कावासोती नगरपालिकाका दीपेन्द्रराज थनेतको परिवार कृषिमै निर्भर थियो। धान, गहुँ, मकै र विभिन्न तरकारी फलाएर बिक्री गर्थ्यो। खेतीको जमिन साढे पाँच बिघा थियो। थनेत परिवारले एउटा ट्र्याक्टर पनि किन्यो। त्यही ट्र्याक्टरबाट अन्यले पनि लाभ लिए।
खाँचो टरे पनि कृषिले परिवारको उन्नति भएन। दीपेन्द्रले २०५० सालतिर पढाइसँगै अर्को व्यवसायमा हात हाले। उनले केही साथीहरूसँग मिलेर ब्लक उद्योगमा लगानी गरे। समय बित्दै जाँदा यो व्यवसायले पनि राम्रो संकेत दिएन।
दीपेन्द्र केही जग्गा बेचेर कहिले काठको काममा त कहिले मोटरसाइकलका पार्टपूर्जा बिक्री गर्ने काममा लागे। त्यताबाट पनि सोचेजस्तो आम्दानी भएन।
'जता हात हाले पनि अपेक्षाअनुसार लाभ भएन,' दीपेन्द्रले भने, 'नेपालमा बसेर केही हुनेवाला छैन भन्ने निष्कर्षमा पुगेँ। अनि कामदार भिसामा दुबई गएँ।'
त्यहाँ उनले कोल्डस्टोरमा काम गरे। स्टोरले विदेशबाट ल्याइएका फलफूल र तरकारी तापक्रम मिलाएर भण्डारण गर्थ्यो। दुबईको कोल्डस्टोरमा काम गर्दा उनले कृषिका सम्भावनाहरू थाहा पाए। आफ्नो परिवारले कृषि कर्ममा गरेको दुःख सम्झे। अनि आफूले जानेको सिप आफ्नै ठाउँमा प्रयोग गर्ने संकल्प गरे। १४ वर्ष बसिसकेपछि दुबई छाडेर घर फर्के।
'दुबईमा तापक्रम मिलाएर बनाइएको गोदाममा महिनौंसम्म तरकारी र फलफूल ताजै रहन्थ्यो,' दीपेन्द्रले भने, 'त्यो देखेपछि मलाई लाग्यो हामीले त काम गर्न नजानेर पो बजारको समस्या भएको रहेछ।'
आफ्नै जमिनमा पैसा फलाउन सकिने रहेछ भन्ने महसुस गरेर उनी देश फर्किएका हुन्। विदेशबाट फर्किएका नेपालीहरू मिलेर कृषिमा केही राम्रो काम गर्न लागिपरेको उनी बताउँछन्।
दीपेन्द्र अहिले वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूले स्थापना गरेको 'रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड' को प्रबन्ध निर्देशक छन्। यो कम्पनीले स्थानीय किसानसँग मिलेर कावासोती–१४ अर्ग्यौलीमा कृषि र पशुपालनका लागि लगानी गरेको छ।
अहिले १६ कठ्ठा जमिनमा २० करोड रूपैयाँ लगानी गरी तीन हजार मेट्रिक टन क्षमताको सुविधा-सम्पन्न चिस्यान केन्द्र (कोल्डस्टोर) बन्दै छ। कोरोना महामारीका कारण चिस्यान केन्द्रको संरचना निर्माणमा ढिलाइ भए पनि अहिले द्रुत गतिमा काम भइरहेको उनी बताउँछन्। केन्द्र निर्माणमा संघीय, प्रादेशिक र स्थानीय सरकारको ५० प्रतिशत आर्थिक सहयोग छ।
'नेपालमा कृषिमा आधुनिक प्रविधि प्रयोग गर्न नसक्दा उत्पादन लागत बढेको छ,' उनको भनाइ छ, 'चिस्यान केन्द्र नहुँदा उत्पादन खेर गएको छ, कृषकले उचित मूल्य पाउन सकेका छैनन्।'
कावासोतीकै नेत्रनारायण थनेतले दुबईको जेबलाली सहरमा १८ वर्ष गाडी चलाउने काम गरे। उनी जेबलालीमा रहेको कोल्डस्टोरमा राखिएका सामान विभिन्न देशमा ढुवानी गर्ने काम गर्थे।
