उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ। करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन्।
पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ। महोत्तरीमा १५ असारयता आज पानी परेको हो।
'धान अब के होला भनेर आश मारेका थियौं, आजको वर्षाले आश जगायो,' बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भने, 'अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ।'
आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको महोत्तरीका किसानको भनाइ छ। केही बेरकै भए पनि आजको वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ।
आजको वर्षाले चर्को घामको रापबाट पनि राहत भएको छ। लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन्।
यसैबीच मौसमविदहरूले अब दुई/तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन्। महोत्तरीमा हालसम्म पानीको अभावले धान रोपाइँ गतिमा बढ्न सकेको छैन। कुल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म ४५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ। जिल्लामा कुल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ।