डेढ दशकअघि गमबहादुर चेपाङ वर्षभरी खाने अन्न (मकै, कोदो) फलाउन खेतमै व्यस्त हुन्थे।
एकदिन सहरबाट आएका मान्छेले आफ्नो घरनजिकै बारीको पाटामा सेता काठका बाकस लहर मिलाएर राखेको देखेर गमबहादुर अचम्मित भए।
ती बाकस मान्छेले डोकोमा बोकेर ल्याएका थिए। त्यतिखेर पूर्व–पश्चिम राजमार्गको लोथर बजारबाट लोथर खोलालाई नछोडी ४–५ घन्टा पैदल हिँडेपछि पुगिन्थ्यो गमबहादुरको गाउँ बरिङटार।
ती काठको बाकस (मौरीका घर) बाट उडेका मौरी उनको घर आडैमा ठडिएको चिउरीको फूलमा झुम्मिन्थे। मौरी ल्याइएको केही महिनामा डोकामा महका भाँडा बोकेर खोलाखोलै सहर झर्नेको ताँती उनले देखे।
त्यो देख्दा उनी सोच्थे, ‘त्यत्रो बाटो हिँडेर यो डाँडोमा के रमिता गरेका होलान्।’
उनै गमबहादुर केही दिनअघि म बरिङटार पुग्दा छत्रे टोपी लगाएर मह काड्नमा व्यस्त थिए। छिमेकीको बारी भाडामा लिएर यो वर्ष उनले ८० घार मौरी पालेका रहेछन्।
‘आज ३५० केजी मह निस्कियो, यो मह एकछिनमा बजार पुगिहाल्छ,’ उनले सुनाए।
राप्ती–११ को बरिङटार पुग्न अचेल लोथर खोलाको बाटो पैदल हिँड्नु पर्दैन। भण्डाराबाट यात्रुवाहक बस नै बरिङटार हुँदै गुड्छन्। उनले निकालेको मह लिन बोलेरो गाडी बारीमै आइपुग्ने रहेछ।
‘चिउरीको मह किलोको पाँच सय रूपैयाँमा यहीँबाट लैजान्छन्, तुरून्तै पैसा आइहाल्छ,’ गमबहादुरले सुनाए।
मंसिरदेखि फागुनसम्ममा उनले ७ लाख रूपैयाँको मह बिक्री गरिसके। यसका लागि उनले डेढ लाख रूपैयाँमात्रै खर्चिन पर्यो।
दशक अघिदेखि गाउँमा मौरीपालन गरेको देखे पनि गमबहादुरले भने २०७२ सालबाट मात्रै मौरी पाल्न सुरू गरेका थिए। त्यसअघि घरको कामबाहेक उनी ज्यालादारी काम गर्थे। धान काट्ने, सामुदायिक वनको काठ चिर्ने काम गरेर सामान्य आम्दानी हुन्थ्यो। तीन सन्तानका अभिभावक गमबहादुरको गुजारा त्यो सामान्य आम्दानीले चलिरहेको थिएन।
हुर्कँदै गरेका छोराछोरी पढाउने दायित्व कसरी पूरा गर्ने भन्ने चिन्ता त छँदै थियो। उनले पैसा कमाउन विदेश जाने सोच बनाए। विदेश जानका लागि पनि उनीसँग पैसा थिएन। सहयोगको आशामा मकवानपुरको राक्सिराङमा रहेका आफन्त आइतसिंह चेपाङको घरमा पुगे। आइतसिंहले राक्सिराङमा मौरी पालेका थिए। उनले गमबहादुरलाई मौरीपालनको फाइदाबारे सुनाए।
‘विदेश जान पनि २–३ लाख रूपैयाँ खर्च भइहाल्छ, त्यति खर्च गरेर गएपछि पनि नकमाई फर्कन पनि सकिन्छ, बरू त्यो पैसाले गाउँमै मौरी पाल्न थाल, पहिलो वर्षबाटै फाइदा हुन थाल्छ,’ आइतसिंहले भनेको कुरा गमबहादुरले सुनाए, ‘मेरैजस्तो अवस्थाको आइतसिंहले त हेर्दा हेर्दै मौरी पालेर कमाएको पैसाले ट्याक्टर, बोलेरो गाडी नै किन्नुभयो।’
त्यसपछि बल्ल गमबहादुरले आफ्नै बारीमा ठडिएको चिउरीको बोटको महत्व बुझे। विदेश जाने सोच त्याग्दै त्यही चिउरीको फूलको उपयोग गरी मौरी पालन गर्ने सोच बनाएर गाउँ फर्किए।
उनले सयकडा तीन रूपैयाँ ब्याजमा तीन लाख ऋण लिए। त्यसबाट २९ वटा घार र मौरी किनेर गाउँ लागे। छिमेकीको जग्गा भाडामा लिएर ती घारहरू राखे।
‘त्यो तीन लाख रूपैयाँ मैले पहिलो वर्षमै तिरेँ, घार र मौरी आफ्नो भयो,’ उनले भने, ‘अर्को साल ६० हजार रूपैयाँ ऋण लिएर थोरै बिस्तार गरेँ।’
दोस्रो वर्ष उनले ४ लाख आम्दानी गरे।