'दुबईले जेबलालीलाई विदेशबाट ल्याइएका सामान स्टोर गर्ने सहरका रूपमा विकास गरेको छ। त्यहाँबाट म सामान लिएर सात वटा देश पुग्थेँ,' नेत्र भन्छन्, 'त्यहाँ काम गर्दा मैले कोल्डस्टोरका विषयमा धेरै कुरा थाहा पाएँ। नेपालमा पनि यस्तै ठूलो क्षमताको कोल्डस्टोरको आवश्यकता छ भन्ने ठानेर हामी लागेका छौं।'
नेत्र रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष छन्।
विभिन्न देशमा काम गरेर फर्केका दुई सय जना युवा र सय जनाभन्दा बढी स्थानीय किसान कृषि र पशुपालनमा लगानी गर्न जुटेका छन्।
'आधुनिक प्रविधिबाट कृषिमा कति फाइदा हुन्छ भन्ने हामीले देखेर आएका छौं। कोल्डस्टोरको माध्यमबाट समग्र देशले राम्रो फाइदा गरेको आफ्नै आँखाले देखेका छौं,' नेत्र भन्छन्।
विदेशमा आफूहरूले सिकेको सिप देशमा किन उपयोग नगर्ने भनेर देश–विदेशमा रहेका नेपालीलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको उनले बताए।
नेत्रका अनुसार उनीहरूको कम्पनीले कृषि व्यवसायमा लगानी गर्न चाहने युवालाई धितोबिना सस्तो ब्याजमा ऋण लिन सहयोग गरेको छ। विदेशबाट फर्किएका नवलपुरका सय जना युवा यस्तै ऋण लिएर उद्यमी बनेका छन्। ती उद्यमबाट पाँच सय जना बढीले रोजगार पाएका उनले बताए।
मध्यबिन्दु नगरपालिका–१४ मा ११ बिघा जमिनमा फलफूल र तरकारी खेतीको तयारी गरेको पनि नेत्रले बताए। यो खेतीको नेतृत्व कतारबाट फर्किएका दीपक भेटवालले गर्दैछन्।
त्यस्तै, कम्पनीले कावासोती–१५, गोडारमा दूध प्रशोधन केन्द्र, एग्रो रिसोर्ट र अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। यसका लागि कावासोती नगरपालिकाले जग्गा उपलब्ध गराएको छ। यसको डिपिआर बनाउने काम सकिइसक्यो।
चिस्यान केन्द्रमा तरकारी, फलफूल, माछामासु र च्याउका लागि चार वटा कोठा हुने छन्। एउटा कोठामा आधुनिक प्रविधिबाट डल्ले च्याउ उत्पादन गरिने छ। यहाँबाट दैनिक एक सय किलो च्याउ उत्पादन गरेर आफ्नै ब्रान्डमा बजारमा पुर्याउने कम्पनीको लक्ष्य छ।
तरकारी र फलफूल उत्पादन गर्ने तथा किसानले गरेको कृषि र पशुजन्य उत्पादन चिस्यान केन्द्रमा भण्डारण गर्ने योजना छ।
'कोल्डस्टोरको क्षमता बढाउँदै जाने र उत्पादनको बजारीकरणका लागि सातै प्रदेशमा एग्रोमार्ट सञ्चालन गर्ने योजना छ,' नेत्रले भने, 'यसबाट कृषिको विकास र किसानलाई फाइदा हुने विश्वास छ।'
कावासोती बजारमा कम्पनीको पहिलो एग्रोमार्ट सुरू भइसक्यो। यसको व्यवस्थापनको जिम्मेवारी दीपेन्द्रले लिएका छन्।
देशका विभिन्न ठाउँमा रहेका कृषि फार्ममा पुगेर सहकार्यको प्रस्ताव राखेको नेत्र बताउँछन्, 'कर्णाली प्रदेशका अर्ग्यानिक उत्पादन फार्म र मनाङका स्याउ फार्मसम्म पुगेर सहकार्यको प्रस्ताव राखेका छौं।'
