गएको मंसिरमा दाङ तुलसीपुर उपमहानगरपालिका–४, चमेरे गुफा क्षेत्रमा ३६ वर्षीय कृषक रामचन्द्र खड्काले ७२ लाख रूपैयाँमा चार बिघा जमिन खरिद गरे।
एक जना कृषकसँग ७२ लाख रूपैयाँ हुनु चानचुने कुरा होइन। उनले एकातिरको जमिन बेचेर अर्कातिर किनेका पनि होइनन्। रामचन्द्रसँग यति धेरै रकम चानचुने मेहनतले भएको पनि होइन।
उनले कागती खेतीबाट केही वर्षमै उक्त रकम आर्जन गरेका हुन्।
उनी ‘सूर्या जैविक कृषि केन्द्र प्रालि’ नामको कृषि फार्ममा कागती उत्पादन गर्छन्। जति फले पनि बोटबाटै बिक्री हुन्छ।
‘कागतीको माग यति धेरै छ कि बोटमा राम्ररी छिप्पिन पनि पाउँदैन,’ रामचन्द्र भन्छन्, ‘केही वर्ष भयो, कागती बेच्न कतै जानु परेको छैन। व्यापारी यहीँ आउँछन्।’
समयअनुसार कागतीको भाउ तलमाथि भइरहन्छ। केही दिनयता भाउ बढेको छ। रामचन्द्र हाल बारीमै प्रतिकेजी दुई सय रुपैयाँमा बेच्दैछन्। कागतीको बिरुवा पनि आफैं उत्पादन गर्ने गरेका छन्। ती बिरुवा बेच्छन्।
रामचन्द्रका अनुसार उनले एक बिघा चार कठ्ठा जमिनमा एक हजार पाँच सय बोट कागती लगाएका छन्। यति बोटबाट कागती बेचेर कम्तीमा वार्षिक पाँच लाख रुपैयाँ बचत गर्छन्। उनले हालसम्म करिब ३५ लाख बिरुवा बिक्री गरेका छन्।
अहिले उनको बारीमा कागती लटरम्म फलेको छ। नर्सरीमा झन्डै ४० हजार बिरुवा बिक्रीका लागि तयार छन्। पोलिब्यागमा उमारेको एउटा बिरुवा दुई सय रुपैयाँमा र कलमी गरेको एउटा बिरुवा आकार हेरेर बढीमा १५० रुपैयाँसम्ममा बिक्री हुन्छ।
रामचन्द्रले तुलसीपुर–१९, बिजौरीको थान गाँउमा २४ कठ्ठा जमिन भाडामा लिएर २०७४ सालमा कागती खेती थालेका हुन्। त्यति जमिनका लागि वार्षिक ५५ हजार रुपैयाँ भाडा बुझाउँछन्।
उनले बाह्रै मास फल दिने ‘सुन कागती’ लगाएका छन्। यो कागती ‘एनसीआरपी ५३’ जातको हो। सुरूमा उनले भारतबाट प्रतिबिरुवा २५० रुपैयाँमा किनेका थिए।
कागती रोपेको करिब डेढ वर्षमै फल दिन सुरू गरे पनि पहिलो वर्ष सोचेअनुसार फल लागेन।
‘थोरै फले पनि म विचलित भइनँ,’ उनले भने, ‘दोस्रो वर्ष राम्रो फल दिएपछि मन फुरूंग भयो।’
दोस्रो वर्षमै उनले बिरुवा उत्पादन सुरू गरे।
करिब दुई वर्ष कोभिड–१९ को समयमा धेरै पेसा–व्यवसायमा असर पर्यो। यही समयमा मानिसहरूले भिटामिन सीको उत्तम स्रोतको रूपमा कागती खोज्न थाले। सवारीसाधन बन्द रहेको अवस्थामा हिँडेरै पनि उनको बारीमा कागती खोज्दै आए।
रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायको रूपमा कागतीजस्ता अमिला फलफूलको खोजी धेरै भयो। रामचन्द्रले कोभिड सुरक्षाको उपाय अपनाउँदै कागती बेचे। एकातिर उनको व्यापार बढ्यो, अर्कातिर मानिसको आवश्यकता पूरा भयो।
रामचन्द्रको कागती खेती दाङ जिल्लामा पहिलो र व्यवस्थित खेतीका रूपमा परिचित छ। उनले विभिन्न संस्थाहरूबाट प्रशंसापत्र र सम्मान पाएका छन्।
रामचन्द्रका अनुसार उनको नर्सरीबाट कैलाली, कञ्चनपुर, रोल्पा, रूकुम, सल्यान, प्यूठान, भक्तपुर, सिन्धुपाल्चोक, रूपन्देही, कपिलवस्तु जिल्लामा कागतीको बिरुवा पुगेको छ। उनको कागती खेती हेर्न देशका विभिन्न ठाउँका मानिसहरू आउने गरेका छन्।
