सरकारले अमेरिकाबाट उन्नत जातको सात वटा साँढे ल्याएको छ। शुक्रबार साँझ ती साँढे नेपाल भित्रिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले जानकारी दिएको छ।
व्यावसायिक रूपमा पालिएको वर्णशंकर जातका गाईहरूको नश्ल सुधार गरी दूध उत्पादन बढाउन अमेरिकाबाट साँढे ल्याइएको आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले बताए।
अमेरिकाको सिकागोबाट चाटर्ड फ्लाइटबाट तीन दिन लगाएर ती साँढे आएका हुन्।
'कोरोना महामारीका बेला सम्झौता भयो। कोरोनाको समयमा पशुहरू जहाजमा ल्याउन नदिने रहेछ। चार्टर गर्दा कोलकत्ता बन्दरगाह भएर मात्रै ल्याउन पाइने रहेछ,' उनले भने, 'हामीले प्रत्यक्ष रूपमा दिल्ली सरकारबाट अनुमति लिएर हामीले ल्याएका हौं।'
भट्टका अनुसार अहिले ती साँढे खुमलटार पशु क्वारेन्टाइनमा राखिएको छ। जतिसक्दो छिटो राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा लगिने छ।
'अहिले सप्लायर्ससँगै छ। हामीले बुझिसकेका छैनौं,' उनले भने, 'भोलिसम्म पोखरा लैजान्छौं।'
अहिले ती साँढेको स्वास्थ्य परीक्षण भइरहेको छ। आयोजनाले मापदण्ड अनुसारको स्वास्थ्य परीक्षण गरेर मात्रै वितरकसँग साँढे लिनेछ।
पशुका विभिन्न जात हुन्छन्ः रैथाने (स्थानीय) र वर्णशंकर (क्रस)।
हाम्रोमा रैथाने जातको गाई व्यावसायिक रूपमा त्यति प्रचलनमा छैनन्। क्रस गराइएको होलस्टेन र जर्सी जातका गाई प्रचलनमा छन्।
अहिले ल्याइएका साँढेबाट राष्ट्रिय पशु प्रजनन कार्यालयले बीर्य (सिमेन) निकालेर वर्णशंकर जातमा क्रस गराई किसानलाई निःशुल्क दिइने छ।
'हामीसँग भएका वर्णशंकर गाईमा यसको बीर्य क्रस गराउने हो। यसरी विस्तारै क्रस गराउँदै जाँदा हामी शुद्ध गाईको नजिक पुग्छौं,' उनले भने।
उनका अनुसार अहिले ल्याइएको साँढेबाट जन्मेका गाईले एक पटकमा बीसदेखि तीस लिटर दूध दिनेछन्। तर यी जात किसान समक्ष पुग्न भने केही समय लाग्ने उनले बताए।
अहिले ल्याइएका साँढे नौदेखि १२ महिनाका हुन्। १८ देखि २१ महिनाका भएपछि मात्रै यिनीहरूबाट बीर्य उत्पादन हुन्छ। यिनीहरूको आयु बीस देखि २५ वर्षको हुन्छ।
साँढे बुढो भएपछि बीर्यको गुणस्तर घट्दै जाने भएकाले सातदेखि आठ वर्षसम्म मात्रै बीर्य निकालिने भट्टले जानकारी दिए।
अहिले पशु प्रजनन कार्यालयले यहाँ भएका बुढा साँढेबाट बीर्य उत्पादन गरिरहेको थियो। ती साँढेलाई विस्थापन गर्न र मौज्दातका लागि नयाँ साँढे ल्याइएको हो।
'हाम्रो यहाँका साँढे पुराना भए। फेरि एउटैबाट मात्र क्रस गराइयो भने हाडनाताको समस्या पनि पर्छ,' भट्टले भने।
एकातिर सरकारले दूध उत्पादन बढाउन साँढे आयात गरेको छ भने अर्कातिर किसानबाट दूध बिक्री नभएर फ्याँक्नु परेको गुनासो आइरहेका छन्।
यसमा बजारका लागि मन्त्रालयले ध्यान दिनुपर्ने भट्ट बताउँछन्।
'हाम्रो काम नश्ल सुधार गर्ने हो। बजारको काम मन्त्रालयले हेर्नुपर्छ,' उनले भने।
लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले करिब डेढ वर्षअघि अमेरिकाबाट शुद्ध उन्नत जातका साँढे आयात गर्न बोलपत्र आह्वान गरेको थियो। त्यसमध्ये सबैभन्दा सस्तो मूल्यमा ल्याइदिने भएपछि नेपाली कम्पनी मेट ग्रुप छनोट भएको थियो।
सरकारले उक्त कम्पनीसँग सात वटा साँढेका लागि एक करोड ३० लाख रूपैयाँ सम्झौता गरेको छ।
नेपालमा यसअघि यसरी गाईवस्तु आयात भएको थिएन। बिक्रम सम्वत् १९०७ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायतबाट पानीजहाज हुँदै तीन महिना लगाएर एउटा जर्सी गाई ल्याएका थिए। त्यसपछि गाईवस्तु आएकै करिब १७० वर्षपछि अर्थात् अहिले हो।