पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढ्दो छ।
माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरू भएपछि विद्यार्थीको रूचि बढेको देखिएको छ।
विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ। शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन्।
‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ,’ शिक्षक अजय ज्ञवालीले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ, किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ।’
विद्यार्थीहरूको धेरै समय कक्षाकोठाभन्दा खेतबारीमै बित्ने गरेको छ। उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन्। परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन्।
‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन,’ अभिभावक केशव तिवारीले भने, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिके अनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ।’
विद्यार्थीहरू पनि गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन्। प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ।
‘मेरो सानैदेखि कृषि रुचिको विषय हो,’ कक्षा १० अध्ययनरत विद्यार्थी रञ्जिता भुजेलले भनिन्, ‘सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे। सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै निःशुल्क पढ्न पाएकोमा खुसी छु।’
विसं २०१७ मा स्थापना भएको विद्यालयले २०७० सालदेखि प्राविधिकतर्फ बाली विज्ञान विषय पढाउन सुरु गरेको थियो। सुरुआतका दिनमा अभिभावक र विद्यार्थीलाई बाली विज्ञानका बारेमा बुझाउन ज्यादै मुस्किल भएको विद्यालयको अनुभव छ।
‘पहिलो वर्ष कृषि पढ्न चाहने विद्यार्थी पाउन नै मुस्किल भयो,’ विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले भने, ‘हामीले दुई-तीन वर्ष कृषि विषयको महत्वका बारेमा बुझाउन घरदैलो गर्नुपर्यो, कहिलेकाहीँ त प्राविधिक शिक्षा पढाइ सुरु गरेर साँच्चीकै गल्ती गर्यौँ कि भन्ने पनि लाग्यो, अहिले भने अभिभावक आफैँ छोराछोरी भर्नाका लागि विद्यालय आउने गर्नुभएको छ।’
विद्यालयले प्राविधिक तथा व्यावसायिक पढाइ सञ्चालनका लागि खर्च जुटाउन महायज्ञ गरेको थियो। अहिले विद्यालयसँग आफ्नै भवन, प्रयोगशाला, खेतीका लागि जमिन र छात्राबास पनि रहेको छ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन इकाइ धानजोन बागलुङ र विद्यालयको साझेदारीमा च्याउ टनेल, माछापोखरी, प्लास्टिक पोखरी निर्माणलगायतका संरचनासमेत विद्यालय परिसरमा बनेका छन्।
नेपाल सरकारले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा राखेको छ।
‘नमूना विद्यालयमा परेपछि सरकारबाट उपलब्ध हुने सेवासुविधाका कारण सहज भएको छ,‘ उनले भने, 'अहिले सरकारी अनुदानमा नौ बालीविज्ञान पढाउने शिक्षक छन्। भौतिक संरचना, प्रयोगशालादेखि धेरै कुरामा आत्मनिर्भर बनेका छौँ।’
विद्यालयले भाडामा लिएको २० रोपनी जग्गामा अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, माछापालन, मौरीपालन, धान खेतीलगायतका उपज फलाउने गरेका छन्। रासस