सरकारले नेपालमा मल कारखाना खोल्नेबारे लामो समयदेखि अध्ययन गरिरहेको छ।
आर्थिक वर्ष २०७३/०७४ बजेटमा नेपालमा रासायनिक मल उद्योग खोल्ने कुरा उल्लेख थियो।
गत वर्ष कात्तिकमा मन्त्रिपरिषदले स्वदेशमै मल कारखाना खोल्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको थियो।
कृषि वैज्ञानिक डाक्टर सुभाष भट्टराई भने नेपालमा मल कारखाना जरूरी नभएको बताउँछन्।
उनका अनुसार नेपालमा कति मल चाहिन्छ, हाम्रो उत्पादन कति हो र त्यसमा लाग्ने लागत कति हो? यो सबै हेर्ने र विश्व जुन ट्रेन्डमा गइरहेको छ त्यसलाई आधार मान्ने हो भने नेपालमा मल उद्योगको आवश्यकता छैन। किनकी नेपालमा मल उद्योग स्थापना भएर बेच्ने अवस्थासम्म पुग्दा विश्वका धेरैजसो मल उद्योग बन्द हुने क्रममा जानेछन्।
हामीले जुन मल प्रयोग गर्छौं, त्यसले जमिन बिगार्छ। रासायनिक मलले केही समयसम्म उत्पादन राम्रो दिन्छ होला तर दीर्घकालमा यसले हानी गर्छ। अहिले रासायनिक मललाई घटाउने र जैविक मलको प्रयोग गर्न थालिएको छ। विकासोन्मुख मुलुकमा मात्रै रासायनिक मलको प्रयोग भइरहेको छैन। मल उद्योग नेपालमा चल्न धेरै कठिन छ। हामीले अरू देशलाई मल बेच्न सक्दैनौं। किनकी यसका लागि चाहिने उर्जा बाहिरबाट ल्याउनुपर्छ।
असार/साउनमा मलको समस्या भएर गरिएको निर्णय भए पनि यो दीर्घकालका लागि काम छैन। योभन्दा धेरै विकल्प छन्।
मल मौज्दातमा राखौं, जहाँ बन्छ त्यहाँबाट थोरै ल्याऊँ। सय किलो मल प्रयोग हुन्थ्यो भने त्यसलाई २५ किलोमा झारौं। किसानलाई नचाहिए पनि मल राख्ने प्रवृत्ति छ। ५० किलो चाहिने ठाउँमा सय किलोको प्रयोग भइरहेको छ। हामीले अहिले पूर्ण रूपमा बन्द गर्न नसके पनि बिस्तारै रासायनिक मलको प्रयोग घटाउँदै लगेर बन्द गर्नुपर्छ।
लामो समय रासायनिक मल प्रयोग गरे जमिनमा केही पनि उत्पादन नै हुँदैन। यसले वातावरणमा समेत असर गर्छ। मलमा आउने नाइट्रोजन पानीमा जान्छ, पानीमा हुने जीवजन्तुलाई असर गर्छ। अहिले नै पूर्ण रूपमा बन्द गर्न असम्भव होला तर कम गर्दै जानुपर्छ।
मल उद्योगमा खर्च गर्ने रकम जैविक मलको लागि अनुसन्धानमा खर्च गर्यौं भने त्यसले दिने फाइदा धेरै हुन्छ।
बाहिरबाट ल्याउँदा पनि जैविक मल नै ल्याउनुपर्छ। हाम्रोमा अर्ग्यानिक उत्पादन हुन्छ भन्ने सन्देश दिइयो भने लगानी पनि आउन सक्छ। यसले हामीप्रतिको सोचाइ नै बदल्न सक्छ।
किसानको समस्याले गर्दा र भनेको बेलामा भएन भनेर सरकारले मल उद्योगको कुरा गरेको होला तर यो क्षणिक हो। हामीले योजना बनायौं भने मलको कुनै समस्या हुँदैन।
रासानियक मलको विकल्प खोज्न सकिन्छ। किनकी हामीसँग बन-जंगल र कम्पोष्ट मल उत्पादन गर्न सक्ने स्रोत छ। काठमाडौंको फोहरलाई मात्र मलमा प्रयोग गर्ने हो भने हामीले धेरै समस्या समाधान गर्न सकिन्छ। तर हामीले भन्छौं मात्र गर्दैनौं। घरकै फोहोरलाई व्यवस्थापन गरे मात्रै पनि करेसाबारीलाई मल पुग्छ।
बेलायतको हार्पर एडम्स विश्वविद्यालयबाट प्लान्ट प्याथोलिजिमा पिएचडी गरेका भट्टराई बेलायतको बायोटेक कम्पनीमा कार्यरत छन्।
उनीसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी हेर्नुहोस्: