खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले रोपेको किवी लटरम्म फलेको छ। पाक्न लागेको करिब साढे आठ क्विन्टल किवी छ। २०७३ सालबाट व्यावसायिक किवी खेती सुरू गरेका उनको दैनिकी अहिले त्यही किवीको हेरचाह तथा गोडमेलमा बित्छ।
भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले सहयोग गर्छिन्। घरअगाडिको ४० रोपनी खेतीयोग्य जमिनमा दोर्जीले आधिकारिक रूपमा फार्म दर्ता गरेर व्यावसायिक किवी खेती गरेका हुन्।
पहिलो वर्ष ३७५ बोट बिरूवा ल्याएर खेती थालेका उनको फार्ममा यस वर्ष करिब २५ लाख रूपैयाँ बराबरको किवी उत्पादन भएको छ। दुईजना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई बस्न र खानसँगै मासिक आठ/आठ हजार रूपैयाँ पारिश्रमिकसहित रोजगारी पनि दिएका छन् उनले।
दोर्जीले रोपेको तीन वर्षदेखि नै किवी उत्पादन हुन थालेको थियो।
उनले उत्पादन गरेको किवी दिक्तेलबजार, हलेसी, धरान, काठमाडौं लगायत ठाउँमा बिक्री हुने गरेको उनले जानकारी दिए।
'यस वर्ष उत्पादन भएका किवी बगानबाट टिप्नुअगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको छ,' उनले भने।
यसको खेती सम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिम लिएका उनले टेलिभिजनमा हेरेर किवीको व्यावसायिक खेती सुरू गरेका हुन्।
'किवी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गर्न नपर्नेन रहेछ! बगानभित्र आलु, सागसब्जी लगायतका नगदेबालीको खेतीसमेत हुन्छ,' दोर्जीले भने, 'कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा छु।'
केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले पनि यस वर्ष करिब चार हजार पाँच सय केजी किवी तथा ६० हजारभन्दा बढी बिरूवा उत्पादन गरेका छन्। पहिलो वर्ष चार सय ३३ केजी किवी उत्पादन गरेका राई किवीको व्यावसायिक खेती सुरू जिल्लाकै पहिलो किसान हुन्।
रोपेको करिब चार/पाँच वर्षमा फल दिने किवीले धनकुमारको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो। धनकुमारले उत्पादन गरेका किवी अहिले प्रतिकिलो दुई सयदेखि दुई सय ५० रूपैयाँसम्म घरैबाट बिक्री भइरहेको छ।
किवीको एउटै बोटले निरन्तर ५० वर्षसम्म उत्पादन दिने उनी बताउँछन्। उनी आफैंले बिरूवा उत्पादन गरेर बेच्दै आएका छन्।
'किवीको बिरूवाबाट मात्रै वार्षिक १५ लाख रूपैयाँभन्दा धेरै आम्दानी हुन्छ,' धनकुमारले भने।
उनले बिरूवा प्रतिगोटा तीन सय रूपैयाँमा घरबाटै बिक्री गर्छन्। जिल्लामा किवीको व्यावसायिक खेती सुरू गर्ने कृषक दिनदिनै बढ्दै गएकाले मागअनुसार बिरूवा उत्पादन गर्न गाह्रो भएको उनको भनाइ छ।
२०६८ माघमा मयुङ कृषि फार्म दर्ता गरेर दस रोपनी जग्गामा १२५ बोट बिरूवाबाट व्यावसायिक खेती सुरू गरेका धनकुमारले त्यसलाई बढाएर ४० रोपनी क्षेत्रफलमा ४५० बोट बनाएका छन्।
'यस वर्ष मात्रै २१ लाख ६० हजार रूपैयाँ आम्दानी भयो,' उनले भने।
रहरैरहरमा खेती सुरू गरेका धनकुमारका लागि अहिले किवी फल तथा बिरूवा आम्दानीको आकर्षक माध्यम बनेको छ। सामाजशास्त्रमा स्नातक गरेका उनको फार्ममा अहिले ६० हजारभन्दा बढी बिरूवा मौज्दात छन्।
एउटा वयष्क किवीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको उनले बताए।
'बजार मूल्यमा अन्य फलफूलभन्दा किवी धेरै महँगो छ,' उनले भने, 'किवी बजार पुर्याएपछि चाख्नकै लागि भए पनि उपभोक्ताले किन्ने गरेका छन्।'
