आज असार १५ अर्थात् धान दिवस। नेपालमा २०६१ सालदेखि विभिन्न नाराका साथ यो दिवस मनाइँदै आएको छ। कृषि प्रधान देशमा धान दिवस मनाइरहँदा किसानलाई भने कुनै उत्साह छैन।
किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले साथ दिएको छैन। यस वर्ष पनि अधिकांश किसान मल बिनानै रोपाईं गर्न बाध्य छन्।
अधिकाशं किसानले मल बिना धान रोपेको कृषि अभियान्ता उद्धव अधिकारीले बताए। 'धेरै ठाउँमा किसान मल नपाएर आत्तिएका छन्। केही ठाउँमा थोरै मात्रामा मल पुगेको छ,' उनले भने। उनका अनुसार धान रोप्न दुई बोरा मल लाग्ने ठाउँमा किसानले पाँचदेखि दश किलो मलले पुर्याएका छन्।
वर्षै पिच्छे मिठो नारा दिने तर कार्यान्वयनमा नल्याउने प्रवृत्तिले नेपालको कृषि खस्किँदै गएको उनको भनाइ छ। 'कार्यान्वयनमा नीति निर्माताको जाँगर देखिदैँन। किसानको मात्र बलबुताले भ्याउँदैन,' उनले भने, 'अब त्यो मलले काम गर्छ कि गर्दैन थाहा छैन।'
किसानको माग अनुसारको मल नपाएको धादिङ कुखुरे चौरका किसान विनोद खुकुरेलले बताए। 'मागेअनुसारको मल छैन,' उनले भने, 'मल पनि अहिले त कस्तो हो, नक्कली जस्तो देखिन्छ। पहिलाको जस्तो दाना नै छैन। उत्पादन हुने हो कि नहुने हो थाहा छैन।'
रासायनिक मल बिना धान रोप्नु, सिचाईं हुने जमिन न्यून हुनु तथा प्राकृतिक प्रकोपले क्षति पुर्याउँदा धानको उत्पादन बढ्न सकेको छैन। किसानको यो भनाइलाई चामलको आयातको तथ्यांकले पनि प्रस्टयाउँछ।
मुलुकमा आयात हुने धानको परिमाण बढ्दो छ। चालु आर्थिक वर्ष २०७८-७९ (साउनदेखि जेठसम्म) को ११ महिनामा ४९ करोड ३० लाख किलो चामल आयात भएको छ। त्यसका लागि २७ अर्ब १२ करोड रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ।
यो तथ्यांकलाई आधार मान्ने हो भने देशको धान उत्पादनले जनसंख्यालाई पुग्दैन। हालसम्म सातै प्रदेशमा गरी २२ प्रतिशत रोपाईं सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए। असार १५ पछि रापाईं बढ्दै जाने उनको भनाइ छ।
'अहिलेसम्म हामीले पाएको जानकारी अनुसार देशभर २२ प्रतिशत रोपाईं भएको छ,' उनले भने, 'आजबाट दैनिक बढ्दै जान्छ।'
उनकाअनुसार अहिले किसानले डिएपी मलले रोपाईं गरेका छन्। टप ड्रेसिङका लागि कृषि सामाग्री कम्पनीको मल आइपुग्ने छ।
'धान रोपेको एक-डेढ महिनापछि टप ड्रेसिङ गर्ने हो। ३० हजार मेट्रिक टन मल साउनको पहिलो हप्तासम्म आइपुग्छ,' उनले भने।
भातरतीय सरकारसँग जिटुजी मार्फत पहिलो चरणमा १५ हजार टन मल ल्याउन सैद्धान्तिक सम्झौता भएको उनले जानकारी दिए। उनले थप भने, 'भारतीय सरकारसँग फास्ट ट्र्याकमा मल ल्याउन सम्झौता भएको जानकारी पाएका छौं। आर्थिक सम्झौता भएपछि मल आउने छ। आर्थिक सम्झौता गर्न कृषि सामाग्री कम्पनीका प्रतिनिधि भारत गएका छन्।'
सिँचाइको राम्रो व्यवस्था हुने हो भने नेपालमा ६ देखि ७ मेट्रिक टन धान उत्पादन गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन्। नेपालमा धानको उत्पादकत्व सबै दक्षिण एशियााली देशको तुलनामा न्यून छ। तराईं तथा भित्री मधेसमा ६८.५४ प्रतिशत, मध्य पहाडमा २७.४६ प्रतिशत, उच्च पहाडमा ४ प्रतिशत गरी करिब १४.६९ लाख हेक्टर भू-भागमा धान खेती गरिँदै आएको तथ्यांक छ।
यो क्षेत्रमा हुने धानको उत्पादन ५६.१८ लाख मेट्रिक टन र उत्पादकत्व ३.७६ मेट्रिकटन प्रतिहेक्टर छ।
नेपालको कुल खेतीयोग्य भू-भागको करिब ६५ प्रतिशत मात्र सिँचाइ क्षेत्र छ। त्यसमध्ये पनि वर्षभरि सिँचाइ सुविधा २८ प्रतिशतमा मात्रै छ। धानको कुल क्षेत्रमध्ये ३० प्रतिशत उच्च खडेरीको जोखिममा छ भने १५ प्रतिशत बाढीको जोखिममा छ।
किसानको गुनासोलाई मध्यनजर गरेर राष्ट्रिय बाली प्रजनन् तथा अनुवांशिक अनुसन्धान केन्द्रले थप दुई मसिना धानको जात विकास गरेको छ। खुमल १२ र खुमल १४ गरी दुई मसिना धानका दुई जात विकास गरेको केन्द्रका धान विज्ञ उज्ज्वल कुशवाहाले जानकारी दिए।
यो मध्यपहाडी क्षेत्रका लागि विकास गरिएको जात हो। केन्द्रले मध्यपहाड र उच्च पहाडका लागि धान, गहुँ तथा मकैका जात विकास गर्छ। सरकारले यस वर्ष १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मनाएको हो।
कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर 'धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने मूल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ कृषि अनुसन्धान परिषद्मा मनाएको छ।