‘एग्री बिजनेस इन्क्युबेसन कार्यक्रम’ अन्तर्गत ८ वटा कृषि व्यवसायमा आधारित आइडिया छनौटमा परेका छन्। उक्त कार्यक्रमले प्रदेश १ का कृषि उद्यमीहरूमा उद्यमशीलताका सिप र सोचाइहरूको विकास गर्ने लक्ष्य लिएको छ।
सो कार्यक्रम मार्फत छनौट भएका ८ आइडियाहरूले व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि बिजनेस (व्यवसाय) इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच, एग्री बिजनेससम्बन्धी विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरूको अवसर पाएका थिए।
कार्यक्रमको अन्तिम चरणको रूपमा बिराटनगरमा डेमो डे गत जेष्ठ ९ गते आयोजित गरिएको थियो।
डेमो डेमा कृषि मन्त्रालयका प्रदेश मन्त्री झलक बहादुर मगर, कृषि मन्त्रालयका प्रदेश सचिव मेगनाथ तिमल्सेना, स्विस सरकार विकास सहयोग एसडिसीका आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल, सहज (नेपाल कृषि बजार विकास कार्यक्रम- दोश्रो चरण)को टिम प्रमुख रिक भेन डर क्याम्प, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. बिजु कुमार थपलिया, आइडिया स्टुडिओ नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगायत विभिन्न प्राज्ञिक व्यक्तित्व र उद्यमशीलताको क्षेत्रमा काम गरिरहेका मानिसहरूको उपस्थिति थियो।
डेमो डेमा छनौट भएको ८ कृषि व्यवसाय (शखाबुङ्ग डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रितिरिवाज आइसक्रिम, कुमारी फुड्स , ग्रीन प्लानेट मिसन, पाकशाला, किसानपिडिया)हरूले आफ्नो व्यवसाय विचारहरू प्रस्तुत गरे। साथै, आफूले बनाएका समानहरू पनि प्रदर्शन गरे।
यसरी एग्री बिजनेस इन्क्युबेसन कार्यक्रममार्फत सहभागीहरूले आफ्नो व्यवसायिक आइडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति बनाएर बजारको लागि तयार कमर्सियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न लक्ष्यले अगाडी बढेका छन्।
विकास तथा सहकार्यका लागि सहजद्वारा सुरू गरिएको परियोजना, आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संगठनको सहकार्यमा सुरू भएको यस कार्यक्रम आफैमा पृथक कार्यक्रम हो। कार्यक्रमले प्रदेश नम्बर १ मा उद्यमशीलताको सिप र सोचाइको विकास गर्दै स्थानीय संघ-संस्थाहरूको उद्यमशीलताको क्षमतालाई समेत बढाउने उदेश्य लिएको छ।