गणेशप्रसाद पोखरेलले व्यावसायिक गाईपालन गर्छु भन्दा उनलाई निराश बनाउनेहरू धेरै भए।
पाल्पाबाट रूपन्देही, तिलोत्तमा बसाइँ सरेका उनले पाल्पामा पनि गाईभैंसी पाल्थे। केही अनुभव भएकाले गाई पालेर राम्रो आम्दानी गर्न सक्छु भन्ने आत्मविश्वास थियो। अरूले नाक खुम्च्याए पनि आफ्नी श्रीमती विष्णु पोखरेलको साथ र हौसला भयो।
'अरूको कुराको पछि नलागी मैले गाईपालन सुरू गरेँ,' गणेश भन्छन्, 'गाईभैंसीको गोबर सोहोरेर कसले प्रगति गरेको छ भन्नेहरूलाई बेवास्ता गरेर मेहनत गरेँ।'
दुई छोराछोरीको पालन–पोषणसँगै पोखरेल दम्पती गाईपालनमा अघि बढ्यो।
यो पाँच वर्षअघिको कुरा हो।
अहिले पोखरेल दम्पतीले तिलोत्तमाको बेवरीमा सञ्चालन गरेको पोखरेल पशुपालन फर्मबाट मासिक कम्तीमा साढे दुई लाख रुपैयाँको दूध बिक्री हुन्छ।
गणेश पाल्पाको रिब्दिकोट गाउँपालिकामा जन्मे–हुर्केका हुन्। अझै पनि स्थायी ठेगाना उतैको छ। किशोरावस्थामै खेती र पशुपालनमा अभ्यस्त उनले २०५५ सालमा एसएलसी पास गरे। तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न पाएनन्। गाउँमै तरकारीको व्यावसायिक खेती थालेर आयआर्जनको बाटो समाते।
उनी तरकारी खेतीसँगै पशुपालन गर्न चाहन्थे। अझ गाईभैंसी नै पाल्न चाहन्थे। तर लगानी थिएन। यहीबीच एकाएक उनी २०६४ सालमा दुबई गए। चार वर्षपछि फर्किँदा उनीसँग १२ लाख रूपैयाँ बचत भयो।
'आफ्नै मातृभूमिमा गाईभैंसी पाल्ने मेरो अठोट झन् बलियो भयो। विदेशमा पसिना बगाएर बचाएको पैसा लगानी गरेर २०६९ सालमा गाईभैंसी पाल्न थालेँ,' उनले भने, 'कुटानी–पिसानी मिल पनि राखेँ। तरकारी खेती पनि थालेँ।'
त्यो समयको रिब्दिकोटमा तरकारीका लागि सिँचाइको के कुरा, गाईभैंसीको धित मर्ने गरी खुवाउन पनि पानी थिएन।
तरकारी र दूधका लागि बजार पनि अभाव भयो।
'जेनतेन उत्पादन गरेको तरकारी र दूध बजार पुर्याउन कठिन भयो,' गणेशले भने, 'एकातिर बजार पुर्याउनै समस्या, अर्कातिर बजार सानो, राम्रो प्रतिफल लिन सकिएन।'
पोखरेल दम्पतीले पाल्पा छाडेर रूपन्देही झर्ने निर्णय गरे। भएका गाईभैंसी र मिल बेचे। जम्मा भएको पैसा बोकेर तिलोत्तमा आए।
'सुरूमा दस लाख रूपैयाँ लगानीमा आठ वटा गाईबाट फर्म सुरू गरेका थियौं,' गणेश भन्छन्, 'अहिले लगानी थपिएर २५ लाख पुगेको छ।'
उनीहरूको गोठमा अहिले उन्नत जातका १९ वटा गाई छन्, भैंसी एउटा छ। गाई धेरै दूध दिने होलिस्टन र जर्सी जातका हुन्। गाईको सबै हेरचाह र स्याहार–सुसारमा पोखरेल दम्पती आफैं खट्छन्।
गणेशका अनुसार अहिले दस वटा गाई दुहुना छन्। समयअनुसार यी गाईबाट दैनिक सरदर १२० देखि १८० लिटरसम्म दूध उत्पादन हुन्छ। जर्सीको तुलनामा होलस्टिन जातको गाईले करिब पाँच लिटर बढी दूध दिन्छ। तर यो जातमा रोगको जोखिम बढी छ।
गाईपालन सुरू गर्दा दैनिक सय लिटर दूध बजार पठाउने गणेशको लक्ष्य थियो। अहिले बढी पठाउन सकेकोमा दम्पती खुसी छन्। अब केही महिनामा दैनिक दुई सय लिटर दूध बजार पठाउने लक्ष्य छ। यो लक्ष्य पनि चाँडै पूरा गर्नेमा उनीहरू आशावादी छन्।
