बजारमा कुरिलोको मूल्य चार हजार रुपैयाँ किलोसम्म पुगेको छ। केही समय अघिसम्म होलसेलमा पाँच-छ सयमा पाइने कुरिलो अहिले चार हजार पुगेको व्यापारीहरूले जनाएका छन्।
त्यस्तै पहिले बजारमा सजिलै पाइने कुरिलो अहिले अभाव भएको पनि ग्राहकहरूले जानकारी दिएका छन्।
उत्पादनको अफसिजन भएको र कोरोना भाइरस संक्रमितले खोज्ने भएकाले अहिले कुरिलोको मूल्य अचाक्ली बढेको व्यापारीहरू बताउँछन्। पोहोरसम्म खुद्रामा एक हजार रुपैयाँसम्म बिकेको कुरिलो आइतबार ४ हजार रुपैयाँ किलोमा बिक्री गरेको चाबहिल तरकारी बजारका एक व्यापारीले जानकारी दिए।
कालिमाटी बजारमै मूल्य बढेकाले महँगोमा बेचिएको उनको भनाइ छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ पनि कुरिलोको अफसिजन भएकाले महँगिएको बताउँछन्।
‘अहिले कुरिलोको सिजन होइन। कोभिडले माग पनि बढी छ। त्यही भएर मूल्य बढेको हो,’ उनले भने।
श्रेष्ठका अनुसार कुरिलो महँगिएपछि कालिमाटी बजारमा ठूलो परिमाणमा कुरिलोको कारोबार भएको छैन।
‘दुई-चार मुठा ल्याएर बेच्छन्। पहिलेजस्तो धेरै आउँदैन,’ उनले भने, ‘अहिले यसको मूल्य हामीले अपडेट पनि गरेका छैनौं।
उनले भनेजस्तै बजारको वेबसाइटमा कात्तिकदेखि कुरोलोको होलसेल मूल्य अपडेट भएको देखिँदैन।
समितिको तथ्यांक हेर्दा गत चैतमा कालिमाटी बजारको होलसेलमा प्रतिकिलो ५ देखि ६ सय रुपैयाँ कारोबार भएको कुरिलो जेठमा ८ देखि ९ सय रुपैयाँसम्म पुगेको थियो।
असारमा घटेर प्रतिकिलो ४ देखि ५ सय रुपैयाँ पुगेको कुरिलो असोजसम्म पुग्दा प्रतिकिलो नौ सयदेखि एक हजार रुपैयाँ पुगेको थियो।
गत वर्ष माघ दोस्रो साता कुरिलोको होलसेल मूल्य कालिमाटीमा प्रतिकिलो २ सय ८० रुपैयाँसम्म थियो। एकवर्षमै कुरिलोको मूल्यले आकाश छोएको हो।
चितवनमा डेढ विगाह जमिनमा कुरिलोको खेती गर्दै आएका सुमन सुवेदी कोरोना महामारीपछि कुरिलोका दिन फिरेका बताउँछन्।
कोरोना सुरू हुनुअघि उनले २ सय रुपैयाँ प्रतिकिलोसम्म कुरिलो बेचेका थिए। कोरोना सुरू भएपछि भने कुरिलोको मूल्य बढ्दै गएर प्रतिकिलो १ हजारसम्म पुगेको उनले बताए।
मंसिरदेखि माघसम्म कुरिलो उत्पादन नहुने र अहिले कोभिडका कारण पनि माग बढेकाले मूल्य बढेको उनको भनाइ छ।
‘सिजनमा राम्रो उत्पादन हुन्छ। असोजदेखि कम उत्पादन हुँदै जान्छ। फागुनबाट नयाँ उत्पादन सुरू हुन्छ,’ उनले भने।
कुरिलोको तरकारी खाए कोरोनासँग लड्न सहयोग पुग्ने भन्दै मानिसहरू कुरिलो खोजिरहेका छन्।
चितवनको भरतपुरमा केही समयअघि फार्मेसी पसलमै कुरिलो बेच्न राखिएको थियो।
चितवन मेडिकल कलेजनजिकै रहेको स्मार्ट फार्मेसीका सञ्चालक कमलेश यादवले पनिे महामारीका बेला कुरिलो पनि बेच्न थालेका थिए।
कोरोना संक्रमितका लागि औषधी बुझ्न आउनेले कुरिलोबारे पनि सोध्न थालेपछि उनले कुरिलो बेचेका हुन्।
चितवन मेडिकल कलेजका डाक्टर वसन्त शर्माले कुरिलो चिल्लो पदार्थविहीन, कोलेस्ट्रोल र सोडियम तत्वरहीत, शक्तिदायक, भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थ भएकाले रोग प्रतिरोधी क्षमता बढाउनमा उपयोगी हुने बताए।
उनकाअनुसार यसमा मिनरल र खनिजको मात्रा बढी हुन्छ। विगतमा पनि आफूले सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धा, क्यान्सर, कलेजोका बिरामी तथा सेतो रगत कम भएका बिरामीलाई कुरिलोको झोल पिउन सुझाव दिने गरेको उनले बताए।
‘रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अहिले कोरोना भाइरससँग लडिरहेका व्यक्तिका लागि पनि कुरिलो उपयुक्त हुन्छ,’ डाक्टर शर्माले भने।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक ११ लाख ५२ हजार किलो कुरिलो उत्पादन हुने गरेको छ।
भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, नवलपुर, दाङ, बाँके, बर्दिया, गुल्मी, नवलपरासी, प्युठान, जाजरकोट लगायत कर्णालीको केही क्षेत्रसमेत कुरीलो उत्पादन हुने गरेको छ।
तीमध्ये अधिकांश स्थानीय बजारमा खपत हुन्छ भने उपत्यकाबाट नजिक रहेका जिल्लाका उत्पादन कालिमाटी बजार आइपुग्ने गर्छन्।