नेपाल डेरी एसोसिएसनले धूलो दूधको मूल्य तोक्न अनुरोध गरेको छ।
दोस्रो केन्द्रीय समितिको बैठकको मुख्य एजेन्डाको रूपमा एसोसिएसनले धूलो दूधको मूल्य तोक्न सरोकारवाला सबैमा अनुरोध गर्ने निर्णय गरेको हो।
कोभिड–१९ को असरका कारण दूध उत्पादनमा कमी आएको भन्दै आयात खुल्ला गर्नुपर्नेमा जोड दिएको हो।
हाल नपुग दूध व्यवस्थापनको लागि तत्काल नसोच्ने हो भने अब आउने सिजनमा दूधको धेरै नै अभाव श्रृजना हुने र उद्योगलाई अति नै अफ्ठ्यारो पर्ने निष्कर्ष निकालेको छ।
हालको उत्पादन र खपतको तथ्यांक संकलन गरी नपुग दूध आयात खुल्ला गर्न सम्बन्धित निकायहरूसँग छलफल गर्ने निर्णय भएको कुरा महासचिव हेमचन्द्र खनालले बताए।
बैठकले दूधबाट बन्ने सबै प्रडक्टको मूल्य ताकिएको भन्दै उत्पादित धुलो दूधको मूल्य नतोकिएका कारण दुग्ध व्यवसायीलाई अप्ठ्यारो भएकाले मूल्य तोक्नको लागि सम्बन्धित निकायहरूसँग छलफल अगाडि बढाउने निर्णय गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए।
बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको सरकारले पठाएको औचित्यता पत्रबारे पनि छलफल गरेको छ।
बैठकको निर्णयमा भनिएको छ, 'दुग्ध क्षेत्रको चौतर्फी हितको लागि २०४८ सालमा स्थापना भएको बोर्ड आज आएर वर्तमान सरकारले बोर्डको औचित्यता माथि प्रश्न खडा गरिरहेको प्रति नेपाल डेरी एसोसिएसनको आपत्ति रहेको छ।'
एसोसिएसनले भनेको छ, 'दुग्ध क्षेत्रमा कुनै पनि समस्या पर्दा सरोकारवालाहरूलाई भेला गरी उचित निर्णयसहित समाधान गर्ने, मन्त्रालयमा समन्वय गर्ने, मूल्यको विषयमा निर्णयार्थ मन्त्रालयमा सिफारिस गर्ने, न्यून बजेटमा पनि किसान, उद्योगीहरूको हितमा काम गर्ने बोर्डको औचित्यमा प्रश्न गर्नुभन्दा अन्य अनावश्यक धेरै संघ संस्था हटाउँदा राम्रो होला भन्ने हाम्रो एसोसिएसनको निष्कर्ष रहेकाले यो निर्णय तुरुन्त फिर्ता गर्न नेपाल डेरी एसोसिएसनले अनुरोध गर्ने निर्णय गरेको छ।'