कम्पनीले आफ्ना र कृषकबाट किनेका उत्पादन कम्पनीकै ब्रान्डमा बजार पुर्याउने भएको छ। यसका लागि रिटर्नी कृषि तथा पशुपालन कम्पनीको नाममा 'ट्रेडमार्क' प्राप्त भइसकेको उनले बताए। कम्पनीले आफ्नो उत्पादन विदेश निर्यात गर्ने अनुमति पनि पाइसकेको छ।
कम्पनीका बजार अधिकृत रेशम खत्रीका अनुसार विदेशबाट फर्किएका युवा र किसानको सहभागिता बढाउन साधारण र प्रमोटर सेयर पनि खुला गरिएको छ। दस हजारदेखि एक लाख दस हजार रूपैयाँसम्म लगानी गरेर साधारण सेयर खरिद गर्न सकिनेछ। यसै गरी एक लाख दस हजारदेखि दस लाख रूपैयाँसम्म लगानी गरेर प्रमोटर सेयर किन्न पाइनेछ।
'विदेशमा रहेकाहरूले उतैबाट लगानी गर्ने गरेका छन्,' उनले भने, 'जापान, अमेरिका, युरोपमा रहेका नेपालीहरूले लगानी गरेका छन्।'
कम्पनीबाट स्थानीय किसानले पनि लाभ लिन थालेका छन्। मलेसियामा १७ वर्ष काम गरेर आएका जितबहादुर विक आफ्नो कृषि पेसामा उक्त कम्पनी सहयोगी हुने विश्वासमा छन्। अर्का किसान प्रेमबहादुर मुखिया पनि आफ्नो पशुपालन र कृषि व्यवसायमा कम्पनी सहयोगी हुनेमा आशावादी छन्।
जितहादुरले बंगुरपालन सुरू गरेका छन्। उनले धिताबिना सस्तो ब्याजमा ऋण लिन कम्पनीले सहयोग गरेको बताए। कम्पनीमा साधारण सेयर पनि लगानी गरेका छन्।
'यहाँ सेयर लिएपछि कोल्डस्टोरमा सामान राख्दा सहुलियत हुने रहेछ,' उनले भने, 'यहाँबाट आएको फाइदा पनि पाइने रहेछ।'
चिस्यान केन्द्र सुरू भएपछि बेमौसममा राम्रो मूल्यमा तरकारी बिक्री गरेर फाइदा लिन सकिनेमा जितबहादुर विश्वस्त छन्।
कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लाभरमा करिब ४० टन क्षमताका चिस्यान केन्द्र छन्। नयाँ बन्ने तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र यहाँका कृषकका लागि महत्वपूर्ण हुनेछ।
केन्द्रका सूचना अधिकारी शंकर पौडेलका अनुसार जिल्लामा केरा, कागती, सुन्तला, आँप, आलु, अदुवा, टमाटर, काउली, बन्दा, बोडी, प्याजलगायत खेती बढी हुन्छ।
'यी सबै उत्पादन सोझै बजार पुग्नुको विकल्प छैन। बिक्री नभए खेर जान्छ,' उनले भने, 'ठूलो क्षमताको चिस्यान केन्द्र भएपछि किसानका उत्पादन बेमौसममा बिक्री हुन्छन्।'
कम्पनीले नवलपुरलाई मात्रै नभई देशभरको उत्पादनलाई लक्षित गरेर देशकै केन्द्र भागमा चिस्यान केन्द्र स्थापना गरेको जनाएको छ।
'हाम्रो लक्ष्य देशभरको कृषि उत्पादनको भण्डारण यहाँ गरेर विदेश पनि पठाउने हो,' प्रबन्ध निर्देशक दीपेन्द्रले भने, 'अत्याधुनिक प्रविधिको चिस्यान केन्द्र सञ्चालन हुँदैछ, जति उत्पादन भए पनि बजारको समस्या हुँदैन।'
उनका अनुसार कम्पनीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र आयातलाई निरुत्साहित गर्नेछ। विदेशबाट फर्केका युवाको सक्रियतामा सुरू भएको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड युवाहरूका लागि अनुकरणीय हुन सक्ने विश्वास पनि उनीहरूको छ।