घरको आँगन विभिन्न जातका बोट-बिरूवाले भरिएको छ। तीन हजार हाराहारी बिरूवा बिक्रीका लागि तयारी अवस्थामा छन्। फूलका मात्रै ८० प्रजातिका बिरूवा छन्।
यी व्यवसायी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४, नयाँ बसपार्कस्थित एउटा घर भाडामा लिएर बसेका छन्। उनी हुन् 'एग्रोमार्ट दाङ' का सञ्चालक २५ वर्षीय वीरेन्द्र खड्का।
एग्रोमार्ट दाङ बिरूवाको नर्सरी हो।
वीरेन्द्रले यसरी अनेक जातका फलफूलका बिरूवा बेच्न थालेको दुई वर्ष मात्रै भयो। नर्सरीमा उनको एकल लगानी छ। भाडा मासिक १३ हजार रूपैयाँ तिर्छन्।
उनलाई नर्सरीको काममा बहिनीहरू सीता र चाँदनीले सघाउँछन्। उनीहरू पढ्दै पनि छन्।
वीरेन्द्र भन्छन्, 'बहिनीहरू यहाँ मसँगै बसेर पढ्छन्। साँझ बिहान बिरूवाको हेरचाह गर्छन्। बाँकी काम म आफैं गरिहाल्छु।'
उनको नर्सरीमा बहुमूल्य मानिने रक्तचन्दन, अगर उड, श्रीखण्ड, रातो केरा, तराईमा फल्ने स्याउ र सुन्तलाका बिरूवा पनि छन्। उनका अनुसार यिनको बिक्री निकै राम्रो छ। सजावटका लागि प्रयोग हुने बिरूवा पनि छन्।
यीमध्ये कतिपय बिरूवा वीरेन्द्र आफैं उत्पादन गर्छन्। केही बाहिरबाट किनेर ल्याउँछन्। उनका अनुसार कहाँ राम्ररी फल्छ भन्ने अध्ययनपछि मात्र बिरूवा बिक्री गर्छन्।
आफूले बेचेका स्याउ र सुन्तलाका बोटले फल दिन थालेको उनले बताए। तराईमा पनि स्याउ र सुन्तला मजाले फलिरहेको उनी बताउँछन्।
वीरेन्द्र आफूलाई कलाकार पनि भन्न रूचाउँछन्। उनी गीत गाउँछन्। कुनै समय रेडियोमा काम गरेका थिए। भन्छन्, 'म कलाकार पनि हुँ। मेरा गीतहरूमा लाखौं भ्युज छ।'
उनले कृषि विषयमा स्नातक गरेका छन्। रोल्पाका वीरेन्द्र कृषि पढ्न भनेरै भोजपुर गएका थिए। त्यो बेला रेडियो भोजपुरमा झन्डै तीन वर्ष कार्यक्रम प्रस्तोताका रूपमा काम गरे। उनलाई जागिरमा लाग्न मन लागेन। विदेश त सोच्दै सोचेनन्।
आफ्नो पढाइअनुसार बरू कृषिमै केही गर्ने योजना बनाए। नयाँनयाँ बिरूवाबारे अध्ययन गर्न पाइने भएकाले पनि कृषिमै काम गर्ने योजना बनाएको उनी बताउँछन्।
'मैले नर्सरी सुरू गर्नुको कारण एक त आफैंले पढेको क्षेत्र भएर,' उनले भने, 'अर्कोतर्फ नर्सरीबाट राम्रो आर्जन हुने सम्भावना देखियो। जागिर खाने र बाहिर जाने दुबै कुरा मलाई मन परेन। व्यवसाय नै गर्ने मन थियो, नर्सरी रोजेँ।'
वीरेन्द्र अब नर्सरी बिस्तार गर्ने योजनामा छन्। घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराहीमै चार कठ्ठा जग्गा भाडामा लिएका छन्। यहाँ अब नर्सरी सुरू गर्नेछन्। रोल्पाको माडी गाउँपालिका–१ मा उनका बुबाआमाले 'नेपाली कृषि क्रान्ति फर्म' चलाउँछन्।
'मेरा आमाबुबाले नर्सरीको काम गर्न थालेको १२ वर्षभन्दा बढी भयो,' वीरेन्द्रले भने, 'उहाँहरूले थालेको नर्सरी अघि बढाउन म सहयोग गर्दै छु।'
