सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का खडकबहादुर खत्री तरकारीसँगै धानको बिउ उत्पादन गर्छन्।
बर्खा सिजनमा भिन्डी र धानको बिउ उत्पादन गर्ने खत्रीले हिउँदमा जयघाँस, सिपचना, केराउ लगायतको बिउ उत्पादन गर्छन्।
यसरी उत्पादन गरेको बिउबाटै उनले वार्षिक दुई लाख रूपैयाँसम्म आम्दानी गर्छन्। यो उनको मुख्य पेसाबाहेकको आम्दानी हो।
खत्रीले भैंसी पालेका छन्। दूधबाट मासिक कम्तीमा २० हजार रूपैयाँ आम्दानी हुन्छ।
'परिवार पाल्ने मुख्य पेसा भनेकै कृषि हो। जहान ६ जना छौं,' उनले भने, 'दूध बेचेर मासिक २० हजार आम्दानी हुन्छ। बिउ उत्पादनबाट वार्षिक दुई लाख रूपैयाँसम्म हुन्छ।'
खडकबहादुरले व्यावसायिक खेती गर्न थालेका दस वर्ष भयो। उनले उत्पादन गरेको बिउ गुर्भाकोटकै पवित्र जनकल्याण सहकारी संस्थाले किन्छ। सहकारीले बिउ किनिदिएपछि खडकबहादुर उत्साहित भएका छन्।
उनी २० जनाको कृषक समूहमा आबद्ध छन्। उनीहरू सबै जना बिउ उत्पादन गर्छन्। सबैको उत्पादन पवित्र सहकारीले नै किन्छ।
खडकबहादुर हचुवाका भरमा बिउ उत्पादनमा लागेका होइनन्। उनले तालिम लिएका छन्।
उनले भने, 'सहकारीबाट चितवनको रामपुरमा गएर दस दिनको तालिम लिएँ। बिउ उत्पादन बढाउँदै जाने इच्छा छ।'
गुर्भाकोट–७ का लीलबहादुर थापा पनि बिउ उत्पादनबाट वार्षिक कम्तीमा डेढ लाख रूपैयाँसम्म आम्दानी गर्छन्। उनको पनि मुख्य पेसा पशुपालन हो।
'धान र गहुँको बिउ उत्पादन गर्छु। सिँचाइ पर्याप्त नभएपछि अहिले तरकारीको बिउ उत्पादन गर्न छाडेको छु,' उनले भने, 'त्यति धान र गहुँको बिउबाट मात्र वर्षमा डेढ–दुई लाखसम्म कारोबार हुन्छ।'
गत वर्ष उनले १९ क्विन्टल गहुँको र १० क्विन्टल धानको बिउ उत्पादन गरे। सबै बिउ पवित्र जनकल्याण कृषक सहकारीले किन्यो। लीलबहादुर पशुपालन अझ बढाउने योजनामा छन्। बिउ उत्पादन पनि छोड्ने छैनन्।
पवित्र जनकल्याण कृषक सहकारीले गुर्भाकोटका बासिन्दाबाट मात्रै होइन, कर्णाली प्रदेशका धेरै कृषकबाट बिउ किन्छ। प्रदेशका कृषकहरूलाई उत्पादनमा प्रोत्साहित गरेको पनि सहकारीले नै हो।
सहकारीले उक्त बिउ ३४ वटा जिल्लामा पठाउँछ। यो सहकारी २०५८ सालमा स्थापना भएको हो। बिउको कारोबार गर्न थालेपछि सहकारीले आफ्नो आम्दानी पनि बढाएको छ।
स्थापना भएको एक दशक सहकारीले खासै प्रगति गरेन। वार्षिक बढीमा ३५ लाखसम्मको मात्र कारोबार हुन्थ्यो। कृषकहरू दिने ऋण र त्यसको मुनाफाबाट सहकारीको कारोबार वर्षौंसम्म स्थिर रह्यो।
'सहकारी स्थापना भएको समयमा सशस्त्र द्वन्द्वको प्रभावले पनि होला हामीले धेरै कारोबार गर्न सकेनौं। तीन वर्षयता हामीले राम्रो कारोबार गरेका छौं,' सहकारीका व्यवस्थापक चन्द्र ओझाले भने, 'पहिले उत्पादन थोरै थियो। खरिद र बिक्री पनि त्यसै अनुसारको हुन्थ्यो।'
सुर्खेतको गुर्भाकोट–७, मेहलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारीको कारोबार र आम्दानी बिउ उत्पादन र बिक्रीबाटै बढेको हो। कृषक सहकारीले बिउ बिक्रीवितरण गर्न नपाउने नियम भएकाले सहकारी मातहत रहने गरी २०७२ सालमा पवित्र बिउ उत्पादन उद्योग दर्ता गरेर काम सुरू भएको हो।
