सुर्खेतको भेरीगंगा नगरपालिका–४, हर्रेकी सुशीला वलीलाई आफ्ना श्रीमान मानबहादुर वली विदेश जाँदा निकै ठूलो अपेक्षा थियो। विदेशमा टन्नै कमाइ होला, श्रीमानले पठाएको पैसाले यहाँ चार छोराछोरीलाई चाहेजस्तो शिक्षा दिऊँला, सकेसम्म बजारमा घडेरी किनौंला!
श्रीमानको कमाइले परिवार पाल्न र गाउँकै विद्यालयमा छोराछोरीको पढाइलाई निरन्तरता दिन ठिक्क भयो। सुशीलाका अरू रहर पूरा हुन सकेनन्।
उता विदेशमा मानबहादुरले न सोचेजस्तो कमाउन सके, न सन्तोषले दिन बिताउन। त्यसैले २०६२ सालमा विदेशिएका मानबहादुर दुई वर्षमा घर फर्के।
'गाउँघरको भन्दा बढी दुःख हुने र दुःखअनुसार कमाइ नहुने भएपछि उहाँ दुई वर्षमै घर फर्किनुभयो,' सुशीलाले भनिन्, 'महिनामा १०–१२ हजार रूपैयाँ कमाइ हुने रहेछ, सोचेको जस्तो हुँदै भएन।'
मानबहादुर फर्केपछि सुशीलालाई एक विचार आयो- बरू आफ्नै बारीमा सक्दो मेहनत गरेर खेती गर्ने। आफ्नै गाउँठाउँमा काम गरेर आत्मनिर्भर हुने र सपना पूरा गर्ने!
मानबहादुर त फेरि विदेश फर्किने सोचले आएका थिए। सुशीलालाई भने खेतीकै धुन चढ्दै गयो।
त्यसैले उनले मानबहादुरलाई भनिन्, 'अब धेरै दुःख गरेर थोरै कमाइ हुने विदेश जाने होइन। आफ्नै बारीमा मेहनत गरौं।'
मानबहादुर सहमत भए। उनीहरूले करेसाबारीमा तरकारी खेती थाले। आम्दानीको राम्रै संकेत देखियो। उनीहरू उत्साहित भए। अनि व्यावसायिक खेती गर्ने निधो गरे।
'करेसाबारीबाटै काम सिक्दै, अनुभव गर्दै पूर्ण रूपमा व्यावसायिक कृषि गर्ने निर्णयमा पुग्यौं,' सुशीलाले भनिन्, 'अहिले त आठ रोपनी बारीमा तरकारी फलाउँछौं। त्यसबाट वर्षमा दस लाख रूपैयाँभन्दा धेरै आम्दानी हुन्छ।'
व्यावसायिक कृषिमा लागेपछि उनीहरूको आर्थिक अवस्था बलियो हुँदै गएको छ। सुशीलाको मनमा सन्तोष पनि बढ्दै गएको छ। श्रीमान विदेश जाँदा आफूले देखेको सपना बिस्तारै पूरा हुने उनलाई लाग्न थालेको छ।
उनीहरूका तीन छोरी र एक छोरा छन्। तीन सन्तान काठमाडौंमा पढ्छन्। जेठी संगीता फिजिक्समा स्नातकोत्तर गर्दै छिन् भने कान्छी पवित्रा बिबिएस। कान्छा सन्तान सन्तोष विज्ञान विषयमा कक्षा १२ पढ्दै छन्। माइली अनिता भने सुर्खेतमै कृषि विज्ञान पढ्छिन्।
'तीन छोराछोरीलाई काठमाडौंमा महिनाको पचास हजार रूपैयाँ खर्च लाग्छ। यहाँ पढ्ने छोरीका लागि पनि खर्च हुन्छ,' सुशीला भन्छिन्, 'सबै खर्च यही कृषिबाट पुगिरहेको छ। व्यावसायिक खेतीले यी सबै काम गर्न पुगेको छ।'
तरकारी खेतीसँगै सुशीला–मानबहादुर दम्पतीले बाख्रापालन पनि गरेका छन्। उनीहरूले पवित्र कृषि पशुपन्छी फर्म दर्ता गराएका छन्। बोयर जातको बाख्रापालनबाट वार्षिक पाँच लाख रूपैयाँ आम्दानी हुने सुशीलाले बताइन्।
