केही सोचविचार गरेर केही मेहनत गरे आफ्नै गाउँठाउँमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धनबहादुर मर्साङ्गी।
सुर्खेतको बराहताल गाउँपालिका–५, रचा गाउँका धनबहादुर कृषक हुन्। कृषिबाटै उनले आम्दानी गर्न थालेकै छन्। छरछिमेकीलाई पनि आफ्नै बाटोमा हिँड्न प्रेरित गरेका छन्।
सुरूमा बर्खामा लगाएको धान काटेपछि जमिन बाँझो बस्थ्यो। त्यो बेला उनी गाउँमै श्रमिकका रूपमा पाएका काम गर्थे। नपाए यसै बस्थे। एक वर्षअघिदेखि भने उनले जमिन बाँझो राख्न छाडे। धान काटेपछि त्यही जमिनमा तरकारी लगाए।
तरकारी खेती सुरू गरेपछि अहिले धनबहादुर मात्र होइन, उनको परिवारका अरू सदस्य पनि व्यस्त हुन थालेका छन्।
'खेती सुरू गरेको पहिलो सिजनमा डेढ लाख रूपैयाँको तरकारी बेचेँ,' धनबहादुरले भने, 'लगानीको हिसाबले एक लाख रूपैयाँ त चोखो बचत भएको छ।'
यसबाट उनको हौसला बढेको छ। पहिलो पटक उनले काँक्राका तीन हजार बिरूवा रोपेका थिए। तीमध्ये आधाजति मात्र हुर्के। उत्पादन चाहिँ उनले सोचेभन्दा राम्रो भयो। काँक्रो मात्र उनले ७५ हजार रूपैयाँको बेचे।
'गाउँपालिकाको कृषि शाखाका सरहरू (कर्मचारी) ले भनेपछि कस्तो हुन्छ विचार गरौं न त भनेर तरकारी खेती गर्न थालेँ। काँक्राबाटै ७५ हजार रूपैयाँ कमाइ भयो,' धनबहादुरले भने, 'फर्सी र लौका पनि एकेक क्विन्टल बेचेँ। अहिले पनि बारीमा फर्सी फलेको छ।'
गत वर्ष धान उठाएपछि बराहताल गाउँपालिकाको कृषि शाखाबाट कर्मचारीहरू उनको गाउँमा पुगेका थिए। उनीहरूले गाउँमा तरकारी खेतीको सम्भावना धेरै भएको बताउँदै खेती गर्न सुझाव दिए। कर्मचारीहरूले गाउँका धेरैलाई यस्तो सुझाव दिए पनि अरूले वास्ता गरेनन्। धनबहादुर भने आफ्नै खेतबारीमा गर्ने हो, एक पटक विचार गरौं त भनेर अघि बढे। कृषि शाखाबाट परामर्श लिएर काम सुरू गरे।
उनको खेतमा सुख्खा मौसममा सिँचाइको सुविधा थिएन। उनले कृषि शाखाका कर्मचारीहरूलाई समस्या सुनाए। खेती गर्ने हो भने पानीका लागि सहयोग गर्ने आश्वासन कर्मचारीले दिए।
'मैले गाउँपालिकाबाट केही अनुदान पाएर एउटा पम्पिङ सेट किनेँ। गाउँबाट तलको खोलाको पानी तानेर तरकारी खेती गर्न थालेँ,' उनले भने।
धनबहादुरले बारीमा दुइटा प्लास्टिक पोखरी बनाएका छन्। पम्पबाट पानी तानेर पोखरीमा जम्मा गर्छन्। त्यही पानी पाइपमार्फत तरकारीमा हाल्छन्।
प्लास्टिक पोखरी बनाउन जमिनमा खाल्डो खन्नु पर्छ। खाल्डोको भुइँ र डिल बलियो प्लास्टिकले ढाक्नु पर्छ। यसपछि पानी जम्मा गर्नुपर्छ। यस्तो पानी जमिनले सोस्न पाउँदैन र पोखरीमा धेरै दिन अडिन्छ।