चाँडै पाँच वटा गाई थप्ने योजना पनि छ उनीहरूको। तीस वटा हुँदासम्म सहयोगी नराखी आफैं खट्ने सोच बनाएका छन्।
'जति सकिन्छ बुढाबुढी मिलेर काम गर्ने हो। आफूले गरेजस्तो स्याहार अर्कोबाट हुँदैन। तलब पनि दिनुपर्यो,' गणेश भन्छन्, आफैंले काम गर्दा गाई कस्तो अवस्थामा छ, बिरामी पो छ कि, सबै थाहा हुन्छ।'
गणेशले गाईभैंसी पालन र फर्म व्यवस्थापनबारे सानोतिनो तालिम पनि लिएका छन्। केही ठाउँमा अवलोकन पनि गरे। अनुभव बढ्दै जाँदा गाई थप्दै जाने र अर्को पाँच वर्षभित्र दैनिक चार सय लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका छन्।
अहिलेसम्म उनीहरू धेरै काम हातैले गर्दै आएका छन्। दूध दुहुने र घाँस काट्ने मेसिन ल्याउने तयारी उनीहरू गर्दैछन्।
गाईवस्तुका लागि तराईमा पहाडमा जस्तो तराईमा घाँस पाइँदैन। त्यसैले गणेशले वार्षिक ७५ हजार रूपैयाँ भाडा तिरेर डेढ बिघा खेत लिजमा लिए। त्यसमा उन्नत जातको घाँस खेती गरेका छन्। डेढ बिघामा बाह्रै महिना हुर्काउन सकिने सुपर नेपियर, नेपियर फाइभ, बर्सिम, सुडान, टिओ सेन्टी, जै लगायत घाँस उनका गाईले खान्छन्।
हरियो घाँस आफैं उत्पादन गरे पनि पराल धान खेती गर्ने किसानबाट किन्नु पर्छ, दाना बजारबाट।
गणेशका अनुसार बीस वटा गाईलाई दिनको ७० किलो दाना चाहिन्छ। गाईको औषधि-उपचार, पराल र दानामा मासिक एक लाख रूपैयाँ खर्च हुन्छ। दैनिक डेढ सय लिटर दूध बेच्दा खर्च कटाएर मासिक डेढ लाख रूपैयाँ बचत गर्न सकेका छन्।
गाईपालन नै स्थायी पेसा हुने भएपछि गणेशले सामान्य उपचारका लागि पनि एउटा तालिम लिएका छन्।
'गाई सामान्य बिरामी पर्दा र थुनिलो हुँदा आफैं उपचार गर्छु, औषधि दिन्छु,' उनले भने, 'धेरै बिरामी हुँदा डाक्टर बोलाउनु पर्छ।'
उनका अनुसार सामान्यतया दैनिक उही परिमाणमा दूध उत्पादन हुने भएकाले बजारको भरपर्दो व्यवस्था गर्न सहज भएको छ। उनले एक वर्ष एउटै मूल्यमा बेच्ने गरी डेरी उद्योगसँग सम्झौता गरेका छन्। उद्योगले गोठबाट दूध लैजान्छ।
पोखरले दम्पती बिहान चार बजे नै गोठमा सक्रिय हुन्छन्। साँझ सात बजेसम्म व्यस्त रहन्छन्।
गणेशकी श्रीमती विष्णु भन्छिन्, 'किसान बुबाआमाका घरमा जन्मेर हुर्कियौं, काम गर्न गाह्रो लाग्दैन। गरेअनुसार आम्दानी पनि भएकै छ।'
गाई थप्दै जाँदा पोखरेल दम्पतीलाई केही ऋण पनि लागेको थियो। विष्णुका अनुसार अहिले महँगो ब्याजको ऋण छैन। सहुलियत ब्याजदरको पाँच लाख रूपैयाँ तिर्न बाँकी छ।
'दूधकै आम्दानीले ऋण तिर्यौं। तिलोत्तमामा एउटा घडेरी पनि किनेका छौं,' उनले भनिन्।
निरन्तरको मेहनत र लगनशीलताका कारण पोखरेल दम्पतीले पछाडि फर्केर हर्नु परेको छैन। पहिले निराश बनाउनेहरू अहिले प्रशंसा गर्न थालेका छन्।
विष्णु भन्छिन्, 'खेतीकिसानी गरेर, गाईभैंसी पालेर प्रगति गर्न सकिँदैन भन्नेहरू पनि अहिले हाम्रो काम र आम्दानी देखेर प्रशंसा गर्नुहुन्छ।'
सबै तस्बिरः भगवती पाण्डे/सेतोपाटी