मान्छेहरू भन्छन्– रूखमा पैसा फल्दैन।
यस कथन विपरीत यता चितवनका ६३ वर्षीय हरिप्रसाद अधिकारी रूखमा पैसा फलाउँदै छन्। उनले रोपेको रूखका पात पैसासरह छन्।
गत हप्ता म पुग्दा हरिप्रसाद खेतमा व्यस्त थिए। एकै जातका दुई हजार रूख हुर्कंदै गरेको खेतको एउटा कुनामा उनी केही गर्दै थिए।
झट्ट हेर्दा ‘सितलचिनी’ का जस्ता देखिने रूखतिर औँला सोझ्याउँदै उनले भने, ‘यी रूखका पात अरू पातभन्दा फरक हुन्। यी साना पात डलरमा बिक्री हुन्छन्।’
यो रूखको नाम ‘मोरिङ्गा वलिफेरा’ हो। यो हामी धेरैले देखेको सितलचिनीकै एक प्रजाति हो।
हरिप्रसादका अनुसार बजारमा बेच्न राखिने सितलचिनीको रूख ठूलो हुन्छ, यो सानो हुन्छ। सितलचिनीको रूखको आयु २० वर्षभन्दा बढी हुन्छ, यसको १० वर्षजति मात्रै हुन्छ।
मोरिङ्गा वलिफेरा औषधीय वनस्पति हो। यसको पिकेएम–१ र पिकेएम–२ जात पात उत्पादनका लागि उपयुक्त हुन्छ। यसको पात प्रशोधन गरेर बनाइएको पाउडर उच्च पोषणयुक्त हुन्छ। यो धेरै प्रकारका औषधिहरूमा प्रयोग हुन्छ।
हरिप्रसादले चौध महिनाअघि २०७८ साल वैशाखमा यसको बिउ रोपेका थिए। एक वर्षमा बिरुवा हुर्केर उत्पादन दिने रूख भइसकेका छन्। उनले एक पटक पात टिपेर बिक्री गरे।
‘यो नेपालीले चिन्न नसकेको रूख हो। विदेशीले यसको उत्पादन असाध्यै मन पराउने रहेछन्,’ उनले भने, ‘उत्पादन गर्न सक्ने हो भने बजारको अभाव छैन। किन्ने मान्छे खेतैमा आउँछन्।’
उनका अनुसार यो रूखको पातबाट बनेको पाउडर पश्चिमा देशहरूमा पुग्ने गरेको छ।
हरिप्रसादले मोरिङ्गा वलिफेराको पात सप्लायर्सलाई बिक्री गर्छन्। सप्लायर्सले यसको पाउडर बनाएर विदेश पठाउँछन्।
नेपालमा यो पाउडर एक सय ग्रामको कम्तीमा दुई सय रुपैयाँमा बिक्री हुन्छ। अमेरिका, युरोप र चीनमा प्रतिकेजी ४० डलरसम्ममा बिक्री हुने गरेको उनले बताए।
हरिप्रसादको दुई बिघा जमिनमा दुई हजार रूख हुर्कंदैछन्। उनका अनुसार यति रूखबाट वर्षमा एक लाख केजीसम्म पात उत्पादन हुन्छ।
‘यसलाई मल र पानी धेरै चाहिँदैन। आफैँले तयार पारेको अर्गानिक मल प्रयोग गर्ने गरेको छु,’ उनले भने, ‘पात बारीबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुन्छ।’
उनले मोरिङ्गाका रूखका बीचमा लाइन मिलाएर भुइँकटहर रोपेका छन्। भुइँकटहर लगाउन कृषि ज्ञान केन्द्रले एक लाख पचहत्तर हजार रुपैयाँ अनुदान दिएको थियो।
उनले यो वनस्पति सम्बन्धी सामग्री सबैभन्दा पहिले युट्युबमा हेरेका थिए। सजिलै हुर्काउन सकिने, पातबाटै पैसा आउने र बजारको समस्या नभएको थाहा पाएपछि उनले नेपालमा यसको खेती भएका ठाउँ खोजी गरे।
यसबारे बुझ्न बुटवलको सैनामैना पुगे।
‘फर्किएर घर आएको केही दिनमा भारतीय टेलिभिजनमा पनि यससम्बन्धी सामग्री देखेँ। यो त असाध्यै राम्रो हुने रहेछ भन्ने लागेपछि बीउ खोज्न थालेँ,’ उनले भने, ‘प्रतिकिलो दस हजार रुपैयाँ जतिमा बिउ पाइँदो रहेछ। किनेर रोप्न सुरु गरिहालेँ।’
