कृषक हुनुमा पनि कम्ती गौरव र आनन्द छैन! रुपन्देहीको देवदह–९, घोडाहा, बुद्धनगरका कृषक शेरबहादुर कुँवर क्षेत्रीको खेती हेर्दा उनको मुहारमा गौरव र आनन्दको आभा झल्किन्छ।
उनको पेशा–व्यवसाय भनेकै कृषि हो, त्यो पनि जम्मा नौ कठ्ठा जमिनमा। चार दशकअघि अर्घाखाँचीको नुवाकोटबाट बसाइँ सरेर आउँदा शेरबहादुर युवा अवस्थामा प्रवेश गर्दै थिए। अहिले ५८ वर्षका भए।
शेरबहादुरको घरपरिवार कृषि पेशामा थियो। नयाँ ठाउँमा पनि कृषिलाई नै निरन्तरता दिए। नयाँ ठाउँ र नयाँ परिवेशमा बसाइँ सर्दा परिवारले आफ्ना घरायसी सामानसँगै आलुको बिउ पनि ल्याएको थियो।
अर्घाखाँचीको नुवाकोट अहिले पनि आलु खेतीको लागि उर्वर क्षेत्र मानिन्छ। सानो तर धेरै दाना फल्ने त्यहाँको आलु बजारमा पाइने विकासे जातहरूभन्दा स्वादिलो मानिन्छ।
गाउँघरकै आलु खाएर हुर्केका शेरबहादुरले देवदह आएपछि त्यही आलु खेतीलाई जीविकोपार्जनको मुख्य स्रोत बनाए। उनले आलु खेतीलाई निरन्तरता दिएका मात्र छैनन्, आलुको बिउ पनि आफैँले जोगाउने गरेका छन्।
गाउँघरका किसानहरू विभिन्न जातका हाइब्रिड आलुको खेतीमा लागेका बेला शेरबहादुर भने आफूले जोगाउँदै आएको आलु खेतीमै रमाएका छन्।
भन्छन्, ‘हाइब्रिड आलु धेरै फले पनि यो (अर्घाखाँचीबाट ल्याएको) जति मिठो हुँदैन। दाना सानो भए पनि झोल बनाएर खाँदा बाक्लो र स्वादिलो हुन्छ।’
हाइब्रिड आलुका जातहरूको विभिन्न नाम छ तर शेरबहादुरले लगाउने आलु बेनामे छ। ‘पुरानै बिउ भएकोले यसको खास वैज्ञानिक नाम छैन, कसैले यसलाई साँठा आलु भन्छन्, कसैले देशी आलु भन्छन्। हामी लोकल आलु भन्छौँ,’ उनले भने, ‘किन्न आउने ग्राहकहरूले पनि लोकल आलु भनेर नै चिन्छन्।’
हाइब्रिडको भन्दा स्थानीय जातको आलुको माग बढेपछि केही वर्षयता अन्य किसानहरू पनि लोकल आलु उत्पादन गर्न थालेका छन्। अहिले बुद्धनगरका तुलाराम पाण्डे, गोविन्दबहादुर गुरुङ, रेनुका मगर, भवी मगर र रनबहादुर कुवँर लोकल आलु उत्पादन गर्ने किसानका रूपमा चिनिएका छन्।
विभिन्न मौसमी तरकारी खेतीलाई व्यावसायिक बनाउँदै बुद्धनगरमा १२ घरपरिवारले वार्षिक करिब दुई सय क्विन्टल लोकल आलु उत्पादन गर्ने गरेका छन्।
लोकल आलुको माग पनि बढेको छ। यसबाट किसानहरू उत्साहित छन्। चालीस वर्षदेखि यही आलुको खेती गर्दै आएका शेरबहादुरले आलु बेच्न कहिल्यै बजार जानु परेको छैन। ‘आलु नखन्दै ग्राहकले बुक गरिसक्नुहुन्छ,’ उनी भन्छन्, ‘हाइब्रिड आलुको तुलनामा लोकलको मूल्य पनि धेरै छ।’
स्वादिलो हुनुसँगै लामो समय टिकाउ हुनु पनि लोकल आलुको विशेषता हो। शेरबहादुरका अनुसार यो आलु राख्न कोल्डस्टोर चाहिँदैन। कोठाभित्र भुइँमा फिँजाएर राखेपछि पुरानो हुँदै जाँदा चाउरी पर्छ तर कुहिँदैन। विकासे आलुभन्दा सानो दाना फल्छ र बोट उखेल्दा अंगुरको झुप्पोजस्तै देखिन्छ।
बजारमा हाइब्रिड आलु प्रतिकिलो ३०–३५ रुपैयाँमा पाइँदा लोकल आलु ४० देखि ५० रुपैयाँमा बिक्री हुन्छ।
आलुखेतीमा शेरबहादुर, उनकी श्रीमती र उनीहरूकी एक बुहारी खट्छन्। दुई भाइ छोरा छुट्टिएर अलग बसेका छन्। कान्छो छोरो रोजगारीका लागि साउदी अरबमा छन्।
थोरै जमिनमा पनि तरकारी खेतीबाट घरव्यवहार चलेको शेरबहादुरले बताए। उनी वर्षातमा धान खेती गर्छन्। हिउँदमा मकै, आलु, काउली, बन्दा, घिरौला, लौका, करेला, काँक्रा, भिन्डी, गोलभेँडा लगायतका तरकारी लगाउँछन्।
शेरबहादुर रासायनिक मल प्रयोग गर्दैनन्। गाईभैँसीकै मल राखेर उत्पादन गरेको हरियो तरकारी खरिद गर्न उपभोक्ताहरू खेतमै पुग्ने गरेको उनले बताए। उनले भने, ‘तरकारी उत्पादन हुनु पर्यो, बिक्रीमा कुनै समस्या छैन।’
शेरबहादुर रासायनिक मल प्रयोग नगरी थोरै जमिनमा लोकल आलु र धेरै किसिमका तरकारी उत्पादन गर्ने कृषकका रूपमा चिनिएका छन्।