रामचन्द्रले कागती खेती सोचेपछि खोजी र अध्ययन सुरू गरे। उनले केही ठाउँमा तालिम पनि लिए। तालिमबाट उनले कागती खेतीको
तरिका र बेर्ना उत्पादन सिके। कागतीबाट मानिसलाई हुने फाइदा र अन्य गुणका बारेमा जानकारी पाए।
रामचन्द्र आफ्नो कृषि फार्मलाई ‘कागती खेती तालिम केन्द्र’ का रूपमा विकास गर्ने योजनामा छन्। यही प्रयोजनका लागि जमिन किनेको उनले बताए।
अब उनले त्यहाँ कागती खेती विस्तार गर्नेछन्। त्यो भूभाग तुलसीपुरको पहाडी क्षेत्र हो। त्यहाँ अमिलो प्रजातिका बोट बिरुवाको राम्रो सम्भावना रहेको अध्ययनको निष्कर्ष छ।
रामचन्द्रले २०५९ सालमा एसएलसी उत्तीर्ण गरे। यसपछि उनी २०६२/६३ सालसम्म तत्कालीन नेकपा माओवादीको लडाकु बने। हतियार बोकेका हातले आज उनी कागतीका दाना र बिरुवा सम्हाल्दै मनग्गे आम्दानी गर्दैछन्।
‘त्यति बेला रूकुममा हामीजस्ता युवा माओवादी बन्नै पर्ने बाध्यता थियो,’ रामचन्द्रले विगत स्मरण गरे, ‘पार्टीको आदर्शविपरीत सेना समायोजन हुने भएपछि गाउँका हामी केही युवा विद्रोह गरेर विदेश गयौं।’
कोही अफगानिस्तान, कोही मलेसिया त कोही खाडी मुलुकमा पुगे। विदेशमा दुःख गरेर कमाएको रकमले रामचन्द्रले दाङमा कागती खेती सुरू गरे। उनको परिवार यसैबाट चलेको छ। मनग्गे आम्दानी पनि भएको छ।
‘आज मेरो परिवारमा हामी सबै खुसी छौं,’ रामचन्द्र भन्छन्, ‘मलाई कागतीका प्रत्येक बिरुवा र दाना टिप्दा पैसा टिपेझैं लाग्छ।’
कागती खेतीमा रामचन्द्रका परिवारजन सबै आआफ्ना ढंगले संलग्न छन्। श्रीमती तुलसा खड्का, दस कक्षामा र पाँच कक्षामा पढ्ने छोरा फुर्सदको समयमा खेतीमा कम गर्छन्।
रामचन्द्रका बुबा बलवीर छोराको सफलताबाट खुसी छन्। रूकुममा पढाउने दाजु लोकेन्द्र दाङमा भाइको कागती खेतीको सफलता देखेर खुसी लाग्ने गरेको बताउँछन्। बिरुवा उत्पादन गर्ने, गोडमेल गर्ने र एकै पटक धेरै कागतीका टिप्नु पर्ने समयमा श्रमिकहरूले काम पनि पाउँछन्।
रामचन्द्र २०६८ सालमा तुलसीपुर–१९, हाडीमे गाउँमा तीन कठ्ठा ऐलानी जमिन र त्यसमा बनेको घर किनेर दाङका बासिन्दा भएका थिए। छोटो समयमा उनले गरेको प्रगतिबाट छिमेकीहरू पनि दंग छन्।
‘उहाँ (रामचन्द्र) को मेहनत र लगनशीलता ठूलो कुरा हो,’ एक जना स्थानीयबासी भन्छन्, ‘हामी त्यसै डुलेर बस्यौं। उहाँले हाम्रै ठाउँमा जग्गा भाडामा लिएर गरेको कागती खेतीले ठूलो प्रगति गर्नुभयो।’
रामचन्द्र जमिनदारका छोराछोरीहरूले घमण्डमा रमाउँदै समय बिताएको देख्दा नरमाइलो लाग्ने गरेको बताउँछन्।
‘युवाले केही रचनात्मक र सकारात्मक काम गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘दाङमा धेरै जमिन बाँझो छ। युवा कस्सिएर लाग्ने हो भने त्यसमा सुन फल्छ।’
उनलाई नेपाली युवाको दिमागमा विदेश भरिएको देखेर दिक्दार लाग्छ।
भन्छन्, ‘हाम्रा युवा कि विदेश जान चाहन्छन् कि काम नगरी राजनीतिक दलका भाषणमा रमाउँछन्। यस्तो प्रवृत्ति घातक छ।’
लगनशील भएर दृढताका साथ कुनै एक काममा लाग्न युवाहरूलाई रामचन्द्रको सुझाब छ। उनका अनुसार सानो लगानीमा सानै काम सुरू गरेर अघि बढ्नु सफलताको कडी हो।