चितवनमा पाँचौं शलोम एग्रीमेच अर्थात् कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरू भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालस्थित इजरायली राजदूत खनान गोदार, कृषि विकास निर्देशनालका महानिर्देशक रेवतीरमण पौडेल, बैंकर्स संघका अध्यक्ष तथा कृषि बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल उपाध्याय, नविल बैंकका प्रमुख कार्यकारी प्रमुख अनिल केशरी शाह लगायतको उपस्थिती थियो।
उक्त कार्यक्रमको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले कृषि क्षेत्रमा आधुनिकीकरणमा होमिन तीनै तहका सरकार लाग्नुपर्ने बताए। यसमा राजनीतिक दलहरूले पनि साथ र सहयोग गर्नुपर्ने सुझाब दिँदै उनले भने, ‘मेहनरी कृषकहरुको योगदानले दूध र मासुमा आत्मनिर्भरको बाटोमा पुगेको छ। साथै, तरकारी उत्पादन बढेको छ।’
खाद्यन्न आयातमा देखिएको वृद्धि चिन्ताजनक भएको बताउँदै उनले थप भने, ‘थपिएको चुनौतिलाई मध्यनजर गर्न युवाहरूलाई आकर्षण गर्न जरुरी छ। कृषिबाट पनि कमाउन सकिन्छ भन्ने कुरामा विश्वास दिलाउँन सक्नुपर्छ।’
उनले कृषिलाई सम्मानित बनाउन यान्त्रिकीकरणमा ध्यान दिनुपर्ने बताउँदै कृषि कर्जा, यान्त्रिकरणमा पहुँचतर्फ पनि विस्तारै ध्यान दिनुपर्ने बताए।
नेपालस्थित इजरायली राजदूत खनान गोदारले कृषि क्षेत्रमा यान्त्रिकीकरणमा ध्यान दिनुपर्ने र कसैले नेपालमै यन्त्र उपकरणमा उद्योग खोल्न चाएमा हरेक क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए।