पहाडी क्षेत्रमा पाइने चिउरी नामको बिरूवाबारे तपाईं केही न केही अवश्य थाहा होला। चिउरीको बोट देख्नुभएको पनि होला। यसको फल खानुभएको पनि छ कि! चिउरीको बहुउपयोगिताबारे जानकार पनि हुन सक्नु हुन्छ!
चिउरी समुद्री सतहबाट तीन सय मिटरदेखि एक हजार पाँच सय मिटरसम्मको मध्यपहाडी क्षेत्रमा हुने सदाबहार बिरूवा हो। यसको रूख २० मिटरसम्म अग्लो हुन्छ। रूख झ्याम्म हुने गरी हाँगा फैलिएका हुन्छन्।
चिउरी उपयोगी बिरूवा हो। यसमा निकै बाक्लो गरी ससाना दाना फल लाग्छ। फल खाने चलन छ। यसको बिउ पनि निकै उपयोगी छ। बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुन्छ।
चिउरीको बिउ प्रचुरमात्रामा तैलीय अर्थात तेल भएको हुन्छ। यसले दानाको तौलको कम्तीमा ४२ प्रतिशतदेखि बढीमा ४७ प्रतिशतसम्म तेल दिन्छ। परम्परागत गाउँले प्रविधिबाटै तेल निकाल्न सकिन्छ।
सामान्य तापक्रममा जम्ने भएकाले गाउँघरमा 'चिउरीको तेल' नभनेर 'चिउरीको घिउ' भन्ने चलन छ। चिउरीको घिउ तोरीको तेलसरह भान्सामा प्रयोग हुन्छ। चकलेट, मैन, साबुन, मल लगायत औद्योगिक उत्पादनमा पनि प्रयोग हुन्छ।
आउनुहोस्, आज सुदूरपश्चिम, दार्चुलाको मार्मा गाउँपालिका–६, सेरीजैथलाका शंकरसिंह महराका बाजेले चिनेको र अरू गाउँलेले पनि खेती गरेको चिउरीको महिमा थाहा पाऔं।
शंकरका बाजेले केही बोट चिउरी रोपेका थिए। केही वर्षपछि बुबाले अन्न उब्जाउ नहुने खेतमा सुरूमा बीस बोट चिउरी रोपे। बिरूवा थपिँदै जाँदा हाल दुई सय बोट छन्। यी बोट दाजुभाइका भाग लागेका छन्। बोट थप्दै जाने उनीहरूको योजना छ।
हुर्केर फल दिन थालेपछि शंकरको परिवारको खर्च चलाउने आम्दानीको स्रोत तिनै चिउरीका बोट भए। भान्सामा भुटुनका रूपमा र चाडवाडमा सबै किसिमका परिकार बनाउन प्रयोग हुने भएपछि शंकर चिउरी घिउको व्यापारमा लागे।
शंकरले सुरूसुरूमा चिउरीको घिउ प्रतिकेजी ४० रूपैयाँका दरले दैनिक ८० किलोसम्म बेचे। उनी घिउ बोकेर गाउँ डुल्थे। सबै गाउँमै बिक्थ्यो।
उनको परिवारले चिउरीको घिउ उत्पादन व्यवसायका रूपमा अघि बढाएको छ, बोट पनि थपिँदैछन्। उनका अनुसार चिउरीको बोटमा प्रत्येक वर्ष फल लाग्दैन। प्रायः एक वर्ष बिराउँछ।
अहिले गाउँपालिकामा चिउरीको घिउ बनाउने र त्यसबाट साबुन उत्पादन गर्ने उद्योग स्थापना भएको छ। गाउँलेहरू यसलाई 'चिउरी उद्योग' भन्छन्। उद्योग आएपछि शंकर झन् उत्साहित भएका छन्। उनी जस्तै अरू गाउँलेले पनि चिउरी उत्पादन गर्न थालेका छन्।
यसपालि शंकरले प्रतिकिलो ६० रूपैयाँका दरले ८० केजी चिउरी उद्योगलाई बेचे। यस वर्ष माग बढी भए पनि फल कम लागेको उनको भनाइ छ।
उद्योगले चिउरीको फलसहितको सिंगै दाना पनि किन्छ, बिउ मात्रै पनि किन्छ। यस वर्ष शंकरले फल नै बेचे।