बराहताल गाउँपालिकाका कृषि अधिकृत गुरुराज अधिकारीका अनुसार धनबहादुर यसरी अघि बढेपछि उनका छिमेकी पनि तरकारी खेतीका लागि कस्सिन थालेका छन्। गाउँमा ४६ घरधुरी छन्। यीमध्ये ३२ घरधुरी तरकारी खेती गर्ने तयारीमा रहेको उनले बताए।
'हामीले तालिम दियौं, तरकारी खेती गर्न प्रेरित गर्यौं,' अधिकारीले भने, 'गाउँमा अरूले आँट्नु भएन। उहाँ (धनबहादुर) ले खेती सुरू गरिहाल्नुभयो। उहाँको आम्दानी देखेर अरूले पनि गर्न खोज्नुभएको छ।'
धनबहादुरले खेतीको तालिम लिँदा धेरै कुरा मोबाइल फोनमा रेकर्ड गरेका छन्।
उनी भन्छन्, 'वैशाख–जेठको खडेरीमा पनि मेरो बारीमा हरियाली देखेपछि त गाउँलेहरू रहर मान्दै मसँग सल्लाह लिन आउन थाले। म बेलाबेला कृषि शाखामा गएर परामर्श लिन्छु। मैले जानेको कुरा अरूलाई सिकाउन थालेको छु।'
आफ्नो जग्गाको बनोट र माटो तरकारी खेतीका लागि धेरै उपयुक्त नभए पनि मेहनतले उत्पादन भएको उनको भनाइ छ। धनबहादुरको जग्गा भन्नु जम्माजम्मी ६ रोपनी हो। पहिलो वर्ष उनले तीन रोपनीमा तरकारी लगाए। उत्पादन र आम्दानी राम्रो भएपछि उनी खेती विस्तार गर्ने योजनामा छन्।
परिवारमा धनबहादुरसहित काम गर्न सक्ने सदस्य चार जना छन्। उनी सबैलाई तरकारी खेतीमा लगाउने विचारमा छन्। गाउँमा बाँझो बसेको जमिन सदुपयोग गर्ने विचार पनि छ।
'पहिले अन्त गएर काम गर्दा मेरो मात्र कमाइ हुन्थ्यो। परिवार मेरै कमाइमा मात्र भर पर्नु पर्थ्यो,' धनबहादुरले भने, 'अहिले तरकारी खेती गर्न थालेपछि सबैजना बारीमा व्यस्त हुन्छौं। खाली बसेर समय बिताउनुपरेको छैन।'
उनले एउटा नोटबुक बनाएका छन्। त्यसमा खर्च, आम्दानी, कति जमिनमा कति बिउ लाग्यो, मल कति लाग्यो, इत्यादि विवरण लेख्छन्। तरकारी बेचेको समय र दरभाउ पनि टिप्छन्।
उनले एक बेला मकै लगाएको गह्रामा काउली लगाएर आम्दानी तुलना गरे। एक डोको मकै फलेको गह्रामा लगाएको काउलीबाट ११ हजार रूपैयाँ आम्दानी भयो।
'यसरी नै आम्दानी भयो भने त विदेश किन जानू र! यो महसुस भएर मैले निरन्तर तरकारी खेती गर्ने योजना बनाएको छु,' उनले भने, 'पहिले श्रमिक भएर परिवारको गुजारा मात्र चल्थ्यो। अहिले त समूहमा पैसा बचत भइरहेको छ।'
जम्मा ३५ हजार रूपैयाँ लगानी गरेर तरकारी खेती सुरू गरेका धनबहादुर उत्साहित छन्। पहिलो खेपमै डेढ लाख रूपैयाँ आम्दानी भएपछि अब कमाइका लागि आफ्नै ठाउँमा मेहनत गर्ने उनले बताए।