बाँकेको जानकी गाँउपालिकाको पशु हाटबजारमा गाई-गोरू पाइन छोडेको छ ।
हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाटसमेत व्यापारीहरू पशु किनमेल गर्नका लागि आउने गरे पनि पछिल्लो समय राँगा र भैंसी मात्रै बजारमा भेटिन थालेका हुन्।
पहिला राँगा, भैँसी गाई र गोरू बराबरको संख्यामा बजारमा देखा परे पनि अहिले २–३ वर्षको अन्तरमा गोरूको संख्या बजारमा शुन्य भएको स्थानीय व्यापारीहरू बताउँछन्।
२०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ। हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैंसी किन्नका लागि जाने गर्छन्। राँगा र भैँसी पहिलाकै संख्यामा देखा परे पनि गोरू देखा पर्न छाडेको स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदिपकुमार बर्माले बताए।
राँगा र भैंसीको मासु बिक्री गर्न मिल्ने तर गोरूको मासु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरूको संख्या कम हुँदै गएको उनको भनाइ छ। हाट बजार २०४५ सालदेखि लाग्न सुरू गरे पनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए। हरेक हप्ताको शनिबार मेला लाग्ने गरेको हुन्छ।
लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको पशु व्यापारी प्रेम नारायण सोनकरले बताए। उनले आफूलाई पशु व्यापार नै मन पर्ने गरेकोले यही व्यापार पढाउने पेशा छोडेर पशु व्यवसायमा लागेको बताउँछन्। उनले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताउँछन्।
त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताउँछन्। पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उनले बताए।
त्यस्तै स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरू गोरू किन्न आउने गरेको भए पनि अहिले आउन छोडेको बताउँछन्। गोरू किनमेल गर्न छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उनले बताए।
किसानले खेत जोत्न गोरू प्रयोग गरे पनि मेलामा देखा पर्दैनन्। आवश्यक परेको मानिसले गाँउबाटै गोरु किनमेल गरिरहेको उनको भनाइ छ। गोरू बिक्री हुन छोडेपछि बेच्न ल्याउने मानिसले आसपासमै छोडेर जाने गरेको पनि उनले बताए।
एकातिर पशु हाटबजारमा गोरू देखा नपर्नु र अर्कोतिर बजार क्षेत्रमा त्यही गोरू छाडा रुपमा छोडिदिँदा दुर्घटना हुने गरेको व्यापारीहरु बताउँछन्। छाडा गोरूलाई धेरै गाँउपालिका तथा नगरपालिकाहरुले रेखदेख गरिरहे पनि पछिल्लो समय बजारमा गोरु देखिन छोडेको व्यापारीहरु बताइरहन्छन्।