पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७, मैनादीका जनक आचार्य पेसाले सामुदायिक विद्यालयका शिक्षक हुन्। घरनजिकै रहेको प्रभात माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदमा छन्। यो पेसामा उनले १७ बिताइसके।
दिनभरि स्कुलमा खटिने आचार्य बिहान–बेलुका र बिदाको दिनमा कृषि कर्ममा व्यस्त हुन्छन्। उनले गाउँमै कुखुरापालन गरेको चार वर्ष भयो। सुन्तला र गोलभेँडा खेती पनि छ। खेतीपातीको काममा श्रीमती सञ्जिता ज्ञवालीले सघाउँछिन्।
एक वर्षअघिदेखि भने आचार्य दम्पत्तीले अकबरे खुर्सानी खेती पनि थालेका छन्।
नेपालमा पिरो चाउचाउको उत्पादन बढेपछि त्यसका लागि चाहिने खुर्सानी खेतीमा लागेको उनी बताउँछन्।
आचार्यले भने, 'रूपन्देहीको यशोदा फुड्सले पिरो चाउचाउ करेन्टको उत्पादन थालेपछि मैले खुर्सानी खेती सुरू गरेको हुँ।'
यो पनि पढ्नुहोस्ः पिरो 'करेन्ट' को तड्का- एक वर्षमा चार अर्बको कारोबार
आचार्यले गत वर्षदेखि मात्र व्यावसायिक रूपमा खुर्सानी खेती सुरू गरेका हुन्। पोहोर माघमा इलाम र भोजपुरबाट खुर्सानीको बिउ ल्याए। आफ्नो केही रोपनी जमिन छ। प्रतिरोपनी वार्षिक छ सय रूपैयाँ बुझाउने गरी दुई सय रोपनी जग्गा लिजमा लिए।
आफ्नो र लिजमा लिएकोसमेत गरी एकै पटक उनले १२५ रोपनीमा अकबरे खुर्सानी लगाए।
'सबैमा जमिनमा खेती गर्ने भनेर दुई सय रोपनी लिजमा लिएँ। तर दस वर्षदेखि बाँझो रहेको जग्गा फोरेर खेती लगाउन सकिएन,' उनले भने।
आचार्यका अनुसार १२५ रोपनीमा लगाउँदा प्रतिरोपनी सरदर एक क्विन्टल (सय किलो) खुर्सानी उत्पादन भयो। करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले प्रतिकिलो २९० रूपैयाँको दरले ३५ लाख रूपैयाँको पाकेको आलो खुर्सानी किनिदियो।
त्यस्तै बिउका लागि १५ किलो बियाँ बनाए। यो तयारी बियाँ प्रतिकिलो २५ हजार रूपैयाँमा बेचे। उनले उत्पादन गरेको अकबरेको धेरैजसो बिउ स्थानीय किसानले नै किने। केही भने लमजुङ र कैलालीसम्म पुगेको उनी बताउँछन्। सुकेको खुर्सानी पनि उनले किलोको दुई हजार रूपैयाँमा २५ किलो बेचे।
'यो एक वर्षमै मैले चालीस लाख रूपैयाँको खुर्सानी बेचेँ,' आचार्यले उत्साहित हुँदै सुनाए।
जमिनको भाडा, खनजोत, बिरूवा रोप्ने, मलजल र गोडमेल, बाली उठाउने लगायत काममा १७ लाख रूपैयाँ खर्च भयो। सबै खर्च कटाउँदा वर्ष दिनमा उनले अकबरेबाट करिब २३ लाख रूपैयाँ कमाइ गरेका छन्।
त्यसैले यस वर्ष उनी आफूसँग भएको सबै जमिन उपयोग गरेर खुर्सानी खेती गर्ने तयारीमा छन्। उनी मात्र होइन, यो गाउँमै अहिले खुर्सानी खेती गर्ने क्रम बढेको छ।
आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट अनुदान पनि पाएका थिए।
'सिँचाइका लागि पाइप र यान्त्रिकीकरणका लागि ५ लाख ८० हजार रूपैयाँ अनुदान पाएका थियौं,' आचार्यले भने, 'दुई जना कर्मचारीको सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने रकम कृषिकर्मी कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराएको छ।'