किवीको फल दिक्तेल, धरान, विराटनगर, काठमाडौं लगायत जिल्ला तथा बिरूवा खोटाङका विभिन्न स्थानीय र छिमेकी जिल्लाहरू सोलुखुम्बू, ओखलढुंगा, भोजपुर, इलाम, संखुवासभा लगायत ठाउँमा जाने गरेको धनकुमारले बताए।
धनकुमारसँगै फेदीका आधा दर्जन घरका स्थानीय बासिन्दाले व्यावसायिक रूपमा किवी खेती गरेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका शुभचन्द्र राईले पनि किवीको फल तथा बिरूवा बेचेर राम्रो आम्दानी गरिरहेका छन्। बिगत आठ वर्षदेखि उत्पादन गर्दै आएका उनको फार्ममा यस वर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान छ।
२०७१ सालमा शुभ कृषि फार्म दर्ता गरेर व्यावसायिक खेती सुरू गरेका शुभचन्द्रले ३० रोपनी क्षेत्रफल जमिनमा किवी खेती गरेका छन्। बिएल तथा समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरुेका शुभचन्द्र पूर्वगाविस अध्यक्षसमेत हुन्।
२०५४ सालमा साविकको दोर्पाचिउरीडाँडा गाविसको अध्यक्ष भएका शुभचन्द्रले अहिले किवी खेतीबाट वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए। स्थानीय चार जना युवालाई रोजगारी पनि दिएका छन्। शुभचन्द्र पछिल्लो समय जुस उद्योगसमेत सञ्चालन गर्ने तयारीमा छन्।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित गोगनेका राजेश थापामगरले ४२ रोपनी जग्गामा किवी खेती गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका राजेशले २०७५ सालमा नमूना अर्गानिक किवी फार्म दर्ता गरेर व्यावसायिक खेती थालेका हुन्।
आफूले उत्पादन गरेको किवी बोलेरो गाडीमार्फत काठमाडौं, धरान, विराटनगर लगायतका विभिन्न सहर पुर्याएर बिक्री गर्ने गरेको राजेशले बताए।
'किवी महँगो खेती भएकाले सानो पुँजी हुनेले यसको खेती गर्न सक्ने अवस्था छैन। तर गरेको मेहनत खेर जाँदैन,' उनले भने, 'बजारको समस्या छैन। बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ। वाइन, जुस र रक्सी उत्पादन गरेर राम्रो आम्दानी लिन सकिन्छ। यसका लागि राज्यले कानुनी व्यवस्था गर्नुपर्छ।'
२०६८ सालबाट किवीको व्यावसायिक खेती सुरू गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक फार्म दर्ता गरेर खेती सुरू गरेका छन्। लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा खेती गर्नेको लहर नै चलेको छ।
छदेखि आठ मिटरको दूरीमा रोपिने किवीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन दिने र किवी खेती गरिएको क्षेत्रभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा लिन सकिने कृषकहरूले बताएका छन्।
समुद्री सतहबाट दुई हजार ५०० मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किवी खेती गर्न उपयुक्त भूगोल मानिन्छ। ब्रुनो र मन्टी प्रजातिको किवीसमेत उत्पादन हुँदै आएको खोटाङमा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किवी राम्रो उत्पादन हुन्छ। दस स्थानीय तह रहेको खोटाङमा प्रशस्त पानीको स्रवत र चिस्यान भएको खेतीयोग्य जमिन भएकाले किवी खेती गर्न उपयुक्त भूगोल भएको कृषि विज्ञहरू बताउँछन्।
व्यावसायिक रूपमा किवी खेती गर्ने किसानलाई पछिल्लो समय संघीय, प्रदेश र स्थानीय सरकारले अनुदान दिँदै आएको छ। तर सरकारले दिने अनुदानमा पहुँचवालाको मात्र हालीमुहाली रहेको किसानहरूले गुनासो गर्दै आएका छन्।
(रासस)