सरकारले धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाउने बताएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मुख्य रूपमा आयात हुने धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशतले घटाउने बताएका छन्।
पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थामा आयात निरूत्साहित गर्ने उद्देश्यले सरकारले यी खाद्यान्न र तरकारी आयात घटाउने भनेको हो। यसका लागि स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्नेछ। खासगरी धान, गहुँ लगायत अन्नमा आन्तरिक उत्पादनले मात्र स्थानीय माग पूरा गर्न गाह्रो छ।
पछिल्लो समय नेपाली किसानहरू भारतीय उत्पादनसँगको प्रतिस्पर्धामा पछाडि परेकाले धेरैले अन्न उत्पादन कटौती गरेका छन्। भारतीय किसानले धान लगायत अन्न उत्पादन गर्न बिजुली, सिँचाइ, मल, बैंक व्याज लगायतमा सरकारी अनुदान पाउँदै आएको छ। यसले भारतीय उत्पादन तुलनात्मक रूपमा सस्तो पर्छ। यसको तुलनामा नेपाली उत्पादन महँगो पर्छ। प्रतिस्पर्धामा पछाडि परेकाले कतिपय किसानले अन्नबाली छाडेर नगदेबालीतर्फ आकर्षित भएका छन्।
यस्तो अवस्थामा आन्तरिक उत्पादन बढाउनेतर्फ पहल नगरी आयात कटौतीको नीति लिँदा बजार आपूर्ति असन्तुलित हुन सक्छ।
त्यस्तै, निर्यात दोब्बरले वृद्धि गर्ने सरकारले नीति लिएको छ। यसका लागि सिमेन्ट, क्लिंकर, फुटवेयर लगायत वस्तु निकासीमा ८ प्रतिशत नगद अनुदान दिने भनिएको छ।