सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।
बोर्डले फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९५ र बी ग्रेडलाई ८५ रुपैयाँ तोकेको छ।
पार्चमेन्ट प्रशोधित कफीतर्फ 'ए ग्रेड' लाई प्रतिकिलो ४ सय ७५ र बी ग्रेडलाई ४ सय २० रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्रशोधन गर्न नसकिएको 'ए ग्रेड'को कफीलाई प्रतिकिलो १ सय ७० र 'बी ग्रेड' को कफीको मूल्य एक सय १५ रुपैयाँ तोकिएको छ।
उक्त मूल्य मंसिर १ गतेदेखि नै लागू भएको बोर्डले जनाएको छ।
बोर्डले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कफी दिवसको रूपमा मनाउँदै आएको छ।
तर यस वर्ष मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको आचार संहिताको कारण मनाउन पाएको थिएन।
सोही कारण मंसिर १६ गते नुवाकोट विदुरमा औपचारिक कार्यक्रम गरी मनाइने बोर्डले जानकारी दिएको छ।