छ वर्ष अवधिमा उनले मौरीका घार १ सय ४५ वटासम्म पुर्याए। वर्षमा १० लाख रूपैयाँसम्म कमाए। गत वर्ष उनले ६५ घार मौरी बिक्री गरेका थिए। गमबहादुरले मौरीपालनबाट भएको कमाइले बरिङटारको सडक छेउमा ५ कट्ठा जमिन किनेर घर बनाएका छन्।
‘१० लाख रूपैयाँमा खेत घडेरी जोडेँ, ५ लाख रूपैयाँ जति घर बनाउन लाग्यो,’ उनले सुनाए, ‘महकै आम्दानीले छोराछोरी पढाएको छु।’
गमबहादुरकी छोरी अहिले पूर्वी चितवनको टाँडीमा रहेको सहीद स्मृति क्याम्पसमा स्नातक पढ्दै छिन्। एउटा छोरा खैरहनीमा कक्षा ८ र अर्का छोरा गाउँकै विद्यालयमा कक्षा ९ मा पढ्दैछन्।
‘छोराछोरीलाई यसरी पढाउन सकिएला जस्तो पनि लाग्थेन, मेरो कमाइका कारण उनीहरूलाई पढ्न सहज भएको छ,’ उनले भने, ‘धेरथोर बचत पनि गरेको छु।’
श्रीमती पूर्णिमाया र गमबहादुर तन, मन सबै दिएर मौरीपालनमा लागेका छन्। बिदाको समय छोराछोरीले पनि उनीहरूलाई सघाउँछन्। मौरीका घारलाई वर्षमा ३ देखि ४ ठाउँसम्म सार्ने गरेको उनले बताए।
उनले चिउरीको फूल नफूल्ने सिजनमा कहिले तोरी, कहिले रूदिलो फुल्ने ठाउँमा स्थानान्तरण गर्ने गरेको बताए।
‘हाम्रो बढी खर्च हुने नै स्थानान्तरणमा हो, यता, उता सार्दा खर्च र मेहनत दुवै लाग्छ,’ उनले भने, ‘आम्दानी निकै राम्रो छ। हामीजस्ता नपढेका मान्छेलाई यहाँ भन्दा के चाहियो र।’
मह बेच्दा आएको पैसा देख्दा गमबहादुर एक दशक पुराना दिन सम्झन्छन्।
‘सहरका मान्छे लाइन लागेर आएको किन रहेछ भन्ने कुरा त बल्ल पो बुझ्दैछु। त्यो सम्झँदा त मैले व्यवसाय गर्न निकै ढिलो गरेछु जस्तो लाग्छ,’ ४० वर्षे गमबहादुर भन्छन्।
अचेल मान्छेहरू उनलाई चिउरीको मह बनाउने गमबहादुर भनेर चिन्छन्। उनले चिउरीकै कारण आफ्नो जीवन बदलिएका कारण गाउँको वन पाखामा रहेका चिउरीका बोट जोगाउँदै यसको महको उत्पादन बढाउनेतर्फ लागिरहने बताए।
केही वर्षयता चितवनको पहाडी गाउँमा चिउरी फूल्ने मौसममा मौरीका घारहरू प्रसस्तै देखिन थालेका छन्।
मौरीपालक संघ बागमती प्रदेशका अध्यक्ष धर्मराज लामाका अनुसार चिउरी फूल्ने समयमा चितवनमात्र नभएर अन्य जिल्लाबाट पनि मौरीका घारहरू यहाँ ल्याइने गरेको छ।
कोरोना महामारीको समय महको सेवनबाट रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सन्देश प्रवाह भएका कारण बजारमा महको माग धेरै भएको उनले बताए।
‘दुई वर्षयता महको माग बढेको छ, किसानले राम्रो मूल्यमा मह बिक्री गरिरहेका छन्,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनअन्तर्गतको मौरी जोनका पूर्व संयोजक रहेका लामाले भने, ‘परियोजना, स्थानीय तह र विभिन्न संस्थाहरुको सहयोगमा किसानले मौरी पालनबाट लाभ लिइरहेका छन्।’
उनले चितवनमा चरन क्षेत्र पर्याप्त रहेको र सामान्य किसानले थोरै लगानीमा पनि व्यवसाय सुरू गर्न सक्ने भएकाले मौरीपालन गर्नेको संख्या बढिरहेको बताए।
लामाले पहिले धेरै उपभोक्ताले भारतबाट आयात हुने मह खाने गरेकोमा अचेल नेपाली मह खोजी–खोजी खान थालेको बताए।
‘अब सरकारले महको न्यूनतम समर्थन मूल्य तोकिदिए हुन्थ्यो भन्ने किसानको माग छ,’ उनले भने, ‘स्थानान्तरणमा सहयोग र रोग किरा नियन्त्रणमा पनि विज्ञको सहयोग चाहिएको छ।’
मौरीपालनमा समस्या आइपर्दा विज्ञ नै नभेटिने समस्या रहेको उनको अनुभव छ।