मुख्य खाद्यान्न धान रोपाइँ धुमधामले चलिरहँदा किसानले खेतमा मल राख्न पाएका छैनन्। सरकारले यस आर्थिक वर्षमा रासायनिक मल खरिदमा ३० अर्ब रूपैयाँ विनियोजन गरे पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन सकेको छैन।
रासायनिक मल किनेर किसानलाई अनुदानमा वितरण गरिरहेको सरकारले प्रांगारिक मलमा भने कुनै अनुदान दिएको छैन। त्यसैले रासायनिक मलको अभाव चर्किरहँदा प्रांगारिक मल भने खेर गइरहेको गण्डकी ऊर्जाका सञ्चालक कुशल गुरुङ बताउँछन्।
उनी भन्छन्, 'रासायनिक मल नपाएर किसान हैरान छन्। प्रांगारिक मल भने खेर गइरहेको छ। प्रयोग गर्न सरकारले कुनै सहुलियत पनि दिएको छैन।'
धान रोप्दा मल राख्न नपाउँदाको असर उत्पादनमा पर्ने कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख मनोहर कडरिया बताउँछन्। रासायनिक मल अभाव चर्किँदा किसानलाई प्रांगारिक मल प्रयोग गर्न प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ। तर सरकारसँग प्रांगारिक मलमा अनुदान दिने नीति छैन।
नेपालमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले मल खरिद-बिक्रीको अनुमति पाएको छ। तर यी दुवै कम्पनीले आवश्यक मल बिक्री-वितरण गर्न सकेका छैनन्।
रासायनिक मलको अभाव खड्किँदा पोखरा–३२ मझुवास्थित प्रांगारिक मल उत्पादक कम्पनी गण्डकी ऊर्जाबाट उत्पादित मल बिक्री नै हुन सकेको छैन। कम्पनीमा अहिले पनि करिब ३ सय टन प्रांगारिक मल बाँकी छ। प्रांगारिक मल प्रयोग गर्न सरकारी नीति बाधक भएको सञ्चालक गुरुङ बताउँछन्।
अहिलेसम्म सरकारले प्रांगारिक मल खरिदमा किसानलाई कुनै अनुदान नदिएको गुरुङको भनाइ छ।
यस्तै उपभोक्ताले एक हजार ८ सय रूपैयाँमा किन्ने एलपी ग्यास सिलिन्डरमा सरकारले ९ सय ८० रूपैयाँ अनुदान दिन्छ। तर बायोग्यासमा कुनै अनुदान छैन। गण्डकी ऊर्जाबाट उत्पादित बायोग्यास एलपी ग्यास भन्दा प्रतिकिलो तीन रूपैयाँ सस्तोमा बेच्नु परेको गुरुङले बताए।
'मलमा सरकारले ठूलो रकम अनुदानमा खर्च गर्छ। त्यही पनि विदेशबाट आयात गर्दा समयमै उपलब्ध गराउन सकेको छैन,' उनले भने, 'हामीले यहीँ उत्पादन गरेको बायोग्यास र प्रांगारिक मलमा भने कुनै अनुदान छैन। रासायनिक मल र एलपी ग्याससँग प्रतिस्पर्धा गर्नुपरेको छ।'
गण्डकी ऊर्जा पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक १५ सय टन मल उत्पादन गर्न सक्छ। अहिले वार्षिक ४ सय टन मात्र उत्पादन गरिरहेको छ। वार्षिक तीन सय टन बिक्री हुन्छ। प्रांगारिक मल प्रयोग गर्दाको फाइदा बुझेका किसान र केही सरकारी निकायले किसानलाई अनुदानमा वितरण गर्न उक्त परिमाणमा मल किनेको उनको भनाइ छ।
प्रांगारिक मल थुप्रिँदा उद्योगमा राख्ने ठाउँ अभाव भएको गुरुङले बताए। उत्पादित ग्यास भने पोखराका केही रेस्टुरेन्ट, होटल, अस्पताल लगायतले प्रयोग गरिरहेका छन्। एलपी ग्याससँग प्रतिस्पर्धा गर्नु परेकाले बायोग्यासको मूल्य घटाउन उपभोक्ताले दबाब दिइरहेको उनले बताए।
