालिमाटी तरकारी बजारमा लगे। कालिमाटीमा च्याउ सबै बिक्यो, तर सोचेजति मूल्य पाएनन्।
'पहिला त च्याउको मूल्य राम्रै थियो। त्यतिखेर भने घटेको रहेछ,' उनले भने, 'किलोको १५० देखि १८० रूपैयाँसम्म थियो।
मूल्य कम पाए पनि सबै बिकेपछि उनलाई च्याउखेतीमा राम्रै हुन्छ भन्ने लाग्यो। अनि चार वर्षदेखि च्याउकै भरमा घर चलाइरहेका छन्।
उनी भन्छन्, 'विदेश जानभन्दा यहीँ काम गर्न जाती, आफ्नो परिवारसँग दुःखसुःख साटेर बस्न त पाइन्छ।'
अहिले फार्ममा सुनिल र पूजा दुवै खट्छन्। फार्म रेखदेखका लागि बालबच्चा लिएर आफैं बसेका छन्, सहयोगी छैनन्। सिजनका बेला भने दैनिक ज्यालादारीमा कर्मचारी राख्ने गरेको सुनिल बताउँछन्।
च्याउ सबै सिजनमा फल्ने हुनाले उनीहरू सधैंजसो फार्ममै व्यस्त हुन्छन्। तर गर्मीमा कीरा लाग्ने र जाडोमा चिसोले अलि ढिला उम्रिने समस्या छ। सुनिलका अनुसार च्याउ गर्मी महिनामा लगाएको ३० दिनमै उम्रिन्छ भने जाडोमा ४० देखि ४५ दिनसम्म लाग्छ।
'हामीले फार्ममा एसी राख्न सकेका छैनौं। एसी राख्नेकामा त ३०–३५ दिनमै पनि उम्रिन्छ,' उनले भने।
उनीहरूले वर्षमा तीन/चार लट च्याउ बेच्छन्। बजार बढेका बेला पर्यो भने एकपटकमा ५० हजार रूपैयाँभन्दा बढी आम्दानी हुन्छ। समग्रमा खर्च कटाएर वार्षिक आम्दानी दुई-तीन लाख रूपैयाँ पुग्छ। च्याउको आम्दानीले घर धानिए पनि बचत गर्न नसकिएको पूजा बताउँछिन्।
उनका अनुसार जग्गाको भाडा वार्षिक ५० हजार रूपैयाँ छ। सहकारीबाट झिकेको दस लाख ऋणको ब्याज १६ प्रतिशतले बुझाउनु पर्छ। सरकारले बैंकबाट ऋण दिए आफूहरूलाई सहज हुने उनले बताइन्।
'सरकारले कृषि गर्नेलाई सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने सुनेका थियौं, तर हामीले पाएनौं,' पूजाले भनिन्, 'कमाएको पैसा ब्याज तिर्दै ठिक्क हुन्छ।'
बैंकबाट ऋण झिक्न उनीहरूले कोशिस नगरेका होइनन्। धितो नै नभएकाले ऋणबाट बञ्चित भएको उनीहरू बताउँछन्।
काम थालेको चार वर्ष भए पनि सुरूमा केही अलमल र पछि कोरोनाका कारण गत वैशाखमा मात्रै उनीहरूले सुप्रित मसरूम तथा कृषि फार्म दर्ता गरेका हुन्। उसो त कोरोनाअघि उनीहरूलाई ब्याज तिरेरै पनि घर धान्न गाह्रो थिएन।
'पहिलो लकडाउनमा त हाम्रो केही काम नै भएन। दोस्रोमा उत्पादन त गर्यौं तर मूल्य त्यति राम्रो आएन,' उनले भनिन्, 'महामारीकै कारण फार्मको आम्दानीले मात्र घर चलाउन गाह्रो भयो।'
अहिले सुनिल खर्च सहज होस् भनेर प्लम्बिङको काम पनि गर्न थालेका छन्। बैंकले बिना धितो कृषि ऋण दिए फार्म विस्तार गर्ने सोच छ। त्यस्तै अहिले सिताके जातको च्याउको माग राम्रो भएकाले सरकारले ऋण दिए, थप जग्गा भाडा लिएर सिताके लगाउने योजना पनि बुनेका छन्।
दुःखै भए पनि आफ्नै देशमा बसेर केही गर्छु भन्नेहरूलाई सरकारको सहयोग खाँचो पर्ने सुनिलको भनाइ छ।
'विदेश नगइ यहीँ केही गर्न चाहने युवालाई सरकारले किन सहयोग गर्दैन,' उनी भन्छन्, 'हामी त दुःख गरेर भए पनि आफ्नै देशमा बस्न चाहन्छौं। महामारीको चपेटामा परेका हामीजस्ताको बाटो सहज बनाइदिन सरकारले किन पहल गर्दैन?'