त्यति बेला नौकट्टी नामले चिनिने हालको तिलोत्तमामा पर्ने ड्राइभर टोल, शंकरनगर, मणिग्राम, शान्तिनगर लगायत क्षेत्रमा वन फँडानी गरी बस्ती बस्ने क्रम चलेको थियो।
रघुनाथ गुप्ता पुरानो बटौली बजारमा घ्यू र कपडाको व्यापार गर्थे। किन हो कुन्नि, व्यापार सुस्ताउँदै गयो। रघुनाथ विकल्प खोज्दै थिए। उनी २०२२ सालमा बटौलीको व्यापार छाडेर ड्राइभर टोलमा बसाइँ सरे।
'वन फँडानी गरेर प्राप्त जग्गाको झाडी र बुट्यान फालेर कमाउन सक्ने जग्गा ओगट्न सकिन्थ्यो,' रघुनाथका अन्तरे छोरा सुरजले ऊ बेलाको कुरा सुनाए, 'बुवाले पनि त्यसै गर्नुभयो। अनि त्यो जमिनमा बिरूवाको नर्सरी सुरू गर्नुभयो।'
साढे पाँच दशक पहिलेको कुरा। अहिलेजस्तो रंगीचंगी फूल र हरिया बिरूवाको नर्सरी बनाउने चलन थिएन। रघुनाथले काउली, बन्दा, टमाटर, घिरौंला, लौका, काँक्रा, फर्सी, तितेकरेला, प्याज लगायत तरकारीको नर्सरी बनाए। बिरूवा बेच्न थाले। किसानहरू रघुनाथकै नर्सरीबाट बिरूवा किन्थे।
रघुनाथ नर्सरीमै रमाउन र कमाउन थाले। बुटवल–भैरहवा सडक खण्डमा राजमार्गसँगै रहेको उनको घर वरिपरि विभिन्न थरीका मौसमी फूलले बाह्रै महिना रंगीचंगी देखिन्थ्यो। ग्रीन प्लान्टका रूपमा चिनिने विभिन्न बिरूवाले बगैंचा आकर्षक बनाएका थिए।
मानिसहरूले आफ्ना घर वरिपरि सयपत्री र मखमली मात्र फूल रोप्थे। बगैंचा नै बनाउने चलन भने थिएन। नेपाली सेनाका ब्यारेक, अञ्चलाधीश कार्यालय र जिल्लाका अन्य कार्यालयमा मात्रै बगैंचा हुन्थे।
'हाम्रो बगैंचा देखेर सरकारी कार्यालयका हाकिमले बुवासँग बिरूवा माग्थे,' सुरजले भने, 'सुरूमा मागेर लैजानेले पछि किन्न थाले।'
रघुनाथले २०४० सालमा तरकारीसँगै फूलको नर्सरी सुरू गरे। यसरी २०२२ सालमा तरकारी बिरूवाबाट सुरू भएको गुप्ता नर्सरी अहिले तिलोत्तमाको ड्राइभर टोलमा मात्रै होइन, तिलोत्तमाकै कफी कम्पनी, ओमसतियाको ठुटीपिपल, भैरहवा र पाल्पाको प्रभासमा पनि विस्तार भएको छ।
भैरहवामा पाँच कठ्ठा र ड्राइभर टोलमा साढे छ कठ्ठा जग्गामा बिरूवा बिक्री केन्द्र छ। कफी कम्पनीमा लिजमा लिएको दुई बिघा जग्गामा १०–१२ वर्ष पुराना बिरूवाको नर्सरी छ। ठुटीपिपलमा दुई बिघा मौसमी फूलको भण्डारणस्थल र चार–पाँच वर्ष उमेरका बिरूवाको नर्सरी छ।
हाल ओमसतियामै नर्सरी विस्तारका लागि थप डेढ बिघा जग्गामा तारबार हुँदैछ। पाल्पाको प्रभासमा १३ रोपनीमा बनेको नर्सरीमा बिरूवा उमार्ने काम हुन्छ।
यसरी वन फाँडेर नर्सरी हुर्काएका रघुनाथको केही वर्षअघि निधन भयो। उनले सुरू गरेको नर्सरी छोराहरूले सम्हाले। उनका छ छोरा र नातिसहित २५ जनाको परिवार नर्सरी सञ्चालनमा सक्रिय छ।