हरिप्रसाद अब यो खेती बिस्तार गर्दै पात प्रशोधन गरेर पाउडर बनाउने काम सुरु गर्ने योजनामा छन्। यसो गर्न लगानी थप्नुपर्छ। भरपर्दो लगानीकर्ता फेला परे भने मिलेर अघि बढ्ने सोचेका छन्।
चितवनमा मोरिङ्गा वलिफेराको खेती गर्ने हरिप्रसादमात्रै हुन्। नेपालमा गोरखा, रुपन्देही, मोरङलगायतका जिल्लामा केही वर्षदेखि यसको खेती भइरहेको छ।
रत्ननगर नगरपालिका–१४, आदर्श टोलका हरिप्रसाद अधिकारी पूर्वशिक्षक हुन्। उनले चतुर्मुखी मावि शक्तिखोरबाट २०५३ सालमा अवकाश लिएका हुन्।
करिब २३ वर्ष सामुदायिक विद्यालयमा सेवा गरेपछि उनले आफ्नै अग्रसरतामा रत्ननगर–१२ मा सगरमाथा आवासीय विद्यालय स्थापना गरे। त्यहाँ २१ वर्ष पढाए। उनले केही वर्ष जनआदर्श बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा पनि पढाए।
उनले २०७४ सालको वैशाखमा घर नजिकै केही जमिन भाडामा लिएर मालभोग केरा लगाएका थिए। केराले राम्रो उत्पादन दिने संकेत देखायो।
‘पढ्ने र पढाउने गरेर विद्यालयमा मात्रै सीमित भएको थिएँ। केराले मेरो ध्यानाकर्षण गर्यो। पढ्ने–पढाउने अब पुग्यो, म जत्तिको बुझेको मान्छेले कृषिमा पनि केही योगदान गर्नु पर्छ भन्ने लाग्यो,’ उनले भने, ‘२०७४ साल चैतमा विद्यालय छाडेर पूर्णकालीन कृषि कर्ममा होमिएँ।’
पूर्णकालीन कृषक भएपछि उनलाई चार बिघाको केराखेती थोरै भयो। क्रमशः जमिन थप्दै दुई वर्षमा करिब २० बिघामा खेती विस्तार गरे।
बिस्तारै केरामा समस्या आउन थाल्यो। पानामा रोगले धेरै असर गर्नथाल्यो।
‘भर्खर–भर्खर कृषिमा जम्दै गर्दा रोगले क्षति हुन थालेपछि मेरोसामु कि छाड्नुपर्ने, कि नयाँ ढंगले अघि बढ्नुपर्ने चुनौती आइपर्यो,’ उनले भने, ‘हरेस नखाई अघि बढ्ने संकल्प गरेँ।’
उनले मालभोगको पुरानो बगान त्यागेर नयाँ ठाउँमा खेती सुरु गरे। एक विघा चार कट्ठामा हरियो केरा जि–९ लगाए। हरिप्रसाद यतिमा रोकिएनन्। नयाँ कृषि उत्पादनको विषयमा चासो राख्दै जाँदा उनले ‘ड्रगन फ्रुट’ बारे थाहा पाए। यसको खेतीबारे बुझ्न पूर्वमा मनहरी, इटहरीदेखि पश्चिममा दाङसम्म पुगे।
उनले पूर्वमन्त्री लोकेन्द्र विष्टलाई सम्पर्क गरेर ड्रागन फ्रुटको खेतीबारे जानकारी लिए। दुई वर्षअघि २०७७ सालमा भारतको कलकत्ताबाट साढे चार हजार बिरुवा मगाएर खेती सुरु गरे।
उनले तीन प्लटमा मोरिङ्गा वोलिफेरा, जि–९ केरा र ड्रागन फ्रुट लगाएका छन्। मालभोग केराको बगान भने खैरहनी नगरपालिकामा छ।
उनले यस वर्ष ड्रागन फ्रुटबाट पहिलो उत्पादन लिए। उनका अनुसार प्रतिकिलो पाँच सय रुपैयाँमा खेतमै बिक्री हुन्छ।
उनले भने, ‘पहिलो लटमा साढे तीन क्विन्टल निकालेर बिक्री गरेँ। मंसिरसम्ममा अरू तीन–चार खेप बजार जान्छ होला।’
उनले डेढ बिघामा ड्रागन फ्रुट लगाएका छन्। एक बिघामा ड्रागन फ्रुटमात्रै छ। बाँकी आधा बिघामा सुन कागती र ड्रागन फ्रुट मिलाएर लगाएका छन्।
ड्रागन फ्रुटका लागि खेत तयार गर्ने, संरचना निर्माण गर्ने, बिरुवा खरिद गर्ने, रोप्नेदेखि फल दिने बेलासम्म प्रतिबिघा २५ लाख रुपैयाँ खर्च भएको उनले बताए।
