यही साताको एक दिन, मध्याह्न टन्टलापुर घाम छ। पूर्वी नेपालमा निरन्तर वर्षाले क्षति पुर्याउन थाल्दा यता दाङमा गतिलो गरी पानी पर्न सकेको छैन। किसानले खेतमा राखेका धानका ब्याड पटपटी फुटेका छन्, झरीको प्रतीक्षा छ।
दंगीशरण गाँउपालिका वडा नम्बर ५, पोटली गाँउमा करिब झन्डै दस बिघा जग्गामा सिजन अनुसार विभिन्न जातका तरकारी खेती गर्छन् ५८ वर्षीय डिल्लीराम न्यौपाने।
उनलाई वर्षा नभएकोमा अरू किसानलाई जस्तो चिन्ता छैन। सिँचाइका लागि डिप बोरिङ गरेका छन्। उनीसँग अन्नबाली छैन।
म पुग्दा टन्टलापुर घाममा खेतालाहरू धमाधम करेलाका बेर्ना रोप्दै थिए। आजै काँक्राको नर्सरी बनाउने दिन छ। पन्ध्र दिनमा काँक्रो रोप्न सुरू हुन्छ।
पौने दस बिघाको प्लटमध्ये आगामी दसैं–तिहारजस्ता मुख्य चाडका लागि उत्पादन हुने गरी झन्डै पाँच बिघा क्षेत्रफलमा टमाटर खेतीको तयारी हुँदैछ। बाँकीमा काउली, बन्दा, करेलो, काँक्रो, भन्टा इत्यादि रोप्ने तयारी छ।
डिल्लीरामका अनुसार यसअघि काँक्रो, भेडे खुर्सानी, फर्सी, लौको र टमाटरबाट निकै राम्रो आम्दानी भयो।
अहिले बोडी, भन्टा र केही अकबरे खुर्सानीबाहेक अरू सबै हटाएर जमिन तयारी अवस्थामा राखेका छन्। पुराना बोट खाडलमा हालेर मल उत्पादन गर्छन्।
‘यस पटक दाङमा अरूभन्दा टमाटरको रेट एकदमै राम्रो गइदियो,’ डिल्लीरामले भने, ‘हामीजस्ता किसानले खेतबारीमै प्रतिकेजी ८० रूपैयाँसम्म मूल्य पायौं। निकै राम्रो भयो।’
डिल्लीराम कृषि प्राविधिक हुन्। उनी काठमाडौंको टोखाका स्थायी बासिन्दा हुन्। झन्डै २५ वर्ष सरकारी जागिरमा बिताए। त्यसपछिको आठ वर्ष कृषिसम्बन्धी निजी कम्पनीमा काम गरे।
किसानलाई मल र बिउ बेच्ने तथा प्राविधिक सहयोग गर्ने उक्त निजी कम्पनीमा काम गर्ने क्रममा उनी थाइल्यान्डमा तीन महिना कृषिसम्बन्धी तालिममा सहभागी हुन पाए। आफैं कृषि प्राविधिक, त्यसमाथि विज्ञहरूको संगतले उनको दक्षता खारिँदै गयो।
डिल्लीरामले काठमाडौंबाट पाँच सय किलोमिटर टाढाको दाङ आएर यसरी व्यावसायिक तरकारी खेती सुरू गरेको धेरै भएको छैन, एक वर्ष पुग्यो। यही वर्ष दिनमा उनले तरकारी खेतीमा ठूलो फड्को मारेका छन्।
आखिर डिल्लीरामले तरकारी खेतीका लागि काठमाडौंबाट यति टाढाको दाङ किन रोजे त?
‘काठमाडौंमा एकै ठाउँमा धेरै जग्गा पाइँदैन। खेताला पाउन पनि मुश्किल पर्छ,’ उनले दाङ आइपुग्नुको कारण बताए, ‘काठमाडौंको जग्गा जति सबै घरघडेरीका लागि खण्डीकृत भएको छ। कतै जग्गा पाइहाले पनि चर्को भाडाले समस्या पार्छ।’
काम गर्ने श्रमिकका मामलामा दाङमा डिल्लीरामको सुखद अनुभव छ। महिला श्रमिकहरू धेरै पाइने हुँदा तरकारी खेती गर्न सजिलो भएको उनले बताए।
‘दाङको विशेषता अचम्मको रहेछ। काम गर्ने महिलाहरू धेरै छन्। महिलाहरूले बेर्ना तयार गर्ने, रोप्ने, गोडमेल गर्ने, तरकारी टिप्ने जस्ता काम गर्छन्,’ उनले भने, ‘विषादी छर्ने, र अलिक बढी बल पर्ने काम पुरूषले गर्छन्।’
काठमाडौंमा तरकारी खेती गर्दा टनेल बनाउनु पर्छ। दाङमा टनेल नभए पनि खेती सकिने भएकाले सजिलो भएको डिल्लीरामले बताए। उनका अनुसार दाङको हावापानी र तापक्रम तरकारी खेतीका लागि उपयुक्त छ।
‘व्यावसायिक खेतीका लागि दाङ नेपालकै उपयुक्त ठाउँ हो। दाङ तरकारी खेतीका लागि त स्वर्गजस्तै भूमि हो,’ उनले भने, ‘ममात्रै मात्रै होइन, बाहिरका थुप्रै मानिस यहाँ आएर खेती गर्दैछन्।’
दाङमा व्यावसायिक तरकारी खेती विस्तार गर्ने हो भने सिंगो नेपाललाई पुग्ने गरी उत्पादन हुने डिल्लीरामको विश्वास छ।
भन्छन्, ‘दाङ सबै दृष्टिले तरकारी खतीका लागि उत्कृष्ट छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको उर्वर भूमि अन्त पाउन मुश्किल पर्छ।’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का केही ठाउँमा गुल्मी र काठमाडौंका मानिसहरू मिलेर विगत केही वर्षयता व्यावसायिक रूपमा तरकारी खेती गर्दैछन्।
तुलसीपुर पश्चिमको क्षेत्रमा डिल्लीरामले सुरू गरेको तरकारी खेती हालसम्मकै सबैभन्दा ठूलो हो। उनको तरकारी खेती तुलसीपुरबाट नौ किलोमिटर पश्चिममा छ।
उनले पोटलीका बासिन्दा पाँच जनाको नौ बिघा १५ कट्ठा जमिन भाडामा लिएर तरकारी खेती सुरू गरेका हुन्।
पाँच जनाको भए पनि जमिन एकै प्लट छ। भाडा प्रतिकठ्ठा तीन हजार रुपैयाँ तिर्छन्। सबै लगानी एकल हो, स्थानीयबासी एघार जनाले नियमित रोजगारी पाएका छन्।
हालसम्म ३२ लाख रुपैयाँ खर्च भएको डिल्लीरामले बताए। एक वर्षमा १९ लाख रुपैयाँको तरकारी बेचे। सबै खर्च कटाएर दस लाख रुपैयाँ नाफा भयो।
डिल्लीरामको उत्पादन दाङबाहिर पोखरा, धनगढी र अन्य केही सहरहरूमा पुग्ने गरेको छ। व्यापारका लागि उनले सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेका छन्।
चिनजानका व्यापारीलाई सामाजिक सञ्जालमार्फत् तरकारीको फोटोसहित सबै विशेषता जानकारी गराउँछन्। यसै आधारमा व्यापारीहरूले तरकारी मगाउँछन्।
उनले भने, ‘व्यापारीकै गाडी आएर तरकारी लैजान्छ। गाडी नआउने भएर भाडा लिएर हामी आफैं पठाइदिन्छौं।’
धेरै जसो भुक्तानी इ–सेवाबाट हुन्छ।
डिल्लीरामकी श्रीमती शान्ति केही दिनअघि खेतीमा आएकी छन्।
‘उनी (शान्ति) पनि कहिलेकाहीँ आउँछिन् र यहाँ मेरो मेहनत फलेको देखेर खुसीले गदगद् हुन्छिन्,’ उनले भने, ‘म सुगर (मधुमेह) र प्रेसर (उच्च रक्तचाप) को बिरामी हुँ। वरिपरिको यो हरियालीले मन शान्त पारिदिन्छ।’
अब फाइदा बढ्छ
डिल्लीरामका अनुसार पहिलो वर्ष तारबार र संरचना निर्माणमा खर्च भयो। अब मल, बिउ र अन्य नियमितबाहेक अतिरिक्त खर्च गर्नु पर्दैन।
‘अब मैले भौतिक संरचनामा लगानी गर्नुपर्दैन,’ उनले भने, ‘फाइदा बढ्दै जाने आशा छ।’
उनको अनुभवअनुसार तरकारी खेतीमा अरू व्यवसाय जस्तो ठ्याक्कै यति उत्पादन होला, यतिमा बिक्री होला र यति नाफा होला भनेर पहिले नै ढुक्क हुन सकिँदैन। उत्पादन मौसममा र नाफा बजारभाउमा भर पर्छ।
नाफा–घाटा आफ्नो ठाउँमा छँदैछ। डिल्लीरामका लागि कृषि पेसा जीवनको सन्तुष्टि हो।
भन्छन्, ‘सबैभन्दा ठूलो कुरा सन्तुष्टि हो। तरकारी बारीमा साँझ–बिहान टहलिन पाउँदा निकै खुसी हुन्छु।’
डिल्लीरामले स्थानीयवासीको राम्रो साथ पाएका छन्।
‘गाउँले दाजुभाइहरू यहाँ आइरहनुहुन्छ, व्यावसायिक तरकारी खेतीबारे सोध्नुहुन्छ,’ उनी भन्छन्, ‘मैले जानेसम्म सबै बताउँछु। तरकारी लिन मकहाँ नआउनुहोला भन्छु र सिजनअनुसारको बिरूवा दिएर पठाउँछु।’
मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी विषादीको प्रयोग नगरी तरकारी उत्पादन गर्ने गरेको डिल्लीरामको भनाइ छ।
उनका अनुसार चीनबाट र थाइल्यान्डबाट ‘पिएनआर’ नामको मल ल्याउँछन्। यो मलले माटाको गुणस्तर ह्रास गर्दैन।
कुखुराको सुली, गाईवस्तुको गोबर, तोरीको पिना इत्यादिबाट आफैं प्रांगारिक मल पनि बनाउँछन्। यी सामग्री उनी स्थानीय किसानसँग किन्छन्।
आफैं कृषि प्राविधिक भएकाले डिल्लीरामलाई धेरै प्राविधिक सल्लाह चाहिँदैन। बरू कुनै समस्या पर्दा आसपासका अन्य तरकारी कृषकले उनलाई बोलाएर सहयोग लिन्छन्।
सीप हस्तान्तरमा रूचि
डिल्लीराम स्थानीय कृषकहरूलाई कृषि प्रविधिबारे सल्लाह दिन्छन्। सिप सिकाउँछन्।
उनी भन्छन्, ‘सीप हस्तान्तरण गर्न पाउँदा औधी खुसी लाग्छ। यहाँको खेती प्रणालीमा थोरै भए पनि सुधार गर्न सके मेरा लागि ठूलो उपलब्धि हुनेछ।’
उनका अनुसार दाङमा अझै पनि गुजारामुखी खेतीमात्रै छ। आधुनिकतातिर नगए खेतीबाट गुजारा चल्छ, लाभ हुँदैन। किसानहरू खेतीबाट पलायन हुनुको मुख्य कारण पनि यही हो।
डिल्लीराम धेरै जसो हाइब्रिड जातका बिउ प्रयोग गर्छन्। काठमाडौंमा उनको ‘एग्री फर्म’ छ। धेरै जसो बिउ त्यहीँको प्रयोग गर्छन्।
‘एग्री फर्म’ छोरा-बुहारीले सम्हालेका छन्। काठमाडौंको सीतापाइलामा संयुक्त लगानीमा एउटा कृषि फार्म पनि सञ्चालन गरेका छन्।
दाङ जिल्लाका थुप्रै युवाहरू रोजगारीका लागि विदेश गएका छन्। यता खेतबारी बाँझै छ। काठमाडौंका डिल्लीराम यहाँ जमिन भाडामा लिएर खेती गर्दैछन्।
यस्तो अवस्थाबारे जिज्ञासा राख्दा उनले भने, ‘आफ्नै बिनाको सुगन्ध खोजेर भौंतारिएको कस्तुरी जस्तो भयो। मैले दंगाली युवाहरू कस्तुरी जस्तै देखेँ। आफ्नो बहुमूल्य सम्पत्ति यसरी खेर फाल्नु हुँदैन।’
युवाहरूमा उद्यमको सोच जगाउने र आवश्यक सहयोग गर्ने प्रभावशाली सरकारी निकाय हुनुपर्ने डिल्लीरामको सुझाव छ।
किसानका लागि सहयोगी सरकारी निकाय नै नरहेको उनको अनुभूति छ।
उनले भने, ‘मेरो खेती हेर्न वर्ष दिनमा कृषि ज्ञान केन्द्रबाट एक जना कर्मचारी आए। रामो गर्नुभएको रहेछ भनेर फर्के।’
अनुदान वा सहयोगका लागि आफूले कुनै पनि निकायमा आग्रह नगरेको उनले बताए।
‘किसानका लागि नेपालमा सरकार छँदै छैन,’ उनी भन्छन्, ‘धान रोप्ने बेलामा मल छैन। कुन आधारमा किसानका लागि सरकार छ भन्नु र!’
भारतबाट आउने तरकारीका सन्दर्भमा सरकारी व्यवहार डिल्लीरामलाई चित्त बुझेको छैन।
उनले भने, ‘भारतबाट तरकारी सुनौलीमा आएपछि उनीहरूका एजेन्टले विषादीरहित भनेर सजिलै सिफारिस लिन्छन्। नेपाली किसानले उत्पादन गरेको तरकारीमा विषादी परीक्षण भनेर हैरान पार्छन्।’
दाङमा कृषि बीमाको व्यवस्था सन्तोषजनक नरहेको उनको गुनासो छ।
कृषि बिमा गर्न किसानलाई प्राविधिक सहयोग चाहिन्छ।
‘यहाँ त बीमा गरे पनि पैसा निकाल्ने बेलामा घुस दिनुपर्ने अवस्था देखेको छु,’ उनी भन्छन्, ‘यहाँ त किसानलाई बाध्यतामा पारिएको छ।’
सरकारको नीति अनुकूल नभएका कारणले नेपाली किसानको उन्नति हुन नसकेको डिल्लीरामको निष्कर्ष छ।
कृषिमा युवाको आकर्षण बढाउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनको सुझाव छ।
डिल्लीरामका अनुसार व्यावसायिक कृषक बन्न केही विशेष ज्ञान हुनु उत्तिकै जरूरी छ। आफ्नो माटो चिन्नुपर्छ। केही लगानी गर्ने क्षमता पनि चाहिन्छ। धैर्य अर्को अनिवार्य गुण हो।
यसो भए देश कृषि उत्पादनमा आत्मनिर्भर हुने र निर्यातसमेत गर्न सक्नेमा डिल्लीराम विश्वस्त छन्।