डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ ।
समूह/सहकारी मार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका लागि सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी कुरिलो खेती गर्न थालिएको हो।
सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले खेती सुरु गरिएको हो।
बजारमा कुरिलोको माग अधिक छ।
घोराही उपमहानगरपालिका-१८ अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनको खाली रहेको करिब २ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय कुरिलोको बिरुवा र श्रीखण्ड रोपिएको हो।
यस्तै घोराही-४ को श्रमजिवी कृषि सहकारी समूहमा आबद्ध ३१ घरधुरीले आफ्नो कृषि बालीसँगै तरकारी खाने कुरिलो ७ हजार ५ सय बोट लगाएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।
वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयको ४ लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताको सहभागितामा ६ हजार दुई सय कुरिलोका बिरूवा रोपिएको उनले बताए।
त्यस्तै करिब ४ हजार ५ सय बिरुवा वसन्त हरियाली सामुदायिक वनमा र करिब ५ हजार ७ सय श्रमजिवी कृषि सहकारी संस्था मार्फत रोपिएको हो।
लगाएको २ वर्षसम्म कुरिलोलाई राम्ररी मलजल र गोडमेल गरे प्रति १० वटा बोटबाट एक किलो कुरिलो निकाल्न सकिन्छ।
एउटा बोटबाट वर्षमा कम्तिमा ६ देखि ८ हप्तासम्म कुरिलोको टुसा शंकलन गर्न सकिन्छ।
अहिले बजारमा कुरिलोको थोक मूल्य प्रतिकिलो ५ सय रूपैयाँ छ।
डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले कुरिलो खेतीका लागि वन समूहको प्रस्तावना अनुसार मन्त्रालय र डिभिजन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो।
कुरिलोको संरक्षकका लागि कार्यक्रमबाटै वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई करिब २ सय मिटर तारबार गरिएको छ।
त्यस्तै श्रमजिवी कृषि सहकारी संस्थालाई संरक्षण एवं रोपण प्रोत्साहन सहुलियतका रूपमा प्रतिविरूवा २० रूपैंयाका दरले अनुदान सहुलियत र कृषकको बारीसम्म ढुवानी खर्चसमेत डिभिजन वन कार्यालयले उपलब्ध गराएको छ।
कार्यालय प्रमुख मोहन श्रेष्ठले समूह तथा सहकारी मार्फत जडिबुटीको व्यवसायिक खेती विस्तारमार्फत समूदायको जिविकोपार्जनमा सहयोग गर्ने लक्ष्यका साथ यो वर्षदेखि कुरिलो खेतीको काम अघि बढाइएको जानकारी दिए।
वसन्त हरियाली वन समूहले चार वर्षदेखि श्रीखण्डका बिरुवा रोपेर जडिबुटी बाटिका बनाउन सुरु गरेको ठाउँमा जमिनको उत्पादकत्व बढाउने, श्रीखण्डको बिरूवाको समेत गोडमेल हुनेगरी कुरिलो खेती सुरु गरिएको हो।
त्यहाँ श्रीखण्डका ६ सय बिरुवाको जिपिस प्वाइन्ट, डायमिटर र हाइट नाँच /जाँच भइसकेको छ।
श्रीखण्डको बीचको खाली जग्गामा कुरिलो रोप्दा स्याहार/सुसार हुन गइ श्रीखण्ड हुर्कने, खाली भएको जमिनको उत्पादकत्व बढ्ने वन समूहका विपन्न वर्गको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ।
बोट बिरुवाको संरक्षणका लागि वन समूहले १२ हजार रुपैयाँ मासिक दिएर चौकिदारको व्यवस्था पनि गरेको छ। वन कार्यालयको प्राविधिक र आर्थिक सहयोगले आफूहरूले श्रीखण्डको बगैँचा र कुरिलो खेती थालेको वन समूहकी सचिव राममाया घर्तिमगरले बताइन्।
५ सय ४० जना उपभोक्ता रहेका बसन्त हरियाली वन समूह २ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ३१ घरधुरी सम्मिलित श्रमजिवी कृषि सहकारी संस्था घोराही ४ का कृषकको करिब ३.५ हेक्टर क्षेत्रफलमा कुरिलो खेती भएको छ।