गण्डकी ऊर्जाले वरपरका गाउँबाट गोबर किनेर बायोग्यास र प्रांगारिक मल उत्पादन गरिरहेको छ। यसका साथै पोखरा महानगरबाट संकलन हुने कुहिने फोहोरसमेत कम्पनीले किनेर मल र ग्यास उत्पादनमा लगाएको गुरुङ बताउँछन्।
'यहीँ उत्पादन भएको प्रांगारिक मल र ग्यासमा सरकारले वास्ता नै गरेन,' उनले भने, 'विदेशबाट ल्याउनुपर्ने रासायनिक मल र एलपी ग्यासलाई प्रोत्साहन गरेको छ, यसले अर्थतन्त्रलाई पनि राम्रो गर्दैन।'
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख कडरिया बायोग्यास र प्रांगारिक मल प्रयोग गर्न प्रोत्साहन दिनुपर्ने बताउँछन्। स्थानीय सरकारले मात्र नभई संघीय र प्रदेश सरकारले यस्तो नीति लिनुपर्ने उनको भनाइ छ।
'प्रांगारिक मल प्रयोगको फाइदा बुझ्ने हो भने सरकारले रासायनिकमा भन्दा धेरै अनुदान दिनुपर्छ,' उनले भने, 'वातावरण, समाज, पानी लगायत सबै स्वस्थ राख्ने भएकाले पनि यसको महत्व सरकारले बुझ्नुपर्छ।'
रासायनिक मलले माटोको गुणस्तर घटाउँदै लैजाने र प्रांगारिकले भने बढाउने उनको भनाइ छ। प्रांगारिक मल प्रयोग गरेर उत्पादित खाद्यान्न स्वस्थ्यकर हुने भन्दै उनले प्रांगारिक खेती अभियान चलाउनुपर्ने बताए।
'रासायनिक मल पानीमा पुग्यो भने पानी नै दूषित पार्छ। माछा लगायत जलचर मार्छ,' उनले भने, 'प्रांगारिक मलले पानी सफा राख्छ, माछालाई आहार दिन्छ।'
बजारमा अहिले प्रांगारिक मल किलोको ३० रूपैयाँ हाराहारी छ। सरकारले दोब्बर अनुदान दिएको रासायनिक मल भने कम्तीमा २२ रूपैयाँ किलो पर्ने कडरियाले बताए।
'रासायनिकमा राज्यले जति अनुदान दिएको छ, त्यति नै प्रांगारिकमा दिने हो भने हारालुछ हुन्छ,' उनले भने, 'प्रांगारिक मल प्रयोग गरेर उब्जिएका खाद्यान्न र तरकारीको मूल्य नै उच्च छ। उपभोक्ताको स्वास्थ्य मात्र नभई वातावरणीय स्वास्थ्यका लागि पनि हितकर छ।'
उत्पादन लागत उठाउन प्रांगारिक मल धेरै प्रयोग गर्नुपर्ने उनले बताए। उनका अनुसार सय किलो युरिया मलमा ४६ किलो नाइट्रोजन बालीले पाउन सक्छ। खाद्यान्नका बालीलाई सबभन्दा बढी नाइट्रोजन आवश्यक पर्छ। सय किलो प्रांगारिक मल प्रयोग गर्दा भने बालीले तीन किलो मात्र नाइट्रोजन पाउँछ। यही कारण रासायनिकभन्दा १५ गुणा बढी प्रांगारिक मल प्रयोग गर्नुपर्ने कडरियाले बताए।
उनका अनुसार तर रासायनिक मलबाट बालीले नाइट्रोजन मात्र पाउँछ। प्रांगारिक मलबाट भने नाइट्रोजनसँगै फोस्फरस, पोटास लगायतका तत्व पनि बालीलाई प्राप्त हुन्छ। तत्काल धेरै प्रयोग गरे पनि माटो र बालीलाई कुनै असर गर्दैन। रासायनिक मल प्रयोग गरेको जमिनमा अर्को वर्ष झन् धेरै प्रयोग गर्नुपर्छ। जमिनबाट उत्पादन घट्दै जान्छ। तर प्रांगारिक मल प्रयोग गर्दा उत्पादन बढ्दै जाने कडरियाको भनाइ छ।
'उत्पादनको भविष्यका लागि प्रांगारिक मल नै हितकर हुन्छ,' उनी भन्छन्, 'प्रांगारिक मल प्रयोग गरेर अहिले पनि उत्पादन बढाउन सकिन्छ। प्रांगारिक खेती भनेको दिगो हो, यसका फाइदा मात्र छन्, बेफाइदा केही छैन।'
यो पनि: सिलिन्डरमा भरेर बेचिन्छ गोबर र फोहोरबाट बनेको बायोग्यास