उनीहरू यसरी कृषिमा लागेको १६ वर्ष भयो। यस अवधिमा पछाडि फर्केर हेर्नु परेको छैन। कतै कुनै पछुतो मान्नु परेको छैन। सुशीलाका अनुसार व्यावसायिक कृषि थालेपछि सुरूका वर्षहरूमा कम आम्दानी भए पनि हरेक वर्ष बढ्दै गयो।
उनले भनिन्, 'दुवै जना कृषिमा होमिएर काम गर्दै जाँदा वर्षमा पाँच लाख कमाइ हुन थाल्यो। आजकाल त कम्तीमा दस लाख हुन्छ।'
सुरूका वर्षमा टमाटर, सिमी, बोडी लगाएका उनीहरूले आजकाल काउली, बन्दा, आलु र काँक्रो पनि फलाउँछन्। पहिले गोरूले जोत्थे, कोदालो खन्थे। आजकाल हाते ट्याक्टर चलाउँछन्। केही वर्षअघि कृषि विकास कार्यालय, सुर्खेतमार्फत उनीहरूले ट्याक्टर र केही कृषि सामग्री पाएका थिए।
उनीहरूको जमिन आठ रोपनी मात्रै होइन। खेत पनि छ। खेतमा धान र मकै लगाउँछन्। आफ्नै अन्नले बाह्रै महिना खान पुग्छ। डाँडो क्षेत्रमा भएको जग्गामा सिँचाइको सुविधा थिएन। पहिले उनीहरू अकासे पानीको भरमा तरकारी खेती गर्थे। पछि घरनजिकै पानी संकलन गर्ने ट्यांकी बनाए। ट्यांकी बनाएपछि सिँचाइको सुविधा भएको छ। आजकाल सुख्खा मौसममा पनि बेमौसमी तरकारी खेती गरिरहेको सुशीलाले बताइन्।
तरकारी बेच्न बजार अभाव छैन। हर्रे डाँडा तरकारी वितरणका लागि उपयुक्त ठाउँ हो। हर्रे हुँदै सुर्खेत आउने र नेपालगञ्ज लगायत ठाउँमा जाने अधिकांशले त्यहाँको तरकारी थोरै भए पनि किन्ने गरेका छन्।
सुशीला र मानबहादुर मात्रै होइन, हर्रेका सबैजसो घरपरिवार व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। कृषि विकास निर्देशनालय, कर्णाली प्रदेशका अनुसार हर्रे क्षेत्रमा एउटा तरकारी ब्लक नै छ। त्यो ब्लकभित्र १८० भन्दा धेरै घरधुरी छन्। उनीहरू सात वटा समूहमा छन्।
'उत्पादनको सम्भावना भएको र बजारको पनि कमी नभएको ठाउँ भएकाले हर्रे क्षेत्रका सबैजसो घरपरिवार व्यावसायिक तरकारी खेतीमा छन्,' कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले भने, 'हामीले ब्लकभित्रका समूहहरूलाई बिउ, कृषि सामग्री लगायत सहयोग पनि गरेका छौं।'
उनका अनुसार तरकारी खेतीबाट हर्रेका सबै किसान सन्तुष्ट छन्।
यसमध्ये पनि सुशीला र मानबहादुर धेरै खुसी छन्।
तरकारी खेतीको आम्दानीले उनीहरूको परिवारको खर्च त चलेकै छ, पुँजी पनि बढेको छ। यही आम्दानीबाट उनीहरूले छिन्चु बजारमा किनेको एउटा घडेरी करोड मूल्यको भएको छ।
'सुरूमा साढे दुई लाखमा सात मिटर किनेका हौं। अहिले त मिटरकै २० लाख रूपैयाँ भएको छ,' सुशीलाले भनिन्, 'अब त करोडभन्दा धेरैको भइसक्यो।
वैदेशिक रोजगारीमा वली दम्पतीले देखेको सपना व्यावसायिक कृषिमा पूरा भएको छ।
उनीहरू भन्छन्, 'आफ्नै ठाउँमा परिश्रम गरेर सपना पूरा भइरहेको छ। हामी खुसी छौं।'