बझाङको छबिसपाथिभेरा गाउँपालिका–७, खोरीका मकर बोहराले आफ्नो सक्रियतामा दस वर्षअघि गाउँमा 'खोलापारि कृषक समूह' गठन गरेका थिए।
त्यो समय उनी साविकको गाविसमा कार्यालय सहयोगीका रूपमा काम गर्थे। कामको सिलसिलामा जिल्ला सदरमुकाम गइरहनुपर्थ्यो। त्यही क्रममा उनले कृषक समूह गठन गरेर कृषिमा नमूना काम गरेको देखे।
मकरलाई आफ्नो गाउँमा पनि त्यस्तै समूह बनाउने विचार आयो।
'अरू ठाउँको देखेर आफ्नो गाउँका महिलाहरूलाई पनि एकजुट बनाउनुपर्छ, केही न केही काम गर्नुपर्छ सोचेँ,' उनले भने।
गाउँमा उनले सोचेजस्तो समूह गठन गर्न सजिलो भएन। महिलाहरू मानेनन्। उनीहरूले यसबाट फाइदाभन्दा बढी हानी हुने निष्कर्ष सुनाए। मकरले एकएक गर्दै कुरा बुझाउन थाले। अनि केही महिलाहरू तयार भए। अन्ततः मकर अध्यक्ष भएर २०६९ सालमा 'खोलापारि कृषक समूह' गठन भयो।
समूहमा मकरसहित तीन जना पुरुष र १३ जना महिला गरी १६ जना आबद्ध भए। उनीहरूले समूहमा मासिक २० रूपैयाँ बचत गर्न थाले। एक वर्षपछि उक्त समूह जिल्ला कृषि विकास कार्यालयमा दर्ता भयो। समूहको बैंक खाता खोलियो।
'दलित सहयोग समाज' नामको एक गैरसरकारी संस्थाले समूहलाई लसुनको बिउ दियो। बिउ पाएपछि समूहका महिलाहरू केही उत्साहित भए। मकरले तरकारी खेतीसम्बन्धी लिखित प्रस्ताव तयार गरेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा अनुदानका लागि पेस गरे।
'सरकारी कार्यालयबाट त अनुदान पाइएन। दलित सहयोग समाजले तटबन्धका लागि ७० हजार रूपैयाँको योजना दियो,' मकरले भने।
समूहले गाउँको खोरीगाडमा तटबन्ध लगाउने काम गर्यो। महिलाहरूले लसुन खेती पनि गरे। समूह भने बिस्तारै निष्क्रिय बन्दै गयो।
'समूहका मान्छे आआफ्नै काममा लागे। कोही भारततिर गए। कोही यार्सा टिप्न,' उनले भने।
तीन कट्ठा जमिनमा तरकारी खेती गरिरहेका मकर पछि हटेनन्। निर्वाचन भएर स्थानीय तह गठन भएपछि उनले आफ्नो समूह गाउँपालिका कार्यालयमा दर्ता गराए। गाउँपालिकामा ग्रामीण जलस्रोत परियोजना लागू भयो। मकरले उक्त परियोजनामा तरकारी खेती गर्न टनेल बनाउने प्रस्ताव पेस गरे। परियोजनाले समूहलाई दस वटा टनेल दिने निर्णय गर्यो।
सुरूमा दस जनाले टनेलमा तरकारी खेती गरे। खेती निकै राम्रो भयो। दोस्रो चरणमा परियोजनाले थप केही टनेल दियो। यसरी परियोजनाले अहिलेसम्म समूहलाई बीस वटा फलामे टनेल दिएको छ। मकरका अनुसार यसको कुल मूल्य करिब ६० लाख रूपैयाँ हुन्छ। प्रत्येक टनेलमा समूहले १५ हजार रूपैयाँ बराबरको श्रमदान गरेका छन्।
अहिले समूहमा २८ जना कृषक आबद्ध छन्। समूहले काम राम्रो गर्दै गएपछि अन्य कृषकहरू पनि आबद्ध हुन इच्छुक रहेको मकरको भनाइ छ। समूहमा सदस्य थपिन केही प्रक्रिया मिलाउनुपर्ने मकरले बताए।
'अहिलेको यो समूहमा धेरै सदस्य जोडिन नमिल्ने रहेछ। यसलाई धेरै सदस्य रहने गरी परिमार्जन गर्नुपर्ने रहेछ। हामी यो समूहमा सयभन्दा बढी कृषकलाई जोड्छौं।'
किसानहरूले मासिक १५० रूपैयाँ समूहमा बचत गर्छन्। हाल समूहमा कम्तीमा साढे एक लाख रूपैयाँ बचत भएको छ। उक्त रकमबाट सदस्यले सहुलियत ब्याजमा ऋण पाउने व्यवस्था छ।
