दसैंमा खसी किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो- कलंकी खसी बजार।
खसी कहाँ किन्ने भन्नेबित्तिकै प्रायः को रोजाई हुन्छ कलंकी खसी बजार। यस वर्ष भने काठमाडौं महानगरपालिकाले फुटपाथ हटाउने अभियान चलाएसँगै धेरैलाई अब दसैंमा खसी किन्न कहाँ जाने भन्ने लागेको छ।
तर अब चिन्ता गर्नु पर्दैन। महानगरले दसैंभरका लागि कलंकी खसी बजार नहटाउने भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए।
‘हामीले हिजो महानगर प्रमुखसँग छलफल गरेका थियौं,’ ढकालले भने, ‘बजार दसैंभर नहटाउने निर्णय भएको छ।’
किसानले पहिल्यैदेखि त्यहीँ खसी बेच्दै आएकाले दसैंको मुखमा बजार नहटाउन महानगरलाई विभागले अनुरोध गरेको हो।ढकालका अनुसार दसैंपछि भने कंलकी खसी बजार हटाउने महानगरले बताएको छ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिमा व्यवस्थित खसी बजार बनाउने योजना बनाएको समेत ढकालले जानकारी दिए। ‘अहिले कलंकीमै बेच्छन्, पछि चन्द्रागिरिमा खुल्दैछ,’ उनले भने।
कलंकी बाहेक सल्लाघारी, लोकन्थली, टोखा, कपन, थानकोट, चाल्नाखेल टुकुचा, खाद्य संस्थान (माइतीघर) र बालाजु बाइपास गरी थप नौ ठाउँमा खसी किनबेच हुनेछ।
ढकालका अनुसार दशवटै क्षेत्रमा १०-१० जनाको समूह बनाएर विभागले अनुगमन गरिरहेको छ।
‘हामीले स्वस्थ खसीको सिङमा हरियो र बिरामी खसीको रङमा रातो रङ लगाउँछौं,’ उनले भने। ढकालले उपभोक्तालाई हरियो रङ लगाइएको खसी किन्न आग्रह गरेका छन्।
विभागको तथ्यांकअनुसार काठमाडौंमा ५० देखि ६० हजार खसी-बोकाको माग छ। मागअनुसारको खसी-बोका उपलब्ध गराउँन विभागले व्यवसायीहरूसँग छलफल गरिरहेको छ।
विगत दुई-तीन वर्षदेखि यहाँ खपत हुने खसी-बोकाको माग स्वदेशी उत्पादनले धानिरहेको छ। सरकारले पशु स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दा भारतबाट अनधिकृत रूपमा खसी-बोका ल्याउन सकेको छैन। सरकारको उक्त नीतिका कारण यहाँका किसान जागरूक भएर खसी-बोकाको उत्पादन बढाउँदै लगेका छन्।
विभागका अनुसार काठमाडौंमा दसैंका लागि बाख्रा व्यवसायी संघ, हेफर नेपालको कार्यक्रम लक्षित बाख्रापालक कृषक समूह, बाख्रा व्यापारीहरू र किसानहरूबाट खुद्रा रूपमा खसी-बोका आउने छ।