बेलौरी नगरपालिका-३ पडावका धम्मल चौधरी हिजोआज तरकारी खेती हेरचाहमा बिताउँछन्।
तरकारीका बिरूवा गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने, घरमै तयार गरिएको जैविक विषादी छर्कने र तयार भएको तरकारी टिप्ने र बिक्री गर्ने कार्यमै दिन बितेको उनलाई पत्तो नै हुँदैन।
‘तरकारी खेतीमै दिन बित्ने गरेको छ’, उनले भने, ‘यसमै भविष्यका सपना बुन्न थालेको छु। यसबाटै मनग्य आम्दानी हुन थालेकाले अर्को व्यवसाय गर्नेबारे सोचेको समेत छैन।’
तरकारी खेतीमा उनीसँगै उनको परिवारले समेत सहयोग पुर्याउँदै आएको छ। बाह्रै महिना तरकारी खेती गर्ने चौधरी यस क्षेत्रकै अग्रणी किसानका रूपमा परिचित छन्।
उनले दुई बिघा जग्गामा खेती गरेका छन्। खेती गरिएका पूरै जग्गा भने उनको स्वामित्वको होइन।
खेतीबाट आएको आम्दानीबाट खरिद गरिएको १० कट्ठा र पुनः स्थापन हुँदा पाइएको दुई कट्ठा जग्गा मात्रै उनको स्वामित्वमा छ।
बाँकी डेढ बिघा जग्गा वार्षिक रूपमा भाडा तिर्ने गरी लिएका छन्। पाँच वर्षदेखि निरन्तर रूपमा किसान चौधरीले तरकारी खेतीलाई व्यावसायिक रूपमा गर्दै आएका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तत्कालीन पिपलाडी गाउँपालिकाको पडावबाट हटाइएपछि बेलौरीमा पुनःस्थापन गरिँदा उनको परिवारलाई तीन दशकअघि १० कट्ठा जग्गा उपलब्ध गराइएको थियो।
उपलब्ध गराइएको जग्गामा पाँच भाइले भागबन्डा गर्दा उनका हिस्सामा दुई कट्ठा जग्गा मात्रै परेको थियो।
हिस्सामा पाइएका जग्गामा एकव कच्ची घर, शौचालय, खानेपानीको हेन्डप गाड्दा एक कट्ठा जग्गा पूरै ओगटियो। बाँकी रहेको एक कट्ठा जग्गामा उनले घरमै खानका लागि थोरै तरकारीका बिरूवा ल्याएर रोप्ने कार्य गर्दै आएका थिए।
‘तीन वर्षअघि खानकै लगाइएको गोलभेंडा अधिक उत्पादन भयो’, उनले भने,‘बजारमा लगेर बिक्री गरे। केही रकम हात लाग्यो। यसपछि व्यावसायिक रूपमा तरकारी खेती गरे आम्दानी लिन सकिन्छ भन्ने सोच आयो। यसका गर्नका लागि जग्गा थिएन। मजदुरी गरेर कमाएको केही रकम थियो। यही रकम खर्चेर छिमेकीको जग्गा भाडामा लिने निधो गरे।’
दस कट्ठा जग्गा लिजमा लिएपछि गोलभेंडा, काउली, करेला, काँक्रा लगायतको मौसम अनुसारको तरकारी खेती गरेपछि गतिलो आम्दानी हात लागेपछि दुई वर्षमै १० कट्ठा जग्गा खरिद गरेको उनको भनाइ छ।
यसपछि तरकारी खेतीका लागि नगरपालिकाकै कृषि विकास शाखा र गैरसरकारी संस्थाबाट तालिम लिएर दक्ष बनेपछि व्यावसायिक रूपमा खेती गर्दै आएको किसान चौधरीले बताए।
‘दस कट्ठा जग्गामै गत वर्ष मात्रै गोलभेँडा तरकारी खेती गरेपछि रु चार लाख आम्दानी भयो। लिजमा लिएको एक बिघा जग्गामा काउली, बन्दा, खुर्सानी, लौका, करेला, काँक्रा, हरियो साग लगायतको तरकारी खेती गरी रु सात लाख गरी रु १० लाख आम्दानी भयो’, उनले भने, ‘यस वर्ष गोलभेंडामात्रै ७० क्विन्टल बिक्री भइसकेको छ। जसबाट रु दुई लाख ८० हजार आम्दानी भएको छ। अझै खेतबारीमा १५० क्विन्टल गोलभेंडा बेच्न बाँकी रहेको छ।’
तरकारी खेती गर्दा तीन लाखदेखि चार लाख जति खर्च लाग्ने गरेकामा खर्चको तुलनामा आम्दानी चार गुणा बढी हुने गरेको उनको अनुभव छ।
धान र गहुँ घरका लागि खान पुग्ने गरी चारदेखि पाँच कट्ठामा लगाउने गरेका उहाँले सो खेती भने बाह्रै महिना गर्दै आएका छन् ।