'चिउरी उद्योग आएपछि एकदम खुसी छु। ओखलमा कुट्नुभन्दा अहिले मेसिनबाटै घिउ निकाल्न पाइएको छ,' उनले भने, 'मेसिनमा घिउ बनाएर बिक्री गर्न पाइन्छ। खेती अझै बढाउँदै जान्छु।'
अर्का किसान दीपकसिंह महराका अनुसार चिउरीको भारी गाडीमा हालेर उद्योगमा पुर्याउँदा लाग्ने भाडा पनि उद्योगले दिन्छ। हाल उक्त उद्योगले भाँडा धुने, लुगा धुने र नुहाउने साबुन बनाउँछ।
'मल र मह बनाउने भन्ने पनि सुनेका छौं,' दीपक भन्छन्, 'हामी भारतबाट साबुन किनेर ल्याउँथ्यौं, अहिले गाउँमै उत्पादन हुन्छ। हामीलाई धेरै खुसी लागेको छ।'
उद्योग स्थापना भएपछि स्थानीय किसानको आय बढेको छ। चिउरी खेती गर्ने किसानको संख्या पनि बढ्दैछ। कीराबाट फल जोगाउन उपचारका लागि गाउँपालिकाले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
दीपकका अनुसार गाउँमा चिउरी उत्पादन बढ्दै गएकाले बजारको समस्या पर्न सक्छ। चिउरीको घिउ बहुउपयोगी भए पनि सहरी क्षेत्रमा प्रचारप्रसार छैन।
भन्छन्, 'धेरै किसान चिउरी खेतीमा लागेका छन्। यहाँबाट टाढा पुर्याएर बेच्न सके मात्रै फाइदा हुन्छ। यहाँको उद्योगले मात्रै खपत गर्न सक्दैन।'
मार्मा गाउँपालिका कार्यालयका अनुसार चार वटा वडामा चिउरी उत्पादन भइरहेको छ। ती वडामा चिउरीका कम्तीमा आठ सय बोट छन्। एक बोटबाट कम्तीमा सय किलो घिउ उत्पादन हुन्छ।
अर्का किसान दीपक पन्त भन्छन्, 'पहिला चिउरी त्यतिकै खेर जान्थ्यो। जंगलको रूखको मतलबै थिएन। खेतबारीमा रूख हुनेले घिउ बेचेर अलिअलि आम्दानी गर्थे। अहिले उद्योग आएपछि महत्व बढेको छ।'
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको प्राविधिक सहयोगमा शिवलिङ सहकारी संस्था र मार्मा गाउँपालिकाको डेढ करोड रूपैयाँ संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो।
चिउरीको व्यावसायिक सम्भावना बलियो देखेर गाउँपालिकाले उद्योग सञ्चालनको योजना बनाएको वडा नम्बर ३ का वडाध्यक्ष पुस्करसिंह विष्टले बताए।
चिउरी उद्योग उनकै वडामा छ। उनले भने, 'सम्भावना हेर्दा चिउरीको बिरूवा धेरै भएको र साबुन बनाउन, मह उत्पादन गर्न सकिने भएपछि आम्दानीको स्रोत हुने उद्योग स्थापना गरिएको हो।'
उद्योग सञ्चालनबारे गाउँपालिकाले अध्ययन टोली गठन गरेको थियो। टोलीले चिउरीका बोट र उद्योगको सम्भावनाको अध्ययन गर्यो। टिमले अन्य ठाउँमा भएका यस्तै प्रकारका उद्योगको पनि अध्ययन गरेको थियो।
अहिले मार्माका दुई ठाउँमा चिउरी संकलन केन्द्र छन्। त्यहाँ किसानले चिउरीको बिउ, घिउ र पिना जम्मा गर्छन्।
वडाध्यक्ष विष्ट भन्छन्, 'पहिला घरमै घिउ उत्पादन गर्दा चुहावट हुन्थ्यो, अहिले मेसिनमा घिउ बनाउने हुँदा चुहावट छैन। मेहनत कम छ, मेसिनले काम हुन्छ। किसानको आय बढेको छ।'
मार्मामा चिउरी उद्योग सञ्चालनपछि दार्चुलाको नौगाड र बैतडीको डिलाशैनीमा पनि किसानले चिउरी खेती सुरू गरेका छन्।