आचार्यले खुर्सानी खेतीमा पहिलो वर्ष सुरूका छ महिना मासिक तलब दिएर पाँच कामदार राखेका थिए। अहिले दुई जना नियमित काम गर्छन्। खुर्सानी टिप्ने र रोप्ने बेला भने आवश्यकताअनुसार मान्छे थप्नुपर्छ। खुर्सानी टिप्न प्रतिकिलो १५ रूपैयाँ पारिश्रमिक दिएको उनी बताउँछन्।
उनले गत वर्ष फागुनमा बिउ जमाएर उमारेको बेर्ना चैतको पहिलो सातादेखि असारको पहिलो सातासम्म रोपे। रोपेको चार महिनामा फल्न सुरू गर्यो। माघको अन्तिम सातादेखि टिप्न थाले। गत वर्ष लगाएको बिरूवा अहिले कटिङ गरिएको छ। अब पलाएको बोटमा चैतदेखि फल लाग्न सुरू हुन्छ।
आचार्यका अनुसार एकपटक लगाएको बोट कटिङ गरेर पाँच वर्षसम्म उत्पादन लिन सकिन्छ।
'गत वर्ष मात्रै खेती सुरू गरेका हौं, हामीलाई पनि धेरै अनुभव छैन,' उनले भने, 'कटिङ गरिरहेपछि एउटै बोटले चार–पाँच वर्ष उत्पादन दिन्छ भन्ने थाहा पाएका छौं।'
बगनासकाली गाउँपालिकाका कृष्ण भुसालले पनि पाँच रोपनी जग्गामा अकबरे खुर्सानीको व्यावसायिक खेती गरेका छन्। बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थामार्फत स्थानीय बासिन्दा २३ घरपरिवारले करिब सय रोपनी जग्गामा अकबरे र सय रोपनीमा कुरिलो खेती लगाएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालयमार्फत बगनासकालीको वडा नंं ८ र वडा नं. ९ मा चक्लाबन्दी गरेर खुर्सानी खेती सुरू भएको भुसालले बताए।
परियोजनाले चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ र यान्त्रिकीकरणमा सहयोग गरपछि किसानहरू खुर्सानी खेतीमा आकर्षित भएका हुन्। चक्लाबन्दी कार्यक्रममा समावेश गरिएको जग्गामा किसानहरूले एकै किसिमको खेती लगाउँछन्।
भुसालले पाँच रोपनी जग्गामा पाँच हजार बोट खुर्सानी लगाएका छन्। एकै सिजनमा ३५ क्विन्टल उत्पादन गरेको उनले बताए।
'थोरै जग्गामा खेती गरेकाले स्याहार गर्न सजिलो भयो, उत्पादन पनि राम्रो भयो,' उनले भयो।
लामो समयदेखि उनले मकै र आलु खेती गरिरहेका थिए। त्यसबाट लाभ लिन सकेका थिएनन्। तर खुर्सानी खेतीबाट निकै राम्रो आम्दानी भएको उनी बताउँछन्। पाँच रोपनी जमिनको आलो खुर्सानीबाटै उनले नौ लाख ८० हजार रूपैयाँ आम्दानी गरे। दस किलो बिउ पनि उत्पादन गरेका छन्।
भुसालका अनुसार सहकारीमा आबद्ध हरेक किसानले सरदर तीस क्विन्टल उत्पादन गरेका छन्। यी किसानको उत्पादन बिक्रीको प्रबन्ध पनि सहकारी संस्थामार्फत हुन्छ। चाउचाउ उद्योगले प्रतिकिलो २९० रूपैयाँमा खुर्सानी किन्न सहकारी संस्थाले सम्झौता गरेको छ। सहकारीले किसानलाई प्रतिकिलो २८० रूपैयाँ बुझाउँछ। व्यवस्थापकीय खर्च र ढुवानी बापत सहकारीले किसानबाट प्रतिकिलो दस रूपैयाँ लिन्छ।
भुसाल भन्छन्, 'पहिले बाँदर लागेर मकै, आलु केही फलाउन नसकेर जमिन बाँझो छाडेका थियौं। अहिले त्यही जग्गामा एक रोपनीबाटै वर्षमा दुई लाखभन्दा बढीको खुर्सानी उत्पादन भयो।'
आगामी दिनमा अरू किसानलाई पनि समेटेर खुर्सानी खेती बढाउने योजना रहेको उनले बताए।
चक्लाबन्दी कार्यक्रममा नसमेटिएका किसानले पनि खुर्सानी खेती सुरू गरेका छन्। बनगासकालीमा चक्लाबन्दी बाहिरका ३६ घरपरिवारले खुर्सानी खेती गरेका उनले जानकारी दिए।
मैनादीका कृष्ण भट्टराई र बराङदीका कृष्ण बस्याल पनि धेरै खुर्सानी उत्पादन गर्ने किसान हुन्। उनीहरू सामूहिक रूपमा सुन्तला, कुरिलो र खुर्सानी खेतीमा लागेका छन्।
मदनपोखराका किसान उमानाथ घिमिरे ससानो परिमाणमा खेती गर्ने किसानले उत्पादन गरेको खुर्सानी संकलन गरेर चाउचाउ उद्योगमा पुर्याउँछन्। उनी आफू भने च्याउ खेती गर्छन्। गत वर्ष आफू एक्लैले विभिन्न गाउँबाट ७५ लाख रूपैयाँको खुर्सानी संकलन गरेर उद्योगमा पुर्याएको उनले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पाका प्रमुख दीपक भट्टराईका अनुसार पाल्पामा करिब आठ सय रोपनी जग्गामा अकबरे खुर्सानीको व्यावसायिक खेती भएको छ।
माथागढी, बगनासकाली, तिनाउ र रिब्दिकोट गाउँपालिका तथा तानसेन नगरपालिकामा पनि खुर्सानीको व्यावसायिक खेती भएको भट्टराईले बताए। माथागढीमा दुई सय रोपनी, बगनासकालीमा १६० रोपनी, तिनाउमा दुई सय रोपनी, रिब्दिकोटमा दुई सय रोपनी र तानसेनमा करिब ५० रोपनीमा खुर्सानी खेती छ।
पहिलो वर्ष खुर्सानी खेतीमा धेरै किसान नरहे पनि यस वर्ष एक हजार जति किसानलाई आबद्ध गराउने योजना रहेको पनि भट्टराईले जानकारी दिए। गत वर्ष करिब एक सय किसानले कार्यालयसँग समन्वय गरी व्यावसायिक रूपमा खेती गरेका थिए। ती किसानबाट बिरूवा लगेर खेती गर्ने किसानबारे भने जानकारी नरहेको उनको भनाइ छ।
कार्यालयले खुर्सानी खेती गर्न चाहने किसानलाई सिँचाइ, यान्त्रिकीकरण, नर्सरी व्यवस्थापन, गोडमेल मलजल, रोग नियन्त्रण लगायतको तालिम पनि दिने गरेको छ।
यस वर्ष रिब्दिकोट गाउँपालिकाले अकबरे प्रवर्द्धन कार्यक्रम गरेको छ। भट्टराईका अनुसार कार्यालयले चक्लाबन्दीमा खेती गर्ने किसानलाई नर्सरी व्यवस्थापन, सिँचाइ र मेसिनको लागतमा सहयोग गर्दै आएको छ। कार्यालयले गत वर्ष केही किसानलाई खुर्सानी खेती अवलोकनका लागि इलाम र भोजपुर लगेको थियो।
'प्राविधिक ज्ञानको कमी र बाँझो जमिन खनजोत गरेर खेती गरिएका कारण पहिलो वर्ष धेरै आम्दानी हुन सकेन। अब आउने वर्षहरूमा बढ्छ,' परियोजना प्रमुख भट्टराईले भने, 'राम्रो रेखदेख र स्याहारसुसार गर्न सके एक बोटमा एक किलोदेखि साढे किलोसम्म खुर्सानी फल्छ।'
उनका अनुसार एक रोपनी जग्गामा एक हजार बोट लगाउन सकिन्छ। यस हिसाबले एक रोपनीमा कम्तीमा एक हजार किलो खुर्सानी फल्छ। यसै पनि पहाडी बस्तीहरू खाली हुँदै गएका छन्। बाँदरको पिरले खेती गर्न नसकेर जमिन बाँझै रहन थालेको छ। यस्तो खुर्सानी, कुरिलो र कागतीजस्ता खेती उपयुक्त विकल्प हुने भट्टराईको भनाइ छ।
पाल्पाको चिसो हावापानी र भिरालो जमिन खुर्सानी खेतीका लागि उपयुक्त रहेकाले किसानलाई यसतर्फ प्रोत्साहित गरिएको उनले बताए।
जिल्लामा खुर्सानीको उत्पादन बढ्दै जाँदा थप बजार खोजी गर्न किसानहरूलाई भट्टराईको आग्रह छ। सबै किसान एउटै मात्र उद्योगमा निर्भर नरहन र खुर्सानीको पेस्ट, धूलो वा अचार बनाएर विदेश पनि निर्यात गर्न उनको सुझाव छ।