कागतीको भाउ आकाशिएको छ। अहिले खुद्रा बजारमा एक दाना कागतीकै १५ रुपैयाँभन्दा बढी पर्न थालेको छ।
कालीमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ। बुधबारको मूल्य सूचीअनुसार कालीमाटीमा कागती प्रतिकिलो ३७५ रुपैयाँसम्म बिक्री भएको देखिन्छ।
कालीमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार एक महिनाअघि सम्म कागती प्रतिकिलो डेढ/दुई सय रुपैयाँसम्म बिक्री हुन्थ्यो।
भारतमा कागतीको भाउ बढेकाले नेपालमा पनि त्यसको असर देखिएको श्रेष्ठले बताए।
‘नेपालमा कागतीको उत्पादन सिजनल मात्रै हुन्छ। यतिबेला आउने कागती सबै भारतकै हो। भारतमा नै भाउ बढेकाले यहाँ पनि बढेको होला,’ श्रेष्ठले भने।
भारतमा पनि पछिल्लो समय कागतीको भाउ निकै बढेको छ। इन्डिया टुडेका अनुसार दिल्लीको तरकारी बजारमा कागतीको भाउ प्रतिकिलो भारू ३५० सम्म पुगेको छ।
पेट्रोलियम पदार्थको मूल्य बढेकाले बढेको ढुवानी खर्च र धेरै कागती उत्पादन हुने गुजरातमा केही समयअघि आँधीले कागती खेतीमा पुर्याएको क्षतिका कारण कागती भाउ बढेको बताइएको छ।