भन्सार छलेर भित्र्याइएका भारतीय केराले बजार ओगट्न थालेपछि चितवनका किसानहरूले नेपाली केरा बारीमै कुहिने अवस्थामा पुगेको गुनासो गरेका छन्।
चितवनका केरा व्यवसायीहरूले भारतीय केराको आयात बढ्दा नेपाली उत्पादनले लागत मूल्य पनि नपाएको बताए।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले लागत मूल्यसमेत नपाउँदा नेपाली किसानले उत्पादन गरेको तीन लाख पचास हजार मेट्रिक टनभन्दा बढी केरा बारीमै थन्किएको बताए।
‘सरकारले एलसी खोलेरमात्रै केरा आयात गर्न पाउने व्यवस्था गरेको छ तर हाल देशका विभिन्न नाकाबाट बिनाएलसी भारतीय केरा अवैध रूपमा नेपाल भित्रिइरहेका छन्,’ पन्तले भने, ‘उताबाट सस्तो दरमा केरा आयात भएपछि नेपाली केरा बिक्री हुनै छाडे।’
पन्तका अनुसार सरकारले कृषिमा अनुदान र सुविधा राम्रो दिएका कारण भारतमा सस्तो मूल्यमा केरा उत्पादन हुन्छ। अहिले भारतबाट आएको हरियो केरा प्रतिकोसा ३ रुपैयाँभन्दा कममा बिक्री भइरहेको उनले बताए।
‘नेपालमा त यो केराको उत्पादन लागत नै प्रतिकोसा ३ रुपैयाँ पर्छ। घाटा खाएर बिक्री गर्नुपर्ने बाध्यतामा किसान छन्,’ पन्तले भने।
पन्तले एक हप्ता अघिसम्म ३६ देखि ४८ रुपैयाँसम्म रहेको प्रतिदर्जन हरियो केराको मूल्य अहिले २४ रुपैयाँ पाउन पनि मुश्किल हुन थालेको बताए।
गत जेठमा चितवनमा उत्पादन भएको मालभोग केराको मूल्य प्रतिकोसा साढे ७ रुपैयाँ, जि–९ केराको मूल्य प्रतिकोसा ५ रुपैयाँसम्म पुगेको थियो। अहिले मालभोग केराले पनि बजारमा मूल्य पाउन नसकेको केरा उत्पादकहरू बताउँछन्।
पन्तले अहिले दैनिक १० ट्रक भारतीय केरा काठमाडौं भित्रिइरहेको दाबी गरे। देशभरमा दैनिक १५ ट्रकभन्दा बढी भारतीय केरा भित्रिएको उनले बताए।
चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार हरियो केराको उत्पादन बढी हुने भदौदेखि कात्तिकसम्म हो।
नेपालमा महत्वपूर्ण चाडपर्वको समयमा हरियो केराको उत्पादन बढी हुन्छ।
‘एउटै घरीमा धेरै फल्ने जि–नाइन जातको हरियो केराले यो तीन महिना नेपालको माग धान्छ। तर बर्सेनि यही समयमा भारतीय केराको आयात बढाउने गरिन्छ। यसले हामीलाई धेरै मर्का पारेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘कम्तीमा पनि यहीँको उत्पादनले माग पूरा गर्ने अवस्थामा विदेशबाट ल्याउन दिनुभएन भन्ने हाम्रो माग हो।’
अध्यक्ष घिमिरेले देशभित्रै उत्पादन बढी हुने समयमा भारतबाट केरा ल्याउन रोक्नुपर्यो भनेर हरेक वर्ष सरकारलाई गुहार्ने गरेको बताए।
‘अहिले पनि हामीले रोक्न माग गरिरहेका छौं तर सरकारी निकायको प्राथमिकतामा यो कुरा पर्न सकेको छैन,’ उनले भने।
संघका महासचिव जनकराज पन्तले भारतबाट केराको आयात बढ्न थालेपछि त्यसलाई रोक्न एक हप्ताको समय दिइएको बताए। अबको एक हप्ता भित्रमा पनि यो नरोकिए संघले चरणबद्ध आन्दोलन सुरू गर्ने उनले बताए।
‘हाम्रो बारीमा फलेका केरा अबको एक हप्तासम्म रहन सक्छन्। त्यसपछि पाकेर बोटमै कुहिने अवस्था आउँछ,’ उनले भने, ‘यो अवस्थामा किसानहरू आन्दोलनमा उत्रनुको विकल्प छैन। हामीले यो कुरा सरकारलाई जानकारी गराएका छौं।’
महासचिव पन्तले भन्सारसँगको मिलेमतोमा व्यापारीहरूले बिना एलसी भारतीय केरा नेपाल भित्र्याउँदै आएको बताए।
नेपालमा रहेका भारतीय व्यापारीहरूले भारतबाट सस्तो मूल्यमा केरा ल्याएर नेपाली किसानलाई सस्तोमा बिक्री गर्न बाध्य पारिरहेको उनले बताए।
‘तर नेपाल सरकारले हामीलाई भारतमा त्यहाँको सरकारले दिने जस्तो अनुदान, सुविधाहरू दिँदैन। मल, सिँचाइको लागि सधैं संघर्ष गर्नुपर्छ। यो अवस्थामा उताको उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिँदैन,’ पन्तले भने, ‘हामीले आयात सधैं रोक भनेका छैनौं। देशको उत्पादनले पुग्ने अवस्थामा मात्रै रोकिदिनुपर्यो भनेका हौं।’
नेपालमा वार्षिक १० लाख मेट्रिक टनभन्दा बढी केरा बिक्री हुने गरेको महासंघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।
चितवनमा मात्रै वार्षिक डेढ लाख मेट्रिक टनभन्दा बढी केरा उत्पादन हुन्छ। यहाँ अहिले ३२ सय बिघा जमिनमा ७२२ जना किसानहरूले केरा उत्पादन गर्छन्। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, मोरङ, झापा लगायतका जिल्लामा पनि केराको उत्पादन बढी हुन्छ। नेपालको उत्पादनले यहाँको ६० प्रतिशत माग पूरा गर्छ।
‘थप ४० प्रतिशत पनि यहीँ उत्पादन गरेर देशलाई केरामा आत्मनिर्भर बनाउन सकिन्छ तर यसका लागि सरकारले किसानलाई आवश्यक पर्ने मल, सिँचाइ, बीउलगायत सहज रूपमा उपलब्ध गराइदिनुपर्छ,’ पन्तले भने, ‘हाम्रो उत्पादनको बजारको ग्यारेन्टी दिनुपर्यो।’
कीराको प्रकोपले पहेंलो रंगको मालभोग केरा उत्पादनमा समस्या देखिएपछि किसानहरूले धेरै फल्ने हरियो रंगको जि–नाइन केराको उत्पादन बढाएका थिए। एकै घरीमा ३५० कोसासम्म फल्ने यो केराको उत्पादनबाट फाइदा लिने समयमा भारतीय केराले बजार कब्जा गर्न थालेपछि किसानहरूमा चिन्ता छाएको छ।