मेडिकल क्षेत्रमा हेल्थ असिस्टेन्ट (एचए) पढेका हिराबहादुर घर्ती मगरले झन्डै सात वर्ष काठमाडौंमा बसेर निजी क्षेत्रमा जागिर गरे। त्यसपछि उनी ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टमा स्थायी जागिरे बने। तलब थियो मासिक ८५ हजार रूपैयाँ।
उनका लागि यो निकै राम्रो आम्दानी थियो। तर उनी यसमा सन्तुष्ट हुन सकेनन्। चार वर्षसम्म त्यहाँ काम गरेका उनले दुई महिनाअघि जागिर छाडे।
सुर्खेतको लेकबेँसी नगरपालिका–१४ का हिराले भने, 'राजीनामा स्वीकृत गराइसकेँ।'
आफ्नो सुनिश्चित भविष्य, तलबसहितका अन्य आकर्षक सुविधा भएको जागिर किन छोडे त हिराले?
गुमी गाउँमा रहेको उनको लोभलाग्दो खेतीले यसको जवाफ दिन्छ।
उनले आफ्नो जग्गामा ड्रागन फ्रुट खेती सुरू गरेका छन्।
'हाम्रो क्षेत्रका लागि ड्रागन फ्रुट नयाँ खेती भयो। यसबाट भविष्यमा राम्रै आम्दानी हुने देखेर परिवारसँग सल्लाह गरी जागिर छोड्ने निर्णयमा राजी गराएँ,' हिराले भने।
हिराले सन् २०१२ मा एचए पढाइ पूरा गरेका हुन्। भर्खरै जागिर छाडे पनि उनले ड्रागन फ्रुट खेती गरेको एक वर्ष भयो।
सुरूमा उनले एक बिघा जग्गामा ९१४ वटा खम्बा बनाएर रातो र सेतो ड्रागन फ्रुट रोपे। दस महिना खेती र कार्यालय दुवैमा समय दिए। बिरूवा हुर्किँदै गएपछि बारी आकर्षक देखिन थाल्यो। उनको मन जागिरमा भन्दा आफ्नो ड्रागन फ्रुट खेतीमा आकर्षित भयो।
जागिर छाडेर खेती गर्ने कुरा सुरूमा परिवारका सदस्यलाई बुझाउन मुश्किल पर्यो। पछि उनी सफल भए।
उनले जागिरबाट बचाएको रकम लगानी गरेर खेती सुरू गरेका हुन्।
हिराले आफ्नो लगानीको विवरण सुनाए, 'अब त लगानी बढाउनुपर्छ भन्ने लागिहाल्यो। अहिले करिब एक करोड रूपैयाँ लगानी पुगेको छ। अब चाँडै डेढ करोड पुग्छ।'
बाँकी रहेको जग्गामा पनि पूर्वाधार तयार गरेर ड्रागन फ्रुट नै लगाउने योजना छ। त्यति गर्दा उनको कुल लगानी डेढ करोड पुग्नेछ।
हिराका अनुसार उनले जागिरबाट २० लाख रूपैयाँ बचत गरेका थिए। जागिरबाट राजीनामा दिने निर्णय गरेपछि उनले बैंकमा ऋणको प्रक्रिया अघि बढाए। ड्रागन फ्रुटका बिरूवा रोपेकै एक बिघा जग्गा धितो राखेर ७० लाख रूपैयाँ ऋण लिए। यो रकम पूर्वाधार र नर्सरी बनाउन खर्च भयो।
एक वर्षमा उनले दुई खेप ड्रागन फ्रुट टिपेर बेचिसकेका छन्। अबको तीन सातामा तेस्रो खेपको फल टिप्न तयार हुन्छ। तेस्रो खेपमा कम्तीमा एक सय किलो फल्ने उनको अनुमान छ।
पहिला दुई खेपमा उनले रातो ड्रागन फ्रुट आठ सय रूपैयाँ र सेतो सात सय रूपैयाँ प्रतिकिलोमा बिक्री गरे।
'अहिले नै मेरो आम्दानी ह्वात्तै बढ्दैन। राम्रो कमाइ हुने भनेको आउँदो एक वर्षपछि हो। त्यसपछिका दुई–तीन वर्षभित्रमा लगानी पूरै उठ्छ,' हिरा भन्छन्, 'पहिलो र दोस्रो खेपमा खासै राम्रो नफले पनि तेस्रो लटमा बढ्दै छ। चौथो लटका लागि व्यापक फूल फुलेको छ।'
अहिले उनको ड्रागन फ्रुट बारीमा दैनिक आठ जनासम्मले ज्यालादारीमा काम पाएका छन्। राम्रो आम्दानी हुने जागिर छोडेर पूरै समय ड्रागन फ्रुट खेतीमा लागेका हिराबहादुर सन्तुष्ट छन्। जागिर छाडेकामा पछुतो छैन।
'त्यति आकर्षक जागिर छोडेर यहाँ यति धेरै लगानी गर्दा पनि मलाई कुनै चिन्ता र डर छैन, ढुक्क छु,' उनी भन्छन्, 'मैले अरूलाई पनि रोजगारी दिन सकेको छु। परिवारको राम्रो साथ मिलेको छ।'
सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि कृषि पेसामा साथ दिऊन् भन्ने चाहन्छन् उनी। जग्गा हुने युवाहरू सकेसम्म व्यावसायिक खेतीमा लागून् भन्ने पनि चाहन्छन्। आफ्नो क्षेत्रका युवाहरूले ड्रागन फ्रुटकै खेती गरून् भन्ने उनलाई लागेको छ।
'ड्रागन फ्रुट उत्कृष्ट र फाइदाजनक छ, स्वास्थ्यका लागि धेरै राम्रो छ,' हिराले भने, 'फल खानु त छँदैछ। बिरूवा र कोपिलाको तरकारी र अचार बनाएर पनि खान मिल्छ।'
आफ्नो ठाउँमा व्यवसायको सम्भावना नखोजेर युवाहरू रोजगारीका लागि विदेश जाने गरेको उनको ठहर छ।
'हामीले आफ्नो ठाउँमा सम्भावना खोजेका रहेनछौं। गरेपछि त हुने रहेछ भन्ने उदाहरण बन्ने पनि मेरो उद्देश्य हो,' उनी भन्छन्, 'ड्रागन फ्रुट मात्र नभएर आफ्नो जग्गामा अनुकूल हुने जुनसुकै खेती गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि मबाट जाओस् भन्ने चाहन्छु।'
थोरै आँट, मेहनत र धैर्यले नेपाली माटोमा हिरा नै फल्छ भन्ने विश्वास गर्छन् हिरा।
उनले थपे, 'मजस्तो युवाले त्यति आकर्षक जागिर छोडेर बारीमा खेती गर्न थालेको देखेपछि विदेश जान खोज्ने युवालाई पनि आफ्नै बारीमा काम गर्नु पर्छ भन्ने प्रेरणा मिलोस् भन्ने इच्छा पनि हो।'