सरकार मल मौज्दात छ भन्छ तर हामीले पाइरहेका छैनौं, लिन कहाँ जाने हो?
किसान सुजन श्रेष्ठको आक्रोश यतिमै सीमित भएन।
उनले अझै थपे, 'हामीले डेढ वर्षदेखि राम्रोसँग मल पाइरहेका छैनौं। सरकारले मल मौज्दात छ भनेर के आधारमा भन्यो?'
उनी रामकोट, नार्गाजुनमा रहेको 'विशेष सदावहार फार्म' का सञ्चालक हुन्। आठ वर्ष दुबईमा काम गरेर फर्केका उनी कृषि गर्नै भनेर नेपाल आएको बताउँछन्।
'त्यहाँ हुँदा धेरै युट्युब हेर्थेँ। कृषिमा सफलता भएको कथा सुनिन्थ्यो। त्यसैको प्रेरणाले नेपाल आएको हुँ,' उनले भने।
६ वर्षअघि १३ रोपनी जग्गा भाडामा लिई उनले सेमी-अर्गानिक गोलभेँडा खेती गरेका थिए। हाल ४६ रोपनीमा लगाएका छन्।
सुरूआती चरणमा उनले हरियो प्याज, लसुन, साग, घिरौंला, धनियाँ, काउली, ब्रोकाउली, करेला लगायत मौसमी मिश्रित बाली लगाएका थिए। ती अरू बालीबाट घाटा भएपछि पछिल्लो दुई/तीन वर्षयता गोलभेँडा मात्रै खेती गर्छन्।
देशमै बसेर कृषिकर्म गर्ने प्रयास गरे पनि सरकारले मलसम्म उपलब्ध गराउन नसक्दा उनी आक्रोशित छन्।
'सरकारसँग मल मौज्दात छ भन्ने समाचार हेर्दा म छक्क परेँ,' उनले भने।
कोरोना लकडाउन समयदेखि नै किसानले राम्रोसँग मल पाइरहेका थिएनन्। जिटुजीमार्फत मल ल्याउन ०७७ कात्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो। सोअनुरूप अहिले मन्त्रालयले सम्झौताको तीन महिनापछि बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याएर बाँडेको थियो।
मन्त्रालयले भारतबाट पनि जिटुजीमार्फत मल ल्याउन सम्झौता गरिसकेको छ तर मल आइपुगेको छैन।
सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा महँगोमा किन्न बाध्य भएको सुजनको भनाइ छ।
'सरकारी मल नआउने बित्तिकै बजारमा अनधिकृत रूपमा मल भित्रिएको छ। त्यो मल हामीले महँगोमा किन्न परेको छ,' उनले भने।
सरकारी अनुदानअनुसार युरिया मल बोराको (५० किलो) ११ सयदेखि १२ सय रूपैयाँमा पाइन्छ। तर आफूले हाल सोही परिमाणको मललाई २५ सयदेखि तीन हजार रूपैयाँ तिर्न बाध्य भएको सुजनले बताए।
त्यस्तै डिएपी बोराको २६ सय र पोटास १९ सय रूपैयाँ पर्छ। तर अहिले डिएपीलाई प्रतिबोरा ५ देखि ६ हजार र पोटासलाई तीन हजारदेखि ३५ सयसम्म तिर्नुपरेको उनले बताए।
महँगोमा मल किनेर बाली सप्रेको भए पनि सुजन निराश हुन्थेनन्। तर अनधिकृत रूपमा भित्रिएको मल किनेर हाल्दा माटोमा नघुलिएर बाली नसप्रेको उनको दुखेसो छ।
'जाँच नगरी आएको मल जस्तो छ। बोरामा डिएपी लेखेपछि हामीले किन्यौं,' उनले बोराको फोटो देखाउँदै भने, 'गोलभेँडालाई मल हाल्यो, माटोमा घुलिँदै घुलिँदैन।'
त्यसपछि सुजनले बजारमा पाइने झोल मल किनेर हाले। तर यो मल अरूको तुलनामा धेरै महँगो पर्ने भएकाले लागत धेरै परेको उनी बताउँछन्। युरिया, पोटास र डिएपी मिलाएर हाल्दा प्रति रोपनी १२ हजार रूपैयाँले पुग्थ्यो। झोल मल हाल्दा २० हजार रूपैयाँ लागत परेको उनले बताए।
मल समस्याको बारेमा स्थानीय तहमा भन्दा कुनै समाधान नभएको उनले गुनासो गरे।
'हाम्रो मन्त्रीसम्म पुग्ने पहुँच छैन। स्थानीय तहमा भन्यो हाम्रो कुरै सुन्दैनन्,' उनले भने, 'बाहिर जिल्लाबाट आएर काठमाडौंमा खेती गर्नु भनेको दशा रहेछ। हामीले यहीँका प्रतिनिधिलाई भोट हाल्ने भए केही सुन्थे होला।'