नेपालमा अहिलेसम्म १५ लाख ३१ हजार हेक्टर जमिनका लागि सिँचाइ संरचना निर्माण भए पनि ३५ प्रतिशतमा मात्र बाह्रै महिना पानी पुग्छ। बाँकी जमिनमा हिउँद बेला सिँचाइ गर्न सकिएको छैन।
हिउँदमा करिब १० लाख हेक्टरमा मात्र सिँचाइ हुने जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ।
त्यो बेला नदी र खोलामा पानीको बहाव घट्ने हुँदा सिँचाइ संरचना बनेका ठाउँमा पनि पानी पुर्याउन नसकेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णप्रसाद नेपाल बताउँछन्।
सिँचाइ अभावले खेतीयोग्य जमिनबाट पर्याप्त उब्जनी हुन सकेको छैन। वर्षमा तीन बाली लगाउन सकिने ठाउँमा सिँचाइ अभावकै कारण मुस्किलले एक बाली उब्जनी हुन्छ। यसले कृषिजन्य उत्पादनमा परनिर्भरता बढ्दै गएको छ।
भन्सार विभागको तथ्यांक हेर्दा नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ७३ अर्ब रूपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको देखिन्छ।
कृषिमा परनिर्भरता घटाउन सिँचाइ सुविधा विस्तार गर्दै लग्नुपर्नेमा सरकारले लक्ष्यअनुसार काम गर्न सकेको छैन।
विभागले आव २०७८/७९ मा करिब २२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुर्याएको छ। यो लक्ष्यभन्दा कम हो। गत वर्ष २९ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य थियो।
कोभिड महामारीका कारण निर्माण व्यवसायीहरूले अपेक्षित काम नगर्दा लक्ष्य भेट्न नसकेको उपमहानिर्देशक नेपाल बताउँछन्। निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्य वृद्धिले पनि असर पारेको उनको भनाइ छ।
सन् १९९० को सिँचाइ गुरूयोजनाअनुसार १७ लाख ६६ हजार हेक्टर जमिन भूमि सतह र भूमिगत सिँचाइयोग्य देखिएको थियो। २०१९ को संशोधित गुरूयोजनाअनुसार करिब २५ लाख हेक्टर जमिन सिँचाइयोग्य देखिएको छ। पछिल्लोपटक प्राविधिक विकासले थप करिब ८ लाख हेक्टरमा सिँचाइ पुर्याउन सकिने विभागले जनाएको छ।
विभागको आँकडाअनुसार देशभरि करिब ३१ लाख हेक्टरमा खेती भइरहेको छ। तीमध्ये पहाडको अत्यन्तै भिरालो जग्गा र तराईको केही भूभागमा सिँचाइ संरचना विकास हुन सकेको छैन।
हिउँदमा खोलाको पानी सुकेर सिँचाइ गर्न समस्या भएपछि हिमनदीबाट पानी डाइभर्ट गरेर ल्याउन ‘डाइभर्सन सिँचाइ आयोजना' सञ्चालन भइरहेको छ। यसले ठूला हिमनदीको पानी साना खोला र नदीहरूमा फर्काउँछ।
यसका बाबजुद सबैतिर बाह्रै महिना सिँचाइ गर्न सम्भव नभएपछि भेरी–बबई, सुनकोसी–मरिन लगायत डाइभर्सन सिँचाइ आयोजना निर्माण सुरू गरिएको प्रवक्ता नेपालले जानकारी दिए। थप डाइभर्सन आयोजना अध्ययन क्रममा छन्।
विभागले तराईमा जमिनमुनिको पानी कसरी सिँचाइमा उपभोग गर्ने, पहाडमा आकासे पानी संकलन गरेर कसरी खेतमा लैजाने भन्नेमा पनि काम गरिरहेको उनले बताए।
'पहाडी भूभागमा हामीले पानी संकलन केन्द्र बनाएर एक ठाउँको पानी अर्को ठाउँ लैजान सुरू गरेका छौं। यसका लागि कुलो, नहर वा लिफ्ट निर्माण भइरहेको छ,' उनले भने।
दाङ जिल्लामा ३२ वटा पानी संकलन पोखरी निर्माण गरी ८ सय ५० हेक्टरमा बाह्रै महिना सिँचाइ सुरू गरिएको उनले जानकारी दिए। सबभन्दा ठूलो पोखरी पाँच लाख ५० हजार घनमिटर क्षमताको छ। बाँकी त्योभन्दा कम क्षमताका छन्।
यसरी पानी संकलन गरेर सिँचाइ गर्ने विधि २०७३/७४ बाटै सुरू गरिएको हो। यो प्रणाली देशभर विस्तार गर्न अध्ययन भइरहेको नेपालले जानकारी दिए।