जेठा विनोद ड्राइभर टोलको बिक्री केन्द्र हेर्छन्। यहाँबाट बुटवल, तिलोत्तमा र छिमेकी जिल्लाका ग्राहकका लागि मौसमी, घर तथा बगैंचा सजावटका फूल र फलफूलका बिरूवा बिक्री हुन्छ। विनोदले कोरिया गएर दुई वर्ष (२०४८ सालमा) नर्सरी सञ्चालनको काम सिकेका छन्। २०५० सालमा माइला शम्भु पनि कोरिया गए। उनी त्यहाँका नर्सरीमा छ वर्ष काम सिकेर आएका हुन्।
साइँला राजेश पाल्पाको काम सम्हाल्छन् भने काइँला राजेन्द्र भैरहवाको बिक्री केन्द्र। व्यवस्थापनमा स्नातक सकेका अन्तरे सुरज कफी कम्पनी र ठुटीपिपलको नर्सरी हेर्छन्, मार्केटिङ पनि गर्छन्। कान्छा अर्जुन पढ्दै छन्। काममा दाजुहरूलाई सहयोग गर्छन्।
रघुनाथले आफ्नो सोख र अनुभवले सुरू गरेको नर्सरी व्यवसाय अहिले तेस्रो पुस्ताको हातमा पुगेको छ। उनका नाति (विनोदका छोरा) अजय लन्डनबाट ल्यान्डस्केपिङमा डिप्लोमा कोर्स पूरा गरेर अहिले नर्सरीमै संलग्न छन्।
उनी पार्टी प्यालेस, रिसोर्ट, उद्योग, सरकारी परियोजना, पार्क तथा निजी निवासमा ल्यान्डस्केपिङ र बगैंचा निर्माणको काम गर्छन्। रघुनाथका अर्का एक नाति हाल अस्ट्रेलियामा कृषिसम्बन्धी पढाइमा छन्।
हजुरबुबा र बुबाहरूले अनुभवका भरमा बगैंचा बनाए पनि नाति पुस्ताले अहिले थ्रीडी डिजाइनमा बनाइरहेको अजय बताउँछन्। उनका अनुसार बगैंचा बनाउने खर्च घरजग्गाको क्षेत्रफल, डिजाइन, बिरूवा र योजनाअनुसार तय हुन्छ। घरमा साधारण बगैंचा बनाउन २०–२५ हजार रूपैयाँसम्म लाग्छ।
'हामी बिरूवाको जात र गुणस्तरमा ध्यान दिन्छौं,' अजयले भने, 'अधिकांश आफैंले उत्पादन गर्ने भएकाले कुनै कमजोरी हुँदैन। बिरूवाको गुणस्तरकै कारण निकै टाढाबाट पनि अर्डर आउँछ।'
लुम्बिनी र भैरहवाका थुप्रै पार्टी प्यालेसदेखि अधिकांश ठूला रिसोर्ट र होटलका बगैंचा गुप्ता नर्सरीले नै बनाएको हो। यहाँका धेरै सरकारी परियोजनामा पनि बगैंचा पनि बनाएको छ।
'अहिले यो क्षेत्रमा सबभन्दा धेरै काम लुम्बिनी विकास कोष र गौतम बुद्ध विमानस्थलमा भइरहेको छ। होटल र रिसोर्टसँगै निजी घरमा पनि बगैंचा बनाउने अर्डर धेरै छ,' सुरजले भने।
उनका अनुसार दाङ, बाँके, पाल्पा, कास्की, मोरङ, काठमाडौं, चितवन लगायत विभिन्न जिल्लाबाट बगैंचा बनाउने अर्डर आउँछ। अहिले भने चितवन तीन होटल र एक पार्टी प्यालेसमा काम गरिरहेका छन्। वातावरणमा प्रतिकूल प्रभाव पार्ने उद्योग र कारखानाले पनि वातावरण संरक्षणका लागि थुप्रै खर्चेर बगैंचा बनाउन थालेका सुरज बताउँछन्।
गुप्ता नर्सरी देश–विदेशमा हुने पुष्प प्रदर्शनी र प्रतिस्पर्धामा पनि अगाडि छ। यसले सन् २००३ मा स्विट्जरल्यान्डको 'इन्टरनेसनल गोलस्टार' अवार्ड पाएको थियो। हरेक पुष्प मेला-महोत्सवमा गुप्ता नर्सरीको उपस्थिति अनिवार्य जस्तै बनेको छ।
गुप्ता नर्सरीले सानाठूला गरी हजारौं बिरुवा तयार गर्छ। हाल फुल्ने र नफुल्ने गरी चार सय बढी प्रजातिका बिरूवा छन्। नर्सरीले नेपालमा नपाइने बिरूवा भारत र अन्य देशबाट ल्याउँछ। त्यसको 'मदर प्लान्ट' बनाउँछ अनि नयाँ बिरूवा उत्पादन गर्छ। ल्याएको बिरूवा सोझै बेच्दा महँगो पर्ने भएकाले नयाँ बिरूवा बनाएर बेचिने रघुनाथका जेठा छोरा विनोदले जानकारी दिए।
उनका अनुसार नर्सरीमा २०५० सालदेखिका मदर प्लान्ट छन्। ७० प्रतिशतभन्दा बढी बिरूवा तिनैबाट उत्पादन हुन्छ। बिरूवाको प्रकार, उमेर हेरेर २० रूपैयाँदेखि १२ हजारसम्म पर्छ।
आफ्ना बुबासँगै नर्सरीमा काम सुरू विनोदले यो काममा झन्डै चार दशकको अनुभव सँगालिसके। उनको अनुभवमा धेरैजसो ग्राहकले मौसमी फूल मन पराउँछन्। एकै ठाउँमा मौसमअनुसार फरक फूल फुल्ने र कम खर्चमा धेरै बिरूवा पाइने भएकाले यसको माग बढी हुन्छ।
पछिल्लो समय घरको कोठा, कार्यालय कक्ष र गाडीमा समेत सानो गमलामा राख्न मिल्ने क्याक्टस जातका बिरूवाको माग बढेको छ। विवाह, जन्मोत्सव र अन्य समारोहमा उपहारका रूपमा फूल दिने चलन पनि बढेको छ।
यसमै थप्दै रघुनाथका अन्तरे छोरा सुरजले भन, 'फुल्ने बिरूवा बासना र सौन्दर्यका लागि राम्रो मानिन्छ। हरियो बिरूवा आँखा र फोक्सोका लागि। सानो भए पनि कतिपय बिरूवाले धेरै अक्सिजन दिने र मसिनो धूलो सोस्ने भएकाले प्रयोग बढेको छ। चालीस वर्षपहिले किनेर फूल रोप्नेहरू औंलामा गन्न सकिन्थ्यो। अहिले बगैंचालाई जीवनकै अभिन्न अंग मानेर खर्च गर्न थालेका छन्। बुबाले दूरदर्शी भएर सही पेसा सुरू गर्नुभएछ जस्तो लाग्छ।'
२५ जनाको गुप्ताको संयुक्त परिवारले यही नर्सरीबाट सबै खर्च धानेको छ। त्यस्तै २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
'अहिले फूल मात्रै मासिक सरदर १६ लाख रूपैयाँको बिक्री हुन्छ,' सुरजले भने।
२०७२ साल, असोजमा भारतले नाकाबन्दी लाएपछि उनीहरू बिरूवा निर्यातकर्ता पनि बने। त्यो बेला बिरूवाका लागि गुप्ता नर्सरी भारतमै निर्भर थियो।
'आयात रोकिएपछि हामीले बिरूवा ल्याउने हिम्मत गरेनौं,' सुरज भन्छन्, 'छ महिनासम्म ल्याउन नसकेपछि बाहिरबाट आउने बिरूवा आफैं उत्पादन गर्ने योजना बनायौं।'
कोरियामा काम गरेका शम्भुलाई बिरूवा उत्पादनको ज्ञान थियो। नेदरल्यान्ड्सबाट बिउ ल्याउने र तालिम दिएर जनशक्ति तयार गर्ने योजना उनीहरूले बनाए। विभिन्न बिउसहित कम्पनीले विज्ञ पनि पठाइदियो।
विज्ञले रूपन्देहीको गर्मीमा बिउ उमार्न एयरकन्डिसनरसहितको टनेल बनाउन सुझाए। यस्तो टनेल बनाउन ६–७ करोड रूपैयाँ लाग्ने भयो। बरू तापक्रम कम हुने ठाउँमा जानु उचित हुने ठानेर उनीहरू पाल्पाको प्रभास पुगे। सुरजका उनका अनुसार रूपन्देहीको तुलनामा त्यहाँ १२ डिग्री सेल्सियससम्म तापक्रम कम हुन्छ।
'नाकाबन्दीअघि फूलका बिरूवाका लागि भारतमा भर पर्नुपर्थ्यो। अहिले उतै निर्यात गर्छौं,' सुरजले भने।
सबै तस्बिरः भगवती पाण्डे/सेतोपाटी