मकरका अनुसार गाउँमा अहिले ३४ जना कृषक टनेल लगाएर व्यावसायिक तरकारी खेती गर्दै छन्। यीमध्ये ६ जना समूहमा छैनन्। यस वर्ष बर्खायता दुई लाख रूपैयाँको तरकारी बेचिसकेको उनले बताए। समूहका सबै किसानले गरेको कुल उत्पादन र आम्दानीको हिसाबकिताब मंसिरमा हुन्छ।
तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ। यसबाटै आफ्नो आठ जनाको परिवार धानिएको उनी बताउँछन्।
खोरीका महिलाहरूको जीवन पनि सहज भएको छ। यसमध्ये एक हुन् समूहकी सदस्य बेलु बोहरा। पहिले कमाउन भारत जाने उनको परिवार यही खेतीले धानिएको छ।
'अब भारत नजाने निर्णय गरेकी छु। पाँच जनाको परिवारको खर्च तरकारी खेतीबाटै चलेको छ,' उनले भनिन्।
सुविना बोहरा पनि 'खोलापारि किसान समूह' मा आबद्ध छिन्। छोटो समयमै आफ्नो आर्थिक अवस्थामा आएको परिवर्तनले निकै खुसी लागेको उनले बताइन्।
भनिन्, 'आफूले खेती नगर्दा बिहानबेलुका तरकारी के खाने भन्ने चिन्ता हुन्थ्यो। तरकारी नभएको दिन नुनसँग रोटी खान्थ्यौं। अहिले तरकारीले नै आत्मनिर्भर बनाएको छ।'
सुविनाले तरकारी खेती गरेर पनि आम्दानी गर्न सकिएला भन्ने सोचेकै थिइनन्। परिवारमा पनि कसैलाई ज्ञान थिएन। गाउँका किसान पनि तरकारी खेतीको नाममा थोरै आलु मात्र रोप्थे। सबैले लगाउने भएकाले खासै बिक्दैन थियो। आलु थोरै उत्पादन हुने ठाउँका किसानसँग अन्न र गेडागुडीसँग साटफेर हुन्थ्यो।
गाउँका महिलाहरू व्यावसायिक तरकारी खेतीमा लागेपछि सुविनाले पनि गत वर्ष चैतमा एक कट्ठा जमिनमा सुरू गरिन्। टमाटर, शिमला मिर्च (भेडे खुर्सानी), बन्दा, खुर्सानी, तितेकरेला उत्पादन गरिन्। यो बर्खायता ३० हजार रूपैयाँको तरकारी बेचेको र अझै बाँकी रहेको उनले बताइन्।
'पहिले गाउँमा तरकारी खेती कसैले गरेनन्। तरकारीबाट कमाउन सकिन्छ भन्ने कल्पना पनि गरेनौं,' उनले भनिन्, 'अहिले तरकारी बेच्नै भ्याइनभ्याइ छ। हातमा पैसा हुन्छ। केटाकेटीले कापीकलम सजिलै पाएका छन्। पहिला नुनसँग रोटी खाने हामी अहिले क्विन्टलमा तरकारी फलाउँछौं।'
रीता बुढा बोहराले पनि समूहमार्फत तरकारी खेती सुरू गरेयता दस क्विन्टल टमाटर फलाएर बेचिसकिन्। उनी दुई कट्ठा जमिनमा तरकारी खेती गर्छिन्। एक कट्ठामा टनेल छ।
एक-दुई माना गहुँ–जौ फल्ने जमिनमा आजकाल धेरै तरकारी फलाउने उनी भन्छिन्, 'आफ्ना लोग्नेसँग पैसा माग्नु परेको छैन।'
समूहका किसानहरू टमाटर, बोडी, सिमी, खुर्सानी, तितेकरेला, शिमला मिर्च, सागपात, बन्दा, काउली, आलु लगायत तरकारी उत्पादन गर्छन्। उत्पादन बढ्दै जाँदा बजारको समस्या भने देखिन थालेको छ। त्यसैले तरकारी कम्तीमा पनि जिल्ला सदरमुकामसम्म पुर्याउनुपर्ने आवश्यकता उनीहरूले देखेका छन्।
खेतीका लागि गाउँपालिकाले माटो परीक्षण, बिउविजन, किटनाशक, शीतभण्डार लगायतका लागि सहयोग गरिदिए उत्पादन बढ्ने र कृषकको आर्थिक अवस्था राम्रो हुने समूहका अध्यक्ष मकरको विश्वास छ। गाउँपालिकाको सहयोग भए महिलाहरूलाई गाईपालनमा पनि जोड्ने उनको योजना छ।