अहिले सहकारीले कर्णाली प्रदेशका नौ वटा जिल्लाका कृषकबाट गहुँ, धान लगायत अन्नका, विभिन्न तरकारीका र फलफूलका बिउ किनेर विभिन्न जिल्लाका किसानलाई बेच्छ।
ओझाका अनुसार सहकारीले सुदूरपश्चिमका ९ वटा र कर्णालीका ९ वटा जिल्लामा बिउ पठाउँछ। यीसहित बाँके, बर्दिया, नवलपुर, चितवन, काठमाडौं, झापा, जनकपुर, ओखलढुंगा लगायत जिल्लामा पनि पुग्छ।
पवित्र सहकारीबाट सबैभन्दा धेरै बिउ झापामा जान्छ। आर्थिक वर्ष २०७७/७८ मा झापामा मात्र एक करोड २२ लाख रूपैयाँ बराबरको बिउ गएको ओझाले बताए।
'सुरूसुरूमा ३० लाख रूपैयाँसम्मको कारोबार गर्थ्यौं। सशस्त्र द्वन्द्वमा त्यो पनि घट्यो,' ओझाले भने, 'संघीयता कार्यान्वयनसँगै हाम्रो कारोबार पनि बढेको छ।'
सहकारीले बिउ उत्पादक कृषकहरूसँग विभन्न चरणमा समन्वय गर्छ। पहिलो चरणमा विभिन्न जिल्लाका बिउ उत्पादक कृषक समूहहरूबाट पहिलो सिजनको बिउ किन्छ। अर्को सिजनका लागि कृषकहरूसँग बिउ खरिदको सम्झौता गर्छ। कृषकले सहकारीलाई परिमाण तोकेरै बिउ उपलब्ध गराउनु पर्ने गरी सम्झौता भएको हुन्छ। यसपछि सबै प्रक्रिया पूरा गरेर अन्य जिल्लाका कृषकका लागि पठाउँछ।
पछिल्ला तीन आर्थिक वर्षहरूमा सहकारीले केही करोडको कारोबार बिउ खरिद र बिक्रीबाटै गरेको छ। ओझाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक करोड ८४ लाख रूपैयाँको भएको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा दुई करोड ५१ लाखको र आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ६६ लाखको कारोबार गरेको थियो।
सहकारीमा अहिले एक हजार १५३ जना किसान सेयर सदस्य छन्। हाल बिउ उत्पादन गरेर सहकारीलाई उपलब्ध गराउने कृषक एक हजार ८४२ जना छन्। सुर्खेतका मात्र ८३३ जना छन्। सहकारीमा आबद्ध कृषकमध्ये ६३ प्रतिशत महिला रहेको ओझाले जानकारी दिए।
सहकारीले देशबाहिर पनि बिउ निर्यात गर्ने तयारी गरेको छ।
'हामीले यहाँबाट उत्पादित मुलाको बिउ बंगलादेश पठाउने तयारी गरेका छौं,' ओझाले भने।
निर्यातको काम अर्को संस्थासँग सहकार्य गर्ने प्रक्रिया चलिरहेको उनले बताए।
पवित्र जनकल्याण कृषक सहकारीमा हाल १९ लाख सेयर पुँजी छ। बचत ३४ लाख रूपैयाँ छ। ऋण लगानी एक करोड ९ लाख रूपैयाँ छ। ऋणी सबै कृषक हुन्।
कृषकहरूले मूल बिउ खरिद र जग्गा भाडामा लिने प्रयोजनका लागि मात्रै सहकारीबाट ऋण पाउँछन्।
ओझाका अनुसार कृषकहरूले कम्तीमा ४० हजार र बढीमा साढे एक लाख रूपैयाँ ऋण पाउँछन्। ऋण लगानी गर्नुको उद्देश्य नै बिउ उत्पादनमा सहजीकरण गर्नु नै हो।
अहिले विभिन्न जिल्लाहरूबाट हाइब्रिड (उन्नत) बिउको माग धेरै बढेकाले सहकारीले बिउको कारोबार बढाएको ओझाले बताए। सहकारीले बिउको स्तरीकरण र प्याकेजिङ पनि गर्छ। यस कामका लागि बिउ उद्योगतर्फ १४ जना कर्मचारी छन्।
कृषि विकास निर्देशनालयको सहयोगमा सहकारीले १७ लाख ७९ हजार लागतमा बिउ ग्रेडिङ गर्ने मेसिन किनेको छ। मेसिन चाँडै सञ्चालन हुने ओझाले बताए।