ड्रागन फ्रुट खेतीमा ठूलो खर्च हुने पहिलो पटकमै हो। ‘हुनेजति खर्च भइसक्यो, अब खर्च सामान्य हुन्छ। यसले करिब २५ वर्ष आम्दानी दिन्छ,’ उनले भने, ‘केही वर्षमा खर्च उठाउन सकेँ भने त्यसपछि फाइदा मात्रै लिने हो।’
हरिप्रसादले करिब एक बिघा जमिनमा लगाएको सुनकागती पनि हुर्किंदै छ। नौ कट्ठामा सुनकागती मात्रै लगाएका छन्। बाह्र कट्ठामा ड्रागन फ्रुटसँग मिलाएर लगाएका छन्।
धेरै बुझेर बिरुवा खरिद गर्दा पनि कागतीका बिरुवामा भने सरकारी निकायबाटै ठगिएको उनको गुनासो छ।
कागतीको बिरुवाबारे बुझ्न उनी धनकुटास्थित सुन्तला जात अनुसन्धान कार्यक्रमको कार्यालय पुगेका थिए। सबै कुरा बुझेपछि त्यहीँका बिरुवा ल्याउने निधोमा पुगे।
सुनकागती–२ नामका २०५ वटा बिरुवा प्रतिविरुवा १५० रुपैयाँका दरले खरिद गरे। ‘मलाई दिइएका बिरुवा त क्यांकर नामको रोगले ग्रस्त रहेछन्। अनुसन्धानको काम गर्ने निकायले नै मलाई रोगी बिरुवा भिडाइदिएछ,’ उनले भने, ‘अहिले यसको उपचार गर्दा गर्दै हैरान भएको छु।’
नौ कट्ठा जमिनमा उनले निजी नर्सरीबाट सुनकागती–१ का दुई सय वटा बिरुवा रोपेका थिए। ती बिरुवामा कुनै समस्या छैन।
‘राज्यले स्वस्थ विरुवा उत्पादन गर्न नसक्ने हो भने किसानलाई बिक्री गर्न हुँदैन। भारतबाट ९० प्रतिशत कागती आयात भइरहँदा नेपालमै उत्पादन गरेर आयात घटाउन सहयोग गरौँ भनेर लागेका किसान राज्यबाटै ठगिनु दुःखद भयो,’ उनले भने, ‘सुन्तला जात अनुसन्धान कार्यक्रमसँग मेरो ठूलो दुःखेसो छ, सुनाइदिनुहोला।’
हरिप्रसादले रासायनिक मल र विषादीको विकल्पमा अर्गानिक मल र जैविक विषादी तयार गर्ने गरेका छन्। खेर गएका जैविक वस्तु प्रयोग गरेर उनी ‘वेस्ट डी कम्पोजर’ तयार गर्छन्।
गोबर, गहुँत, बेसनको पिठो, सख्खर, वनस्पतिको झोल मिसाएर जैविक विषादी तयार पार्छन्।
मार्बल र ग्रिनाइट ‘वेस्ट डी कम्पोजर’ मा राखेर गलाएपछि बनेको झोल खनिज तत्वका रूपमा प्रयोग गर्छन्।
निम, आँक, धतुरो, वेसमे, भाङ र गाईबस्तुका लागि विषादी मानिने वनस्पति, घाँस, झरेका पात गलाएर किटनाशक र पोषणतत्वले भरिपूर्ण मल उत्पादन गर्छन्
‘आवश्यक पर्दा रासायनिक मल नपाउने समस्या छ। म आफ्नो लागि आफैँ मल बनाउने अभियानमा लागेको छु,’ हरिप्रसाद भन्छन्, ‘बिग्रिएको माटो उर्वर बनाउने र गुणस्तरीय उत्पादन गर्ने अभियानमा छु।’
हरिप्रसादले यी सबै कामका लागि हालसम्म करिब एक करोड रुपैयाँ लगानी गरेका छन्। लगानीको आधा रकम सस्तो व्याजको कृषि ऋणबाट जुटाएका हुन्।
‘बाँकी पैसा आफ्नै र केही सरसापट गरेर चलाएको छु,’ उनले भने, ‘अहिलेसम्मलाई भरपर्दो कमाइको स्रोत केरामात्रै छ। बिस्तारै मोरिङ्गा, ड्रागन फूड, सुनकागतीले पनि उत्पादन बढाउँदै जाला भन्ने आशा छ।’
घरमा हरिप्रसाद दम्पत्तीमात्रै छन्। उनीहरू आफू पनि काममा खट्छन्। पूरा खेतीमा दैनिक कम्तीमा १५ जनाले काम गर्छन्। तीन भाइ छोरा रोजगारीका सिलसिलामा काठमाडौं, भारत र दुबईमा छन्।
कृषिमा काम गर्न खोज्नेहरूलाई हरिप्रसादको सुझाब छ– धेरै कुरा बुझेर काम सुरु गर्नू, सकेसम्म रासायनिक मल विषादीको विकल्प खोज्नू।
भिडिओ: