बाबुबाजेको पालादेखि चल्दै आएको चलन वा परम्परालाई संरक्षण गर्नु सन्तानको दायित्व भए पनि कतिपय परम्परा समय सान्दर्भिक नहुँदा ती परिवर्तन गर्न आवश्यक हुन्छ।
पश्चिम म्याग्दीमा पनि परम्परागत घुम्तीगोठको चलन परिवर्तन गर्नुपर्ने देखिएको छ। तर पाका पुस्ताले यो चलन छोड्न नमान्दा यहाँका बासिन्दाको पशुपालन र कृषिको क्षेत्रबाट आर्थिक अवस्थामा परिवर्तन आउन सकेको छैन।
म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिकाका उच्च लेकाली बस्तीमा परम्परागत रूपमा राख्ने गरिएका घुम्ती गोठ आयआर्जनको माध्यम बन्न नसक्दा यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आउन नसकेको हो।
यस्ता परम्परागत घुम्तीगोठ विकास र समृद्धिका लागि बाधक बनेको पाइए पनि गाउँका पाको पुस्ताका किसान घुम्तीगोठको विकल्पमा प्रविधियुक्त आधुनिक कृषि प्रणाली अपनाउन नमान्दा समस्या उत्पन्न भएको छ। पश्चिम म्याग्दीमा रहेका खाली जग्गा उर्बर र कृषि, जडीबुटी उत्पादनका लागि अब्बल मानिए पनि त्यस्ता खाली ठाउँ घुम्तीगोठले ओगट्ने गरेका छन्।
परम्परागत रूपमा राखिँदै आएका त्यस्ता घुम्तीगोठबाट स्थानीयले गाउँमा नै आवश्यक पर्ने दूध, दही, घ्यू र मासु त उत्पादन गर्ने गर्छन् तर त्यसलाई बिक्री गरेर आम्दानी गर्न सकेका छैनन्। धौलागिरि गाउँपालिका–३ मुनाको हजारौं रोपनी जग्गामा कहीँकतै फाट्टफुट्ट रूपमा आलु खेतीबाहेक अरू जमिन बाँझै पल्टिएको छ। त्यही बाँझो जमिनलाई स्थानीयले गाईभैंसी, गोरू र बाख्रा पाल्ने अस्थायी गोठका रूपमा प्रयोग गरेका छन्।
करिब छ सय घर परिवारको बसोबास रहेको बाक्लो बस्ती भएको गाउँ हो मुना। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल तथा मालिका गाउँपालिका केन्द्र दरबाङबाट गाडीमा साढे दुई घन्टाको यात्रापछि पुग्न सकिने मुना पाँच वर्षअघिसम्म अत्यन्त दुर्गम मानिथ्यो। अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धैलागिरि गाउँपालिका–३ मुनाका पूर्व वडाअध्यक्ष पुर्म पुन बताउँछन्।
पूर्ववडाध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रममार्फत यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावना यहाँ छन्। तर यी सबै कुरा केवल सपना मात्र भएका छन्। यहाँका बासिन्दा खाली जग्गालाई घुम्तीगोठको रूपमा बाहेक अरू कुरामा प्रयोग गर्न मान्दैनन्।
पुन भन्छन्, 'घुम्तीगोठ यहाँको विकासका लागि बाधक बनेको छ। गाउँभरि ८० भन्दा बढी घुम्तीगोठ छन्। खेती गर्नुपर्ने जग्गालाई बाझै पल्टाएर घाँस उमारेपछि खाद्यान्न लगायत अन्य बालीमा कहिले आत्मनिर्भर हुन सकिन्छ?'
जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि स्थानीय परम्परागत चलन र प्रविधिलाई त्याग्न तयार नभएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले बताए। उनका अनुसार परम्परागत कुरालाई छोड्न यहाँका बासिन्दा तयार छैनन्। प्रविधिको प्रयोग नै गर्दैनन्। सरकारी सेवा सुविधामा विश्वास छैन।
कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका गाउँपालिकाका अध्यक्ष पुन स्वीकार गर्छन्। घुम्तीगोठलाई व्यवस्थित बनाइ त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भए पनि स्थानीयको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उनको भनाइ छ।
'यहाँका युवापुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रूचि छैन। उनीहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन्। बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन्। गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौं भन्दा मान्नु हुन्न,' अध्यक्ष पुनले भने।
उनका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगार हो। विदेशबाट आउने निवृत्तिभरणले नै यहाँको दैनिकी धानिएको छ। जमिनलाई सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसर यहाँ छन्। तर ती अवसर त्यतिकै खेर गइरहेका उनले बताए।