झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारीले बाँझो रहेको जग्गामा ड्रागन-फ्रुट खेती थालेपछि उनलाई यति बेला भ्याइनभ्याइ छ।
अधिकारीले दुई वर्षअघि दुई बिघा क्षेत्रफलमा ड्रागन-फ्रुट लाउन सुरू गरेकी हुन्।
'ठूलो चुनौती मोलेर एक करोड रूपैयाँ लगानीमा फार्म सञ्चालन गरेकी थिएँ,' उनले भनिन्।
२०७७ सालमा प्याराडाइज एग्रोफार्ममार्फत ड्रागन-फ्रुट खेती सुरू गरेकी उनले एक वर्षमै बिरूवा बेचेर राम्रै आम्दानी गरेकी छन्। सुरूमा चार हजार ड्रागन-फ्रुट बिरूवा भारतको हैदरावादबाट ल्याएकी थिइन्। ती बिरूवाले यतिखेर राम्रै उत्पादन दिइरहेका छन्।
अधिकारीको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल) को ड्रागन-फ्रुट लटरम्मै फलेको छ।
'दुई वर्षअगाडि सुरू गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइनँ,' अधिकारीले भनिन्, 'कृषिमा कुनै तालिम लिएकी छैन। गुगलमा खोज्दै आफैं खेती गरेकी हुँ। पानी नजम्ने बलौटे माटो चाहिने रहेछ।'
उनका अनुसार यसले वैशाखदेखि सुरू भएर कात्तिकसम्म फल दिन्छ। स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ। वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन-फ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती हुन थालेको छ। अधिकारीले यो याममा मात्र छ हजार किलो फल र २० हजार बिरुवा बेचिन्। बजारमा ड्रागन-फ्रुटको प्रतिकिलो सात सय ५० रूपैयाँ पर्छ। बिरुवाको भने दुई सय ५० पर्छ।
दैनिक ६ जना कामदारसँगै बारीमा ड्रागन-फ्रुटको खेतीमा व्यस्त अधिकारीले एउटा बोटमै पाँच केजीसम्म फल लाग्ने बताइन्। अब अझै पाँच हजार केजी फल बेच्ने अनुमान उनको छ।
उनले उत्पादन गरेको फल स्थानीय बजार लगायत इलाम, विराटनगर र काठमाडौंसम्म पुग्छ।