वीरेन्द्र अन्य नर्सरीसँग पनि सहकार्य गर्छन्। आफूसँग नभएको बिरूवा त्यहाँबाट ल्याउँछन्, त्यहाँ भएको आफू दिन्छन्। उनको नर्सरीमा महँगो मूल्य पर्ने 'ब्लु बेरी', 'राम भाइ' जस्ता बिरूवा पनि छन्। यी बिरूवा नेदरल्यान्ड र थाइल्यान्डबाट मगाउँछन्।
अगर उड र रक्त चन्दनको बिउ भने भारतको असामबाट किनेर आफैं बिरूवा बनाउँछन्। उनका अनुसार त्यसरी किनेर ल्याउँदा एक किलो बिउको मूल्य २० हजारदेखि २५ हजार रूपैयाँसम्म पर्छ। एक किलो बिउबाट करिब पाँच हजार बिरूवा उमार्न सकिन्छ। केही त उम्रेर पनि हुर्किँदैनन्।
अगर उडको र रक्त चन्दनको बिरुवाको मूल्य आकार र उमेरअनुसार निर्धारण हुन्छ। एउटाको एक सयदेखि चार सयसम्ममा बेच्छन्। असारयता रक्तचन्दनका मात्रै तीन हजार बिरूवा बेचेको वीरेन्द्रले बताए।
'सबै गरी एक महिनामा पाँच हजार बिरूवा बेचेँ हुँला,' उनले भने, 'रक्तचन्दनको मात्रै एक लाख रूपैयाँभन्दा बढीको बेचेँ।'
उनीसँग अहिले भएमध्ये स्याउका बिरूवा सबै बिकिसके। तीन वर्षको एउटा बिरूवा साढे सात सय रूपैयाँमा बेच्छन्। यो रोपेको एक वर्षपछि फल्ने उनको भनाइ छ। स्याउका धेरै बिरूवा घोराही उपमहानगर वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले किनेका छन्। केही साथी मिलेर उनीहरू घोराहीको सैघामा व्यावसायिक फलफूल खेती गर्ने तयारी गर्दैछन्।
वडाध्यक्ष पाण्डेसहितको टिमले ५० हेक्टर जग्गा भाडा लिएर एग्रो रिसोर्ट चलाउने तयारी गरेको छ। वीरेन्द्र ठाउँ हेर्न गएका थिए। रिसोर्ट निर्माणमा 'एग्रोमार्ट दाङ' ले काम गरिरहेको उनले बताए। उपयुक्त बिरूवा छनोटका लागि सैघाको वातावरण अध्ययन गर्ने र माटो परीक्षण गरी बिरूवा पठाउने जिम्मेवारी वीरेन्द्रले पाएका छन्।
उनी कलमी गरेको बिरूवाको कौसी खेतीलाई पनि प्राथमिकतामा राखेर काम गर्दै छन्।
'घोराही र तुलसीपुरमा ठूला घरका छत/कौसी खाली छन्,' उनी भन्छन्, 'त्यस्ता घरधनी भेटेर कौसी खेतीका लागि आह्वान गर्छौं।'
त्यस्ता घरधनीलाई आफ्नै अर्गानिक उत्पादनका लागि प्रेरित गर्ने योजना बनाएको उनले बताए।
'म कृषि पढेको युवा हुँ, किसानको छोरा हुँ, कृषिलाई माया गर्छु,' उनले भने, 'भविष्यमा व्यावसायिक र सफल कृषक बन्ने लक्ष्य लिएको छु।'
'नेपाल कृषिप्रधान देश' भन्ने कुरा नारामै सीमित हुन नदिन पढेलेखेका युवा कृषिमा आउन जरूरी रहेको उनको भनाइ छ।
'पढेका साथीहरूले जागिर मात्रै गर्ने र व्यवसायमा नआउने, पढेको व्यक्तिले मल–माटो छुनु हुँदैन भन्ने सोच अन्त्य हुन जरूरी छ,' वीरेन्द्र भन्छन्, 'हेर्दै जानुहोस्, मल–माटोमा काम गर्ने सफल किसानहरू आफ्नो गाडी चढ्न थाल्छन्।'
वीरेन्द्रका अनुसार हालसम्म एग्रोमार्ट दाङमा उनको लगानी १८ लाख रूपैयाँ पुगेको छ। रोल्पाको नेपाली कृषि क्रान्ति फर्म समेत जोड्दा कुल लगानी ३५ लाख रूपैयाँ जति पुगेको छ।
वीरेन्द्रले रोल्पास्थित माडीमा स्याउ खेती पनि सुरू गरेका छन्। त्यहाँ दुई सय बिरूवा रोपेका छन्। ती बिरूवामा यसै वर्ष फल लाग्न थालेको उनले बताए। अब फुजी स्याउको बिरूवा थप्ने उनको योजना छ।