सोलुखुम्बु जिल्ला स्तरीय याक तथा चौरीको उत्पादनलाई प्याकेजिङ र बजारीकरणको लागि कार्यक्रम सञ्चालन गर्न स्विस सरकारको सहयोगमा (सहज च्यालेन्ज फन्ड राउण्ड २) सँगको सहकार्य हुने भएको छ।
स्विस सरकारको सहयोगमा प्रदेश नं १ अन्तर्गत सञ्चालित नेपाल कृषिबजार विकास कार्यक्रम (एनएएमडिपी) ले सहज चेलेन्ज फन्ड राउण्ड २ कार्यक्रम मार्फत सोलुखुम्बु जिल्ला स्तरीय याक तथा चौरी उपज संकलन, प्याकेजिङ र बजारीकरणको लागि कार्यक्रम सञ्चालन गर्न याक तथा चौरी व्यवसायी संघ नेपाल सोलुखुम्बुको प्रस्ताव अन्तिम छनोटमा परेको छ।
प्रदेश नं १ अन्तर्गत दुग्धजन्य वस्तुको प्याकेजिङ र बजारीकरणमा नवीनतम खोजी गर्ने क्रममा प्रदेश भित्र दुग्धजन्य उत्पादनमा संलग्न संघ संस्था र फर्महरू मार्फत नवीन सोच सहित प्रस्ताव आव्हान गरिएको थियो।
प्राप्त १५० प्रस्तावबाट उत्कृष्ट नवीनतम सोच सहितको १० प्रस्ताव भित्र संघको प्रस्ताव छनोटमा परेको हो।
विश्वको उच्च पर्वतीय क्षेत्रमा औषधिजन्य वनस्पति सेवन गरी उत्पादन भइरहेको याक र चौरीको नौनी र छुर्पीको संकलन, प्याकेजिङ र बजारीकरणको लागि सहज च्यालेन्जमार्फत संघले विविध क्षेत्रमा सहयोग प्राप्त गर्नेछन्।
हिमाली क्षेत्रको पुर्ख्यौली तथा बहुउपयोगी याक र चौरीपालन पेशा पुस्तान्तरणसँगै संकटमा रहेको सन्दर्भमा कृषकको उत्पादनलाई उपयुक्त मूल्य सहित जिल्लाको एक कोशेलीको रूपमा ब्रान्डिङ गर्ने संघले जनाएको छ।
यस कार्यक्रममा मार्फत जिल्ला भरिका सम्पूर्ण याक तथा चौरी कृषकको मागमा आधारित रहेर नौनी घिउ प्रशोधनको लागि हाते मेसिन वितरण, दुग्धजन्य वस्तुको उत्पादनमा सरसफाई सम्बन्धी तालिम सञ्चालन, इतिहासमा पहिलो पटक याक र चौरीबाट उत्पादन हुने नौनी, छुर्पी र सूर्माको औषधिय गुण (मेडिसिन भ्यालु) पत्ता लगाई दस्तावेज तयार गर्न अनुसन्धान गरिने भएको छ।
साथै जिल्ला भित्रको सम्पूर्ण कृषकले उत्पादन गरेको घिउ र छुर्पी याक तथा चौरी व्यवसायी संघले संकलन गरी ब्रान्डिङ सहित जिल्लाको विभिन्न स्थानहरूमा कोशेली घर सञ्चालनमा ल्याउने योजना